नेपाली तेक्वान्दोको विवाद समाधानका लागि छानविन समिति गठन गर : यूयूएनटीएफ
अमेरिका । यूनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ (यूयूएनटीएफ) ले नेपाली तेक्वान्दोमा देखिएको पछिल्ला विवादको तथ्य सार्वनिक गर्न छानविन समिति गठनको माग गरेको छ ।
यूयूएनटीएफ विश्वभरी छरिएर रहेका नेपाली तेक्वान्दोकर्मीहरुको संस्था हो । यूयूएनटीएफका अध्यक्ष सन्तोष प्रधानले विज्ञप्ति जारी गर्दै ‘नेपाली तेक्वान्दोमा हुने गरेका सकारात्मक वा नकारात्मक दुबै तर्फका खबर प्रति हामी विश्वभरी छरिएर बसेका तेक्वान्दो प्रेमी तथा शुभचिन्तकहरु जानकार हुन्छौ ।’ भनेका छन् ।
नेपाल तेन्वान्दो संघका महासचिव दिपराज गुरुङ र प्रमुख प्रशिक्षक नविन कुमार श्रेष्ठ बीचमा पछिल्लो समय विवाद रहदै आएको छ ।
विवादले तेक्वान्दो खेलको स्तर खस्कनै भन्दै यूयूएनटीएफले छानिविन समिति गठन गरि दोषिमाथि कारवाही गर्न भनेको छ ।
विज्ञप्तिको पूर्ण पाठ
प्रेस विज्ञप्ति
सर्वप्रथम देश तथा विदेशमा बस्नु हुने नेपाल तेक्वान्दो संघ सँग आवद्द सम्पूर्ण खेल प्रेमिहरुमा न्यानो अभिवादन ।
हामी जहाँ रहे पनि नेपाली खेलकुदको सुख दुखमा सहभागि हुदै आएका छौं । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले सफलता हात पार्दा हामी उत्साहित हुने गर्छौं । नेपालमा जसरी विजयी उत्सव मनाइन्छ, यहाँ हामी पनि रोमान्चित नै हुन्छौं । हामी विदेशमा रहे पनि जितमा रमाउछौं र खुसी साटासाट गर्ने गर्दछौं ।
अझ नेपाली तेक्वान्दो खेलाडीको सफलतामा त झन् खुसीले छाती चौडा हुन्छ । नेपाली तेक्वान्दोमा हुने गरेका सकारात्मक वा नकारात्मक दुबै तर्फका खबर प्रति हामी विश्वभरी छरिएर बसेका तेक्वान्दो प्रेमी तथा शुभचिन्तकहरु जानकार हुन्छौ नै ।
हामी जहाँ रहेपनि सदैव हाम्रो मन नेपाली तेक्वान्दोको विकास, खेलाडीहरुको प्रोत्साहनमा रहदै आएको छ । हामी खेलाडीको उन्मुक्ति र प्रगति हेर्न तथा सुन्न उत्सुक हुने गर्दछौं । नेपाली तेक्वान्दोमा सकारात्मक विकासकै लागि हामी विश्वभरी भएका तेक्वान्दो कर्मी संगठित भएको यहाँहरुलाई विधितै छ ।
सन् २०१४ मा स्थापित यूनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ (UUNTF) ले नेपाली तेक्वान्दो परिवारलाई विभिन्न विधा र क्षेत्रमा प्रोत्साहन तथा सहयोग गर्दै आएको छ । हालै नुवाकोटमा सम्पन्न दोस्रो UUNTF अवार्ड कार्यक्रम होस वा २०७२ सालको प्रलयकारी भूकम्प पछि नेपाल तेक्वान्दो संघ मार्फत गरिएको आर्थिक सहयोग होस, यो हाम्रो मन देखि नेपाली तेक्वान्दो बिकासका लागि सहयोग हो ।
हामी कसैको प्रतिस्पर्धी बन्नका लागि संगठित भएका होइनौ । हाम्रो धेय नेपाली तेक्वान्दो पुन स्वर्ण युगमा फर्कियोस् भन्ने हो । त्यसका लागि हामी विदेशमा छरिएर रहेका तेक्वान्दोकर्मीले एकजुट भएर सहयोग गर्न सकियोस । भलै नेपाल तेक्वान्दो संघले यस संस्थालाई औपचारिक मान्यता नदिएको किन नहोस । हामी नेपाली तेक्वन्दोको बिकासका लागि सहकार्य गर्न तयार छौं तर नेपाल तेक्वान्दो संघ हामीले गर्दै आएको सहयोगलाई धन्याद भन्न पनि कन्जुष्याइ गर्दै आएको छ । यो स्थिति भनेको दुख लाग्दो पक्ष हो ।
तर जस्तोसुकै परिस्थितिमा पनि हामी हाम्रो कर्तव्यबाट विमुख भने हुने छैनौं । किनभने यो हाम्रो संस्था र यसमा आवद्द प्रशिक्षकहरुको निस्वार्थ समाजसेवा हो । नेपालको तेक्वान्दोको सेवा हो । हामीले पनि नेपाली तेक्वान्दोमा धेरै पसिना बगाएका छौं र अझै पनि त्यसका लागि तयार छौं । भलै अहिले हामी भूगोल बाहिरको नेपालमा छौं ।
