युक्रेनमा आपतकाल घोषणा, नेपालीलाई स्वदेश फर्कन आग्रह
किभ । युक्रेनमा आपतकाल घोषणा गरिएको छ । रुसी आक्रमण र युद्धको त्रासबीच आपतकाल घोषणा गरिएको हो । यसअघि उसले आफ्ना सबै नागरिकहरुलाई रुसबाट फर्किन अनुरोध गरेको थियो ।
एक महिना लामो आपतकालको अवधिमा किभले कडा सुरक्षा सतर्कता अप्नाउनेछ भने आवश्यक परेको अवस्थामा कफ्र्यू लागू गर्न सक्नेछ । पूर्वी युक्रेनमा विखन्डनकारीको नियन्त्रणमा रहेको दुई क्षेत्रमा रुसले आफ्ना सेना पठाउने आदेश दिएपछि युक्रेनले आपतकाल घोषणा गरेको हो । बिखन्डनकारी क्षेत्रका नेताहरुले आफूसँग सहयोग मागेको रुसले दाबी गर्दै आएको छ ।
रुसी सेना पूर्वी युक्रेन शान्ति मिसनमा खटिनले मस्कोको भनाई छ । तर, युक्रेनलगायत पश्चिमेली देशहरुले यसलाई मस्कोको अतिक्रमणको बहाना बताउँदै आएका छन् ।
रुसी कदमलाई लिएर पश्चिमेली मुलुकहरुले उमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् । रुसी कदमको राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् ।
युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह
यसै बीच युक्रेनमा रहेका नेपालीलाई परराष्ट्र मन्त्रालयले नेपाल फर्कन आग्रह गरेको छ । युक्रेनमा विकसित भइरहेको घटनाक्रमको मूल्याङ्कन गर्दै अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्कन मन्त्रालयले अनुरोध गरेको हो ।
साथै, अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नजान समेत मन्त्रालयले विज्ञप्तीमार्फत अनुरोध गरेको छ।
युक्रेनका लागि समेत सहप्रमाणिकृत नेपाली राजदूतावास, बर्लिनले युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकसँग सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको जानकारी मन्त्रालयले दिएको छ । त्यहाँ रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिनमा सम्पर्क गर्न आग्रह गरिएको छ ।