एनआरएनए उच्च स्तरिय समितिको बैठक विना निश्कर्ष सकियो, आइतवार फेरि बस्ने

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) द्वारा गठित शेष घले नेतृत्वको उच्चस्तरिय समितिको बिहिवारको बैठक विना निश्कर्ष सकिएको छ ।
समितिका एक सदस्यका अनुसार बैठक चार घण्टा भन्दा बढी चलेको थियो । तर अधिकांश समय जापानको राष्ट्रिय समन्वय समितिकै लागि खर्च भएको थियो । प्रविधिको चरम दुरुपयोग गरि निर्वाचन गरेको भन्दै जापान एनसीसी विवादमा छ । त्यसमा पछिल्लो समय सार्वनिक दुई पत्रले झन अन्यौल थपिएको छ ।
उच्च स्तरिय समितिका सदस्य देवमान हिराचनले निर्वाचित कमिटीलाई विघटन गरेको पत्र सार्वनजिक भएको थियो । त्यस लगत्तै आइसीसीका अध्यक्ष कुमार पन्तले हिराचनलाई त्यो अधिकार नभएको भन्दै अर्को पत्र सार्वजनिक भएको थियो ।
‘चार घण्टाको बैठकमा धेरै समय जापानकै बारेमा छलफल भयो तर केही निश्कर्ष आएन, समय धेरै वितेकाले आइतवार फेरी बसौ भनेर आजको बैठक सकियो ।’ ती सदस्यले भने ।
बैठकमा आइसीसीका उपाध्यक्ष सोनाम लामाले तयार पारेको प्रतिनिधिको नामावलिको रिपोर्ट पेश भएको छ । ति सदस्यका अनुसार एआरएनए आइसीसीद्वारा गठित निर्वाचन समितिद्वारा सार्वजनिक नाम र सोनाम लामा टिमले तयार पारेको नाममा लगभग नौ सय को हाराहारीमा फरक देखिएको छ ।
उच्च स्तरिय समितिले लामालाई प्रतिनिधिको लिष्ट बनाउन जिम्मा दिएको थियो । समाज टाइम्स सँगको कुराकानीमा लामाले आफुले पाएको जिम्मवारी पुरा गरेको बताए । ‘उच्च स्तरिय समितिले मलाई जे जिम्मेवारी दिएको थियो त्यो पुरा गरेर रिपोर्ट बुझाएको छु ।’ लामाले भने ।
उच्च स्तरिय समितिका सदस्यका अनुसार लामा कमिटीले दिएको नामावलिमा पनि आइतवार नै छलफल हुने भएको छ । यस्तै प्रतिनिधि विवादमा रहेका एनसीसीहरुले पुन पठाएका नामवाली बैठकमा पेश भए पनि त्यसबारेमा छलफल नभएको जनाइएको छ ।
उच्चस्तरिय समिति बैठकमै रुमल्लिरहदा निर्वाचन कमिटीले भने प्रकृया अगाडि बनाएको छ ।