मेरो कामको बारेमा भ्रम सृजना गरियो : सोनाम लामा, उपाध्यक्ष,एनआरएनए
अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का उपाध्यक्ष सोनाम लामाले आफ्नो कामका बारेमा भ्रम सृजना गरिएको भन्दै आपत्ति जनाएका छन् ।
एनआरएनएका अर्का उपाध्यक्ष तथा आसन्न निर्वाचनमा अध्यक्षका उमेदवार डाक्टर बद्री केसी समुहले शनिवार आयोजना गरेको कार्यक्रममा सोनाम लामाको निकै आलोचना भएको थियो ।
लामालाई एनआरएनए उच्च स्तरिय समितिले प्रतिनिधि छनौटका बारेमा छानविन गर्ने जिम्मा दिएको थियो । संस्थापन पक्षले तयार पारेको भन्दा झण्डै नौ सय कम प्रतिनिधिको लिष्ट लामाले शेष घले नेतृत्वको समितिलाई बुझाएको बताएका थिए । त्यस पछि डाक्टर बद्रि केसी समुह सोनाम लामा र शेष घले विरुद्ध निकै आक्रमक भएको थियो ।
लामाले आइतवार विज्ञप्ति जारी गर्दै आफुले कुनै पनि प्रतिनिधिको नाम थपघट नगरेको स्पष्टि करण दिएका छन् ।
लामाको विज्ञप्तिको पूर्ण पाठ
एनआरएनए आइसीसीको म्यान्डेट प्राप्त उच्चस्तरीय समितिले जिम्मा दिए अनुरुप छानबिन गरी मैले समितिलाई बुझाएको प्रतिवेदनबारे केहि मिडियामा प्रकाशित भ्रमपूर्ण समाचारबारे मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
मैले संस्थाको विधान र नियमावली विपरित तोकिएको मिति भन्दा पछि बनाइएका सदस्यहरुबारे छानबिन गरी आफ्नो प्रतिवेदन उच्चस्तरीय समितिलाई बुझाइ सकेको छु। संघको सचिवालय र आइटी विभागले ‘राष्ट्रिय महाधिवेशन संचालन, अन्तर्राष्ट्रिय महाधिवेशन छनोट तथा राष्ट्रिय समन्वय परिषद्को सम्बन्धन सम्बन्धित नियमावली २०२१’ को उपदफा ४.२ बमोजिम सदस्य बनाइएको वा नबनाइएको भन्ने छानबिन गरी तयार गरेको रिपोर्ट मैले जस्ताको तस्तै उच्चस्तरीय समितिलाई पठाएको हु। यसमा मेरो कुनै स्वार्थ छैन। मैले कुनै पनि एनसीसीमा एक जना डेलिगेट्स पनि थप्न वा हटाउन भनेको छैन। जुन रिपोर्ट आएको छ संघको विधान र नियमावलीमा आधारित रहेर आएको छ।
म माथि संस्था फुटाउन खोजेको भन्ने आरोप सरासर गलत छ। मैले एनआरएनएमा आवद्ध भए देखि नै सधैंभरि निस्पक्ष र इमान्दारीका साथ संस्थाको हितमा काम गर्दै आएकोबारे संसार भरिका साथीहरु जानकार हुनुहुन्छ। चाहे संस्थाका पूर्व अध्यक्ष हुन् वा साधारण सदस्य, सबैले संस्थाको विधान र नियमावली इमान्दारीपूर्वक पालना गर्नु पर्छ भन्ने मेरो दृढ मान्यता रहंदै आएको छ। त्यस्तै डेलिगेट्स सम्बन्धी विवादको विधिसम्मत ढंगले समाधान गरी जति सक्दो छिटो चुनावमा जानु पर्छ भन्ने मेरो स्पष्ट मान्यता छ।
मैले आगामी दशौँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरि सकेको छु। मैले संस्थालाई जहिले पनि विधिसम्मत र पारदर्शी हिसाबले संचालन गर्नु पर्नेमा जोड दिदै आएको छु। अनियमतिता भएको छ वा विधानको पालना भएको छैन भन्ने लागेको बेला मैले ‘नोट अफ डिसेन्ट’ लेख्ने गरेको साथीहरुलाई थाहा नै छ। यस्तो वस्तु तथ्यलाई पनि थाहा न पाएझैं गरी निहित राजनीतिक उद्देश्य पुरा गर्नका लागि मेरो नाम जोडेर अनर्गल प्रचार गर्ने काम प्रति मेरो गम्भीर आपत्ति छ। सत्य तथ्य न बुझेर झूठको खेति तथा प्रोपेगेंडा गर्ने काम तुरुन्त बन्द गर्न पनि म अपिल गर्दछु।
सोनाम लामा
उपाध्यक्ष, एनआरएनए आइसीसी
मिति: २० फेब्रुअरी २०२२