बाना निर्वाचन : सुबोध पन्तद्वारा प्यानल सहित पुन अध्यक्षमा उमेदवारी घोषणा, महासचिवमा सागर घिमिरे
अमेरिका । बाल्टिमोर एसोसिएसन अफ नेपाली इन अमेरिका (बाना) को नयाँ कार्यसमितिको निर्वाचनका लागि आइतवार मनोनयन हुदै छ ।
झण्डै २३ सय सदस्य रहेको संस्थामा अध्यक्ष सुबोध पन्तले अर्को एक कार्यकाल निरन्तरता भन्दै प्यानल सहित उमेदवारी घोषणा गरेका छन् । वर्तमान बरिष्ठ उपाध्यक्ष हिरा गुरुङले पनि अध्यक्षमा उमेदवारी दिने तयारी गरेका छन् । यद्यपी अहिले सम्म गुरुङले आधिकारिक रुपमा घोषणा गरेका छैनन ।
आफ्नो केही योजना अधुरा रहेकाले पुन अर्को एक कार्यकाल निरन्तरता चाहेको पन्तले समाज टाइम्स सँगको कुराकानीमा बताए । ‘मेरो कार्यकाल कोरोनाले प्रभावित भयो, यो बीचमा राहतका कार्यक्रम त धेरै भए तर पूर्वनिर्धरित योजना पुरा हुन पाएन, ति अधुरा योजना सम्पन्न गर्न मैले फेरि दोहोर्याउन चाहेको हुँ ।’
पन्तले बानाको भवनको ऋण मुक्त गर्ने, स्थानीय अस्पतालमा नेपालीलाई निशुल्क स्वास्थ उपचारको व्यवस्था गर्ने र सिटीबाट विभिन्न फण्ड ल्याउने काम बाँकी नै रहेको बताए ।
अप्रिल तीन तारिकमा हुने निर्वाचनका लागि आइतवारका लागि मनोनयन तोकिएको छ । ‘थकान रहित निरन्तरता : संस्थामा हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित पन्तले प्यानल नै घोषणा गरेका छन् ।
सुवोध टिमको बरिष्ठ उपाध्यक्षमा अनिल गोदार र उपाध्यक्षमा भीम केसी रहेका छन् । यस्तै महासचिवमा सागर घिमिरे छन् ।
हिरा गुरुङले भने आफ्नो टिमको अन्तिम टुङ्गो लागि नसकेको बताए । ‘अध्यक्षमा मेरो उमेदेवारी रहन्छ, प्यानलका बारेमा हामी छलफल गर्दै छौं ।’ समाज टाइम्स सँग गुरुङले भने । आफ्ना योजनाका बारेमा उनले थप बताउन चाहेनन् ।