त्रिकोणात्मक सिरिजका खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिका आउदै
ल्यानक्यास्टर । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आफ्नो चौथो त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्न नेपाली सिनियर राष्ट्रिय क्रेकेट टिम अमेरिका आउने भएको छ।
सिरिज जुन नौ तारिक देखि अमेरिकाको टेक्सास राज्यमा हुदैछ। ह्युस्टनको वालर काउन्टीमा रहेको प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा हुने सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ।
तीन देशबीचको यो अन्तिम त्रिकोणात्मक सिरिज हो। यसअघि तीन देशसम्मिलिन सिरिज नेपाल र ओमानमा भइसकेको छ।
सिरिजमा नेपालले पहिलो खेल ओमानसँग खेल्नेछ। जुन ९ तारिकमा हुने टेक्सास समय अनुसार विहान साढे दश बजे शुरु हुने छ।
सिरिजमा नेपालले दुवै देशसँग दुई दुई खेल गरी जम्मा चार खेल खेल्नेछ। यसअघि नेपालले पछिल्लो पटक युएई र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक सिरिज खेलेको थियो। सो सिरिज युएईमा भएको थियो। युएई, नेपाल र पपुवा न्युगिनीबीचको सिरिज नेपाल र पपुवा न्युगिनीमा हुन बाँकी छ।
लिग-२ मा नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिज तीनै देशमा हुन बाँकी छ।
अमेरिका सिरिजको खेल तालिका
नेपाल भर्सेस ओमान : ९ जुन
नेपाल भर्सेस अमेरिका : ११ जुन
नेपाल भर्सेस ओमान : १४ जुन
नेपाल भर्सेस अमेरिका : १५ जुन
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोटका लागि तीन चरणमा प्रतिस्पर्धा गराइरहेको छ।
आइसिसी विश्वकप सुपर लिगमा स्थायी १२ सदस्य र नेदरल्यान्ड्स गरी १३ टिमबीच प्रतिस्पर्धा भइरहेको छ। १३ मध्ये शीर्ष ८ टिम सिधैं विश्वकपमा छनोट हुनेछन्। बाँकी ५ टिम विश्वकप छनोट प्रतियोगिताका लागि धकेलिनेछन्।
एकदिवसीय मान्यता पाएका ७ टिमबीच अर्को चरणको छनोट चलिरहेको छ। आइसिसी विश्वकप लिग-२ को यो प्रतिस्पर्धामा नेपाल, अमेरिका, युएई, स्कटल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र ओमान खेलिरहेका छन्। लिग-२ बाट ३ टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका ४ टिमले प्लेअफ खेल्नु पर्नेछ।
तेस्रो प्रतियोगिता विश्वकप च्यालेन्ज लिग ए र बी हो। जहाँ एकदिवसीय मान्यता नपाएका देशबीच प्रतिस्पर्धा भइरहेको छ। दुई समूहका ६-६ मध्ये शीर्ष टिम प्लेअफमा पुग्नेछन्।
प्लेअफमा च्यालेन्ज लिगका २ र लिग-२ का पुछारका २ गरी ६ टिमबीच भिडन्त हुनेछ। जसबाट २ टिम विश्वकप छनोटमा पुग्नेछन्।
विश्वकप छनोटमा सुपर लिगका पुछारका ५, लिग-२ का शीर्ष ३ र प्लेअफबाट आउने २ गरी १० टिमबीच भिडन्त हुनेछ। विश्वकप छनोट सन् २०२३ को जुन-जुलाईमा जिम्बावेमा हुँदैछ। छनोटबाट २ टिम मात्र विश्वकपमा पुग्नेछन्।
आइसिसीको तीन वर्षअघिको तालिकाअनुसार अहिलेसम्म विश्वकपमा छनोटमा पुग्ने १० टिमको टुंगो लागि सक्नु पर्ने हो। तर कोरोना भाइरसका कारण तीनै चरणका लिगलाई असर गरेको छ।
कोरोनाका कारण नेपालले लिग-२ मा खेल्नु पर्ने ९ वटा त्रिकोणात्मक सिरिजमध्ये ३ वटा मात्र खेलेको छ। लिग-२ को अंक तालिकामा ओमान ३२ खेलबाट ४० अंक जोड्दै शीर्ष स्थानमा छ।
दोस्रो स्थानको स्कटल्यान्डको १६ खेलबाट २४ अंक छ। तेस्रो स्थानमा रहेको युएईको १८ खेलबाट २२ अंक छ। नामिबिया १४ खेलबाट १४ अंक जोड्दै चौथो र अमेरिका १६ खेलबाट १४ अंक जोडेर पाँचौ स्थानमा छ।
छैटौं स्थानको नेपालको १२ खेलबाट १२ अंक छ। पुछारको पिएनजीको २० खेलबाट २ अंक छ। नेपालको विश्वकप छनोटमा पुग्ने अवस्थामा रहेको आइसिसीले उल्लेख गरेको छ। नेपालले तीन वर्षअको अवधिमा लिग-२ का १२ खेल खेल्दा २३ खेलाडीलाई मैदान उतारेको छ। नेपाल एकनासको प्रदर्शन गर्न चुकेको छ।
नयाँ कप्तान सन्दीप लामिछाने र अलराउन्डर करण केसीले मात्र नेपालले लिग-२ मा खेलेका १२ वटै खेल खेलेका छन्।
नेपाली क्रिकेट टिम पछिल्लो समय व्यस्त छ। नेपालले आफ्नो लय कामय राख्न सके लिग-२ को शीर्ष तीनमा रहेर विश्वकपमा छनोटमा पुग्न सक्छ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार अहिले खेलाडीको भिषा प्रक्रिया भइरहेको छ।