रुसी हमलाको छैटौं दिन : ३५२ को मृत्यु, लाखौं भए शरणार्थी
किभ । युक्रेनले यही १२ फागुनदेखि सुरु गरेको रुसी हमलामा १४ बालबालिकासहित ३५२ सर्वसाधारण मारिएको दाबी गरेको छ । रुसी तोपले युक्रेनको दोस्रो ठूलो सहर खार्किभका अधिकांश आवासीय क्षेत्रमा हमला गरेको छ । खार्किमा रुसी सेनाको गोलाबारीमा परेर कम्तिमा ११ सर्वसाधारणको मृत्यु भएको छ ।
रुसले क्षति सामना गरेको पहिलो पटक स्वीकारेको बताइएको छ । रुसी हमलापछि ५ लाखभन्दा बढी मानिस युक्रेन छोडेर छिमेकी मुलुकमा शरण लिइरहेको राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायले जनाएको छ । पछिल्लो स्याटलाइट तस्बीरमा युक्रेनको राजधानी किभबाट उत्तरतर्फ रुसी सेना बोकेका कन्भोयका ताँती गुडेको देखिन्छन् ।
के भन्छन् पुटिन ?
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन तटस्थ, डिनाजिफाइड (नाजी सोचबाट मुक्त) र निशस्त्र भए मात्रै युक्रेन समस्या समाधान सम्भव हुने बताएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँगकाे टेलिफोन वार्तामा राष्ट्रपति पुटिनले रुसले सन् २०१४ मा बिलय गराएको क्रिमियालाई औपचारिक रुपमा मान्यता दिनुपर्ने माग गरेका छन् ।
यसैबीच, युक्रेन र रुसी वार्ताकार थप छलफलका लागि आ–आफ्ना देशका राजधानी सहरमा फर्किएका छन् । पुनः वार्ताका लागि उनीहरु सम्बन्धित सरकारसँग छलफलमा जुटिरहेका छन् ।
राजधानी केन्द्रित हमलाको चेतावनी
रुसले युक्रेनको राजधानी लक्षित हमला गर्न लागेको चेतावनी दिएको छ । रुसको रक्षामन्त्रालयले किभका बासिन्दाहरूलाई एक चेतावनी जारी गर्दै आफूहरूले युक्रेनी राजधानीमा ‘लक्षित हमला’ गर्न लागेको जनाएको हो ।
मंगलबार एक वक्तव्य जारी गर्दै रुसी अधिकारीहरूले उनीहरूको फौजले ‘किभस्थित युक्रेनी सुरक्षा सेवा तथा मुख्य साइअप्सका प्राविधिक केन्द्र’ हरूमा‘लक्षित हमला’ गर्ने तयारी गरिरहेको बताएको बीबीसीले उल्लेख गरेको छ ।
रुसले आफुलाई भड्काउन प्रयोग भइरहेका युक्रेनी नागरिक तथा रेल स्टेशन नजिक बसोबास गर्ने किभका बासिन्दाहरूलाई आफ्ना घर छाडेर जान आह्वान गरेको वक्तव्यमा जनाइएको छ । यसबीच युक्रेनी रक्षामन्त्रीले रुसको सम्भावित ‘मनोवैज्ञानिक हमला’बारे सजग गराएका छन् ।
५७ सय रुसी सेना मारिएः युक्रेन
एजेन्सी–युक्रेनले ५ हजार ७ सय १० रुसी सेना मारिएको दाबी गरेको छ । युक्रेनका सैन्य अधिकारीहरुले मंगलबार सो दाबी गरेका हुन् । एउटा भिडियो सन्देशमा युक्रेनी जनरल स्टाफका प्रवक्ताले २०० भन्दा बढी रुसी सेनालाई नियन्त्रणमा लिइएकोसमेत दाबी गरेका छन् ।
रुसी हमलामा ७० युक्रेनी सेना मारिए
रुसी सेनाको हमलामा सोमबार कम्तिमा ७० युक्रेनी सेना मारिएको रुसले दाबी गरेको छ । उत्तर पूर्वी ओखत्यारकाको सुमी क्षेत्रमा एउटा सैन्य आधारमा गरिएको तोप आक्रमणमा ७० युक्रेनी सेना मारिएको युक्रेनी अधिकारीले पुष्टि गरेका छन् ।
सुमी क्षेत्रलाई रुसी फौजले अहिले घेरा हालिरहेको छ । सोमबार आपतकालीन मजदूरहरुले भग्नावेशषबाट जीवितको उद्दारको प्रयास गरेको प्राप्त विवरणहरुमा जनाइएको छ ।
मृत्यु भएका सेनाप्रति युक्रेनको संसदले सहानुभूति जनाएको छ । उनीहरु मिसाइल प्रहारमा मारिएको युक्रेन सरकारले जनाएको छ ।