आज केही विषयमा सत्य, तत्थ्य र एक फरक कोणबाट विश्लेशण गर्नुपर्ने भएको छ । दुई दशक अगाडि सम्म दक्षिण एशियामा नेपाली तेक्वान्दोको एक छत्र राज थियो । तर पछिल्लो समयमा नेपाली तेक्वन्दोमा यस्तो संस्कार विकसित हुँदै गयो कि तेक्वान्दो विकास होइन विनाश तिर लागेको छ ।
नेपाली तेक्वान्दोका लागि ठोस योगदान दिने खेलाडी तथा प्रशिक्षकलाई कोपाभाजनमा पार्ने कार्य फेरि शुरु हुन थालेको छ । निश्वार्थ खेलको विकासका लागि काम गर्नेहरु संघमा रहेका केही पदाधिकारीको शिकार हुने क्रम फेरि शुरु भएको छ ।
नेपालमा भएको १३ औ साफ गेममा सहभागि हुँदा मुख्य प्रशिक्षक नविन कुमार श्रेष्ठले निभाएको भूमिका सबैलाई छर्लङ्ग नै छ । श्रेष्ठको उचित प्रशिक्षण र विश्वासको कारण पनि खेलाडीले स्वर्ण पदक जिते जसको कारण गुमेको साख नेपाली तेक्वान्दोले फर्काउन सफल भयो । तर अहिले उनै प्रशिक्षक श्रेष्ठलाई दुख दिने काम शुरु भएको हामीले अनुभव गरेका छौं ।
तेक्वान्दो परिवार भित्रका सदस्यलाई एक आपसमा भिडाएर केही पदाधिकारीले त्यसको फाइदा लिने कुरा नयाँ होइन । जुनियर प्रशिक्षकहरुलाई उचाली सिनियर प्रशिक्षकको हुर्मत लिने काम हुँदै आएको हो । जुनव्यक्तिले नेपाली तेक्वान्दोको बेथितिका बारेमा बोल्छ, संघ भित्रका कालो कर्तुत बाहिर ल्याउछ त्यसलाई तह लगाउने रणनीति धेरै पुरानो हो । यो क्रम अहिले फेरि दोहोरिएको छ । विदेशमा रहेको भए पनि विकशित घटना क्रमले हाम्रो ध्यान खिचेको छ । सामाजिक सञ्जालमा छरपष्ट घटना क्रमले हामीलाई मौन बस्न दिएन ।
नेपाल तेक्वान्दो संघमा रहेको एउटा कटु सत्य भनेको संघ भन्दा बाहिर हुने प्रशिक्षक र डोजाङ्ग प्रमुखहरुलाई जहिले पनि रैति देख्ने हो । जव सम्म त्यो चश्मा फुकालिदैन नेपाली तेक्वन्दोमा रहदै आएको अन्तरद्न्द र कलह सधै दोहोरी रहन्छ । यसले नेपालको समग्र तेक्वान्दो नै धरापमा पार्दछ । तेक्वान्दो परिवारका सदस्यलाई रैतिको चश्माले हेर्ने गर्दा नै संघबाट अलग भै अन्तर्राष्ट्रिय तेक्वान्दो फेडेरेशन र राष्ट्रिय तेक्वान्दो संघ अस्थित्वमा आएको हो भन्दा अन्यथा हुदैन ।
नेपालको खेलकुदमा कुनै समय तेक्वान्दो एक नम्वरमा थियो । अहिले पछि पर्दैं जानुको कारण सक्षम र मेहनेति जो नेपाली तेक्वन्दो विकासमा केही राम्रो गर्न चाहान्छ ती प्रशिक्षकहरुलाई हतोत्साहित गर्नु, अनावश्यक दु :ख दिएर गलत ठाँउमा पठाउने प्रवृति संघका केही पदाधिकारीमा मौलाउदो छ । आफ्नो कर्तुत सार्वजनिक गर्नेलाई चार भन्ज्याङ्ग कटाउने गरिदै आएको छ । यसरी कर्मशिल प्रशिक्षकहरुलाई अझै रैतिको व्यवहार गर्नु भनेको नेपाली तेक्वान्दो झन झन् भासिने खतरा हुनु हो । संघको यही प्रवृतिले गर्दा धेरै होनाहार र सक्षम प्रशिक्षक तथा खेलाडीहरु विदेशिन बाध्य हुने छन वा नेपालमा नै अपमानित भएर बस्नु पर्ने छ ।
अन्तमा
हामी यो क्रम बन्द होस भन्ने चाहान्छौं । खेलकुद मन्त्रालय, राष्ट्रियय खेलकुद परिषद र स्वयम नेपाल तेक्वान्दो संघले यस सम्वन्धमा यथासिध्र समिति गठन गरि निश्पक्ष छानविन गरियोस र दोषिलाई कारवाही होस भन्ने हाम्रो माग छ । सत्यको साथमा हामी UUNTF परिवार सदैव रहने छौं ।
धन्यवाद जय तेक्वान्दो ।
सन्तोष प्रधान
अध्यक्ष
यूनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