क्यानडा ट्रकडाइभरको प्रदर्शन : तीन साता पछि प्रहरी हस्तक्षेप,ओटावाबाट दर्जनौं गिरफ्तार

ओटावा । क्यानडामा तीन साता देखि जारी ट्रकडाइभरहरुको प्रदर्शन मथ्थर नभए पछि प्रहरीले हस्तक्षेप शुरु गरेको छ ।
शुक्रबार बिहानै देखि सयौं प्रहरी राजधानीको डाउनटाउनमा प्रवेश गरि प्रदर्शनकारीहरूलाई हिरासतमा लिन र सडक अवरुद्ध हटाउन थालेका छन् ।
राजधानीबाट प्रहरीले सयौं प्रदर्शनकारीहरूलाई पक्राउ गरेको समाचार सार्वजनिक भएको छ । कोभिड भ्याक्सिन अनिवार्य गरिएको विरोधमा ट्रक डाइभरहरुबाट शुरु भएको प्रदर्शनका कारण राजधानी नै ठप्प हुन पुगेको थियो ।
देशभरबाट आएका ट्रकडाइभरले राजधानी घेराउ गर्दै नाकाबन्दी गरेका थिए । यस बीचमा प्रधानमन्त्री जस्टिन ट्रूडोले प्रदर्शन रोक्न पटक पटक आग्रह गरेका थिए । प्रदर्शन नियन्त्रणका लागि संकटकाल नै लगाइएको थियो ।
प्रधानमन्त्रीले क्यानाडाको इतिहासमा पहिलो पटक आपतकालीन ऐन लागू गरे, कानून प्रवर्तनलाई “नाकाबन्दीहरू अवैध घोषित गर्ने, ट्रकहरू हटाउने, ड्राइभरहरूलाई गिरफ्तार गर्ने, उनीहरूको इजाजतपत्र निलम्बन गर्ने र उनीहरूको बैंक खाताहरू फ्रिज गर्ने अधिकार दिएका थिए ।
प्रहरीका अनुसार मध्याह्नसम्म, कम्तिमा ७० जनालाई गिरफ्तार गरिएको छ । उनीहरुलाई प्रायः दुराचार र सडक अवरुद्धको आरोप लगाइएको छ ।
प्रदर्शनकारीलाई गिरफ्तार गर्दा झडप भएको र केही प्रहरी सामान्य घाइते भएको ओटावा प्रहरी प्रमुख स्टीभ बेल बताएका छन् । यद्यपी प्रहरीको कारवारी जारी रहने उनको भनाइ छ । ‘प्रदर्शनकारीको नियन्त्रणमा रहेको सडक खुलाउन पुलिस अगाडि बढेको छ यो पुरा नभएसम्म हामी दिनरात काम गर्नेछौं ।’
फोटो ओटावा पुलिसको ट्वीटरबाट