अमेरिकामा नेपालीको किप्ट्रोले करिब चार अर्ब उठायो
बालमुकुन्द नेपाल
क्यालगरी, क्यानडा : विश्व भरिनै क्रिप्टो करेन्सी वैकल्पिक मुद्रा पद्धति बन्छ कि बन्दैन भनेर बहस चलिरहँदा एक नेपाली मूलका युवाको अवधारणा र प्रयासको क्रिप्टो प्रोटोकल लगानीकर्ताको रोजाइमा पर्न गएको छ ।
नेपाली मूलका साम थपलियाको जेबेक प्रोटोकलले पब्लिक र प्राइभेट गरी २ सय ८० लाख अमेरिकी डलर उठाउन सफल भएको छ । जसको नेपाली मूल्य तीन अर्ब भन्दा बढी हुन आउँछ ।
कर्मचारीलाई तलब प्रदान गर्ने पे-रोलको ब्लकचेन पद्धतिलाई बजारमा सूचीकृत गर्नका निम्ति जेबीसी टोकन बिक्रीमा राखिएको थियो। प्रति जेबीसी टोकनको शून्य दशमलव शून्य दुई ०.०२१ सेन्ट मूल्य कायम गरिएको थियो । जेबेकको प्रोजेक्ट उत्साहप्रद हुँदा क्वाइनबेसले पनि जेड्बीसी टोकनमा लगानी गरेको छ । क्वाइनबेस क्रिप्टो कारोबार गर्ने एक्सचेन्ज हो ।
क्रिप्टो कारोबार गर्ने क्वाइनबेस एक्सचेन्ज अमेरिकी शेयर बजारमा सूचीकृत समेत छ । जेबेक टोकनमा क्वाइनबेस लगायत, सर्कल, सोलाना भेन्चर्स, लाइट स्पिड भेन्चर्स पार्टनरसिप र अलमेडा रिसर्च लगायतका क्रिप्टोबजारमा चिरपरिचित कम्पनीले लगानी गरेका छन् ।
शेयर बजारमा सेयर निष्कासनलाई आइपिओ भनिएजस्तै क्रिप्टोबजारमा बजारबाट पुँजि संकलन कार्य वा पहिलो पटक बजारमा बिक्रीका निम्ति राख्दा इनिसियल क्रिप्टो अफरिड (आइसिओ) भनिन्छ । पब्लिकमा बिक्री भनेको पुँजी सङ्कलनका निम्ति नभई सर्वसाधारणलाई क्रिप्टोमा अवसर दिनु रहेको थपलियाको भनाई छ ।
केन्द्रीकृत मुद्रा प्रणालीको विकल्पको रूपमा सन् २००९मा विटक्वाइन बजारमा आएसँगै हजारौँ क्रिप्टो बजारमा देखा परेका छन् । यद्यपि, राम्रो सोच र योजना सहित बजारमा आएका केही ब्लकचेन र त्यससँग सम्बन्धित क्रिप्टो क्वाइन वा टोकनभने आप्नो प्रभाव बढाउँदै लगिरहेका छन् ।
त्यसैमध्ये इथेरियम ब्लकचेन र इथेरियम ब्लकचेनको इथर क्वाइन, उपयोगिता र प्रयोगका हिसाबले सबैभन्दा प्रभावशाली देखिएको छ । धेरै राम्रा कम्पनीहरू इथेरियमको ब्लकचेन प्रयोग गर्दछन् । त्यसैले इथेरियमको प्रतिस्पर्धीका रूपमा अर्को प्रोजेक्ट देखिएको छैन ।
यद्यपि, पछिल्लो समय गति र उपयोगिताका हिसाबले सोलाना ब्लकचेन र सोलाना ब्लकचेनको सोल क्वाइनलाई इथेरियको बलियो प्रतिस्पर्धाको रूपमा हेरिएको छ । त्यही सोलाना ब्लकचेनमा साम थपलियाको जेबेक प्रोटोकल अनि जेड्बीसी टोकनको विस्तार गरिएको हो ।
जेबेक प्रोटोकल अघि पनि सामले आर्टिफिसीयल इन्टलीजेन्स तथा सूचना तथा कम्प्युटर प्रणाली सम्बन्धी काम गरिरहेका थिए ।
थपलियाको विकास गरेको जेबेक प्राटोकलको प्रयोगबाट तलब दिन वा लिन सकिन्छ । जेबेकको पेरोल पद्धतिको प्रयोगबाट कर्मचारीलाई एक सेकेन्डमानै विभिन्न स्टेबल क्वाइनका रूपमा तलब भुक्तानी गर्न सकिन्छ ।
थपलियाको प्रोटोकलका कारण सोलानालाई समेत सकारात्मक प्रभाव पर्ने देखिएको छ । जेबीसी टोकन आइसिओ सम्पन्न भएसँगै विभिन्न एक्सचेन्जमा खरिदबिक्री गर्न पाइने भएको छ ।
जेबीसी टोकन जेबेक डिसेन्ट्रलाइज अटोनोमोस अर्गनाइजेसन (डाओ)को प्रमुख मुद्राका रूपमा रहने छ । विकेन्द्रित मुद्रा पद्धतिका निम्ति ब्लकचेन सुरुवात भएसँगै विकेन्द्रित अर्गनाइजेसन(डाओ)को अवधारणा पनि सुरु भएको थियो ।