उत्तरी युक्रेनको सडकमा ६४ किलोमिटर लामो रुसी सेनाका बख्तरबन्दका ताँती
सोमबार खिचिएका स्याटेलाइट तस्बिरहरूले युक्रेनको राजधानी किभको उत्तरमा ६४ किलोमिटरसम्म रुसी सेनाका बख्तरबन्द (सेनाका गाडी) का ताँती फैलिएको देखाएको छ । यसअघि सो क्षेत्रमा २७ किलोमिटरसम्म बख्तरबन्द फैलिएको बताइएकाे थियाे ।
अमेरिकी कम्पनी म्याक्सरले संग्रह गरेको ती तस्बीरहरुमा रुसी बख्तरबन्दले एन्टोनोभ विमानस्थलनजिकको सडकदेखि प्राइबिस्र्क सहरसम्मको क्षेत्रलाई ढाकेको देखिन्छ । ‘कन्भोय गुडिरहेको सडकनजिक इभान्किभको उत्तर र उत्तरपश्चिममा धेरै घर र भवनहरू जलिरहेको देखिन्छ,’ म्याक्सरले भनेको छ ।
युक्रेनको सीमाबाट मुस्किलले ३२ किलोमिटर टाढा रहेको दक्षिणी बेलारुसमा रुसले ग्राउन्ड अट्याक हेलिकोप्टर युनिट र थप स्थल सेना परिचालन गरेको पनि म्याक्सर टेक्नोलोजिले जनाएको छ ।
बिहीबार रुसी आक्रमण सुरु भएदेखि नै युक्रेनी फौजले मध्यकिभ जाने बाटोमा रुसी फौजले गरेको हमलालाई प्रतिकार गरेको छ । रुसी सेनाले सोमबार राजधानी कब्जा गर्नको लागि आक्रमणको पूर्वसन्ध्यामा एउटा राजमार्गमा युक्रेनीहरूलाइ ‘स्वतन्त्र रूपमा’ किभ छोड्न आग्रह गरेको थियो ।
युक्रेनमाथि रुसी हमलाः कुन कुन देशमा शरणार्थी भएर जाँदैछन् युक्रेनी ?
युक्रेनमाथि रुसी सेनाले हमला गरेपछि पाँच लाखभन्दा बढी सर्वसाधारण मानिसहरुले युक्रेन छोडेका छन् । त्यस्तै रुसी हमलाकै कारण ४० लाख मानिसहरु देश छोड्ने प्रयासमा रहेको युरोपेली युनियनले अनुमान गरेको छ । शरणार्थीसम्बन्धी नीतिलाई लचिलो बनाउदै इयूले आफ्ना सदस्य राष्ट्रहरुले युक्रेनी शरणार्थीहरुलाई खुला हातहरुले स्वागत गर्ने जनाएको छ ।
कुन कुन देशमा जाँदैछन् युक्रेनी शरणार्थी ?
युद्धका कारण विस्थापित बनेका युक्रेनी शरणार्थीहरु पश्चिमका विभिन्न देशहरु जस्तैः पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हन्गेरी मोल्डोभा पुगेका छन् । ५ लाखभन्दा बढी युक्रेनीहरु यी देशमा प्रवेश गरेको सोमबार राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार पोल्यान्डले अहिलेसम्म २ लाख ८० हजार शरणार्थी लिएको छ । दैनिक ५० हजार शरणार्थी पोल्यान्ड पुगेको त्यहाँको सरकारले जनाएको छ ।
पोल्याण्डले घाइते युक्रेनीहरूलाई ढुवानी गर्न मेडिकल ट्रेन पनि तयार गरिरहेको छ र उनीहरुको उपचारका लागि १ हजार २३० अस्पतालको सूची तयार पारेको छ । पछिल्ला वर्षमा १० लाख युक्रेनी पोल्यान्डमा बसोबास गरेका छन् । विशेषगरी सन् २०१४ मा रुसले युक्रेनको महत्वपूर्ण भाग क्रिमियालाई आफ्नो देशमा बिलय गराएपछि पोल्यान्ड पुग्ने युक्रेनीको संख्या बढेको हो ।
रुसी हमलापछि कुन अन्य देशमा पुग्ने युक्रेनी शरणार्थीः
हंगेरीः ७१ हजार १५८
रोमानियाः ४३ हजार १८४
मोलडोभाः ४१ हजार ५२५
स्लोभाकियाः १७ हजार ६४८
स्लोभाकियाले पनि दैनिक १० हजार युक्रेनी शरणार्थी लिइरहेको छ । शरणार्थीलाई छिमेकी मुलुकहरुमा प्रवेश गर्न आवश्यक कागजात देखाउनु नपर्ने भनिएको छ । तर, उनीहरुको आन्तरिक वा विदेश यात्राको राहदानी, नागरिकता जस्ता पहिचान वा देश खुलाउने कागजात हुनुपर्छ । शरणार्थीको स्थिति देखाउन उनीहरु युक्रेनी नागरिक वा युक्रेनमा कानुनी रुपमा बसेको हुनुपर्छ (विदेशी विद्यार्थी) ।