एनआरएनए विवाद : डालस अब यसो गरौं !
पुण्य पाण्डे, टेक्सस
युगको रुपान्तरण विचारबाट मात्र सम्भव छ । विचारलाई कार्यान्वयन गर्ने योजना र योजनालाई परिणाममुखी बनाउन रणनीति र कार्यनीति आवश्यक पर्दछ । यी विषयवस्तुको चुस्त व्यवस्थापन नै लक्ष्य प्राप्तिको मन्त्र हो । समाज परिर्वतन र सुधार लामो योजनाको कार्यभार हो । नयाँ परिवेश र भुगोलमा समाजलाई स्थापित गर्न कुशल, स्पष्ट विचार र खुल्ला हुदयका साथै दरिलो इच्छा शक्ति भएको नेतुत्व आवश्यक हुन्छ ।
इतिहास अध्ययन गर्ने हो भने अमेरिकी समाज तथा विश्वका विभिन्न देश र त्यसभित्रका स-साना सामाजिक संरचना भित्र त्यस्ता युग पात्रहरु पाइन्छन । अमेरिकी इतिहास हेर्दा William Penn को नेतुत्वमा १६७५ देखि १७२५ सम्म डेलावर भ्यालिमा युरोपियन देशहरुबाट वसाई सरेर आएकाबीच (युरोपियन सेता जाति) एउटा विस्तुत छलफल र योजना निर्माण भएको र त्यही पहल कदमीले आजसम्म पनि अमेरिक संस्कार र युरोपियनहरुको वर्चस्व, एकाधिकार र सरकार संञ्चालनमा योगदान रहेको देखिन्छ । एउटा खुल्ला विचारको छलफल र समाज केन्द्रित योजनाले सयौ बर्षसम्म एउटा वर्ग आजसम्म यो अमेरिकी भुगोलमा राज गरिरहेको छ ।
हिजोको युरोपियनहरुको १६७५ र आज मुलत एसियन अमेरिकनका लागि २०२२ एउटै प्रकृतिको अज मजवुद छ । एक्ला-एक्लै, कुण्ठा र व्यक्तिवादि हर्कत देखाएर न व्यक्ति, व्यक्ति बन्छ न समाज त्यसमा पनि हामिले प्रतिनिधित्व गरेको वर्गले अबको चार सय वर्षमा पनि समुन्नत हुने अवसर पाउँछ । आज हामि दुरदर्शि बन्ने हो । हाम्रो समाजको नेतुत्व गर्ने हो । नेता बन्ने हो भने, समय यहि हो ।
अब यसो गरौं … नेपाली अमेरिकि समाजको नेतुत्व डालास टेक्सासले गरिरहेको छ तसर्थ हामि डालसका नेपाली कमसेकम सामाजिक व्यक्तित्व, नेता, वा अरु कुनै हामि आफैले भएपनि भन्छौ वा जो छितिजमा बसेर योजना बुनिरहेको छ । एउटा खुल्ला बहसको आयोजना गरौ । छलफललाई क्रिया प्रतिक्रियात्मक स्वरूपको बनाउँ।
छलफल गर्ने हलको व्यवस्थापन पनि अन्तक्रियात्मक स्वरूपको बनाउँ । बसौ हप्तौ सम्म भएपनि वसौ । मुलत राजनितिक सहभागिता विना हाम्रो वर्गको उत्थान र प्रगति हुदैन । त्यसको स्वरुप निर्धारण गरौ । तत्कालको योजना, अर्को पाँच वर्षैको योजना, दश देखि विश वर्षे योजना र ती योजनाको रणनिति र कार्यनिति तय गरौ । नेता खोजौ । हामि कोहिपनि हुन सक्छौ वा हाल विश्वविद्यालयमा अध्यानरत वा नयाँ पुस्ता । योजनाको स्वरूप अनुसार नेतृत्व गर्ने सम्भावित व्यक्ति चयन गरौ र अबको दशौ वा पचासौ वर्षेको लागी आधार निर्माण गरौ । आजको दुई-चार दिनको बसाई इतिहास निर्माण गर्ने कोशेढुङ्गा सावित हुने तरिकाले वसौ ।
आजको योजना विहिन व्यक्तिवादि लाभको राजनितिले हामि कोहिपनि बन्दैनौ । एउटा नेपाली पिञ्जडा भित्रको मुठ्ठि भरिका असेपासे लाई रक्सि र मासु खुवाएर भोट किनेर गरिने एनआरएनएको पञ्चायति काजिसाप निर्माण गर्ने राजनिति हाम्रो समाजको क्यान्सर हो ।
यो नाममात्रको व्यापारिहरुको लाभको झुण्ड कुनै हालतमा सुध्रिने छैन । हामि नयाँ चिराबाट भविष्यको, समाज निर्माणको र वार्गिय उत्थानको अमेरिकि स्वरुपको राजनिति गर्ने स्थानमा आउनै पर्छ । समभावना र अनुभव समय अनुसार निर्माण हुने हुन तर लाखौ कोस टाठा बसेको चरो लाई घरमै बसेर सिकार खेल्ने कल्पना नगरेको भए तोप र बन्दुक बन्ने नै थिएन ।
(लेखक नेपाली समाज टेक्सासका सदस्य हुन्)