सात महिना पछि ओली बालुवाटारमा, प्रचण्ड सँग पनि औपचारिक मच्च सेयर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सात महिना पछि बालुवाटार फर्किएका छन् । यस्तै उनी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सात महिनापछि औपचारिक रूपमा एउटै बैठकमा आम्नेसाम्ने भएका छन् । ओली प्रधानमन्त्रीबाट हटेपछि प्रचण्डसँग औपचारिक भेटवार्ता गरेका थिएनन् ।
यसबीचमा सम्पन्न भएका एमाले महाधिवेशनमा प्रचण्ड गएका थिएनन् भने माओवादीको महाधिवेशनमा ओली गएका थिएनन् । महाधिवेशनमा दुवै पार्टीले दुवै नेतालाई निम्तो दिएका थिए ।
नेपाली कांग्रेसको मंसिरमा भएको महाधिवेशनमा भने प्रचण्ड र ओली एउटै मञ्चमा उपस्थित भएका थिए । कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन कार्यक्रममा ओली र प्रचण्ड एकै मञ्चमा उपस्थित भए पनि औपचारिक कुराकानी भएको थिएन ।
प्रचण्डको कारण गत असार २८ गते ओलीले बालुवाटार छोड्नु परेको थियो । प्रचण्ड र माधव कुमार नेपालका कारण तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको थियो जसको अध्यक्ष ओली र प्रचण्ड रहेका थिए । अदालतले पार्टी एकता गरेका एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएको थियो ।
त्यसपछि तत्कालीन एमाले नेता माधव कुमार नेपालले एमालेबाट अलग भई नेकपा (एकीकृत समाजवादी) पार्टी स्थापना गरेका थिए । ओलीले गरेको संसद् विघटनलाई प्रचण्ड र नेपालले समर्थन नगरेपछि ओली प्रधानमन्त्रीको कुर्सीबाट हट्नु परेको थियो ।
प्रधानमन्त्रीबाट हटेपछि ओली र प्रचण्डबीच प्रत्यक्ष औपचारिक भेटवार्ता भएको थिएन । आइतवार प्रधानमन्त्री देउवाले समसामयिक विषयमा छलफल बालुवाटार बोलाएपछि ओली र प्रचण्ड आम्नेसाम्ने भएका हुन् ।
यो सात महिनाको अवधिमा ओलीले प्रचण्डको र प्रचण्डले ओलीको आलोचना गर्दै आएका थिए ।