हारको संघारबाट जोगियो थ्री स्टार, लिगको टप पाँचमा पनि परेन
काठमाडौं । इन्जुरी समयमा घनिफो रोमाहले गोल गरेपछि सहिद स्मारक ‘ए’ डिभिजन लिग-२०७८ अन्तर्गत अन्तिम चरणको खेलमा थ्री स्टार क्लब हारको संघारबाट जोगिएको छ । लिगको १३औं चरणको खेलमा शुक्रबार थ्री स्टार दोस्रो डिभिजनमा घटुवा भइसकेको टोली ब्रिगेड ब्वाइज क्लब (बीबीसी) सँग १-१ को बराबरीमा रोकियो ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा प्रशान्त तामाङले गरेको गोलबाट बीबीसीले अग्रता लिए पनि खेलको अन्तिम मिनेटमा सम्हालिन नसक्दा अंक बढ्यो । प्रशान्तले गोलकिपर गुरप्रित सिंहबाट आएको लामो पासलाई मैदानको मध्यभागबाट अघि बढाउँदै गोल गरेका थिए ।
तर, इन्जुरी समयको अन्तिम मिनेटमा घनिफो रोमाहले गोल गरेपछि थ्री स्टार हारको संघारबाट जोगिएको थियो । रोमाहले डोना थापाको पासलाई पोस्टको दिशा दिएका थिए ।
बराबरीसँगै १९ अंक जोडेको थ्री स्टार तालिकाको छैटौं स्थानमा यथावत् छ । थ्री स्टारले १३ खेलमध्ये चारमा जित, सातमा बराबरी र दुई खेलमा हारको नतिजासहित लिगको अन्त्य गर्याे ।
यस्तै, दोस्रो डिभिजनमा घटुवा भएको बीबीसीले १३ खेलबाट आठ अंक जोड्यो । बीबीसीले एकमा जित, पाँचमा बराबरी र सात खेलमा पराजयको नतिजा निकाल्यो ।
संकटा र जावलाखेलले अंक बाँडे
जावलाखेल युथ क्लब र संकटा क्लबले १-१ गाेलको बराबरी खेल्दै लिग-२०७८ अन्त्य गरेको छ । बराबरीसँगै लिगमा १६ अंक जोडेको संकटा तालिकाको सातौं स्थानमा यथावत् छ ।
संकटाले लिगमा १३ खेलमध्ये तीन जित, सात बराबर र तीन खेलमा हारको नतिजा आत्मसात गर्याे । यस्तै, तीनमा जित, चारमा बराबर र पाँच खेलमा पराजय बेहोरेको जावलाखेलले १४ अंकसहित लिगको अन्त्य गर्याे। जावलाखेल तालिकाको नवौं स्थानमा छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको १५औं मिनेटमा सुनिल खड्काले गरेको गोलबाट जावलाखेलले अग्रता लिएको थियो । १५औं मिनेटमा ओन्गुना जुनियरको क्रसमा सुनिलले वान टच फिनिस गरे ।
उत्तम राईले ६१औं मिनेटमा गोल गरेपछि संकटा खेलमा फर्किएको थियो । सुवास गुरुङको कर्नरमा उत्तमले हेडमार्फत बललाई जाली चुमाएका थिए ।
लिगमा ११औं चरण चलिरहँदा साविक विजेता मछिन्द्र फुटबल क्लबले उपाधि रक्षा गरेको थियो । त्यस्तै, च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) दोस्रो डिभिजनमा घटुवा भइसकेको छ ।