टीके प्रथाबाट आएका तथाकथित अभियन्ताहरूलाइ के को बधाइ ?
काठमाडौको हाँडीगाउँमा एउटा जात्रा चल्छ बर्सेनी । त्यसलाइ भन्छन् हाँडीगाउँको जात्रा । यो अलौकिक यस कारणले छ कि यस्तो किसिमको जात्रा अरूतिर पाइँदैन ।
अहिले एनआरएनमा पनि त्यही हाँडीगाउँको जात्रालाइ माथ गर्ने गरी जात्रा देखाइएको छ । तीन-तीनजनालाई अध्यक्ष बनाएर। उपाध्यक्ष, महासचिव, सचिव, उपमहासचिव जस्ता पदमा भागशान्ति लगाएर हुलका हुल बथान छिराएर सबैको जयगान गरिएको मात्रै होइन, सबैलाइ विजयी बनाइएको छ ।
शायद गिनिजबुकमा यसले आफ्नो नाम लेखाउनेछ । एनआरएनकै एक आजीवन सदस्यको हैसियतले यो देख्दा मलाइ कुरीकुरी लागेर आएको छ।
बधाइ किन र कस्का लागि ?
यतिखेर प्रवासमा ‘बधाइ’को ओइरो लागेको छ । फेसबुकका भित्ता बधाइको एक शव्दमा सीमित छैन । बधाइका अघिल्तिर राखिएका नानाभाँतीका गरिमामय, सामाजिक उन्ननयकर्ता, अभियन्ता जस्ता नितान्त अशोभनीय विशेषणले यति फोहोर बनाइएको छ कि त्यसको लेखाजोखा गरिसाध्य छैन ।
चाकडीको हद नाघेर यति चाप्लुसीका शव्दहरू थुपारिएको छ कि मानौँ तिनी नै एनआरएनका एकमात्र खम्बा हुन् । उनको उपस्थिति विना यो संगठनको नामो निसान रहने थिएन ।
सुरूमा एनआरएनको स्थापना एउटा पवित्र उद्देश्यले गरिएको थियो । र, समयक्रममा यसले आफ्नो पञ्जा संसारभर फैलाउन सफल पनि भयो । तर अहिले यो अभियान, यसको उद्देश्य, यसको उपयोगिता र महत्तोलाइ धूलिसात बनाउने प्रयास गरिएको घटना हालै काठमाडौँमा सम्पन्न अधिवेशन (?) गरेको छ ।
टीके प्रथाबाट आएका तथाकथित अभियन्ताहरूलाइ के को बधाइ ? यो फुट र टुटले एनआरएनको गरिमा र उद्देश्य ”काशी जाने कुतीको बाटो” भएको सर्वविदित छ । यसले गैरआवासीय नेपालीको मानको मर्दन गरेको छ ।
खादा, माला, आसन र भासनका लुब्ध एवं लालचीहरूबाट एनआरएनको भविष्य सुरक्षित छैन र हुनसक्दैन । र, त्यसलाइ मलजल गर्ने गरी अनेकन बुट्टा भरेर बधाइ दिने र लिने प्रवृत पनि गधा र उँटले आपसमा स्वरको प्रशंसा गरेजस्तो मात्र हो ।
यस्तो देख्दा प्रवासी नेपालीहरूको चाकडी प्रवृत्तिप्रति पनि टिठ लागेर आउँछ । यस्ता ‘टीके’ स्वघोषित पदाधिकारीहरूलाइ बधाइ दिन मेरो हात काँपिरहेको छ ।तपाइँहरूको पनि काँप्नुपर्ने हो तर मलाइ ताजुब लागिरहेको छ ।
त्यही हातले, त्यही मनले कसरी यस्ता ‘फुट गराउ र राज गर’ सिद्दान्तमा रहेका तथाकथित अभियन्ता भनाउँदाहरूलाइ बधाइ दिइरहेछन् ? बरू यी टीकेहरूलाइ निषेध गरौँ, वहिष्कार गरौँ र प्रश्न गरौँ ”थोरै अवीर, एउटा माला र खादाका लागि यसलाइ किन विभाजन गर्नुभयो ?, एनआरएनको अभियानबाट तपाइले किन इँटा झिक्नुभयो ? एनआरएनको साझा फूलबारीलाइ तपाइँले किन फाँड्नुभयो ?’
प्रवासीहरूको चाहना छ, एनआरएन एकजुट होस्,आफ्नो उद्देश्यमा लागिरहोस । तर के यो संभव छ ? अहिलेको गहन र जटिल प्रश्न बनेर उभिएको छ ।