नेपालमा अत्यावश्यक बाहेक पासपोर्ट वितरण बन्द, नयाँ लिन जान्नु पर्ने ११ कुरा
काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गत राहदानी विभागले अत्यावश्यक बाहेकका पासपोर्ट वितरण बन्द गर्ने निर्णय गरेको छ । राहदानी विभागका कर्मचारीमा कोरोना संक्रमण फैलिएपछि केही सेवा कटौती गर्न लागिएको विभागले जनाएको छ ।
विभागले कार्यालयका कर्मचारीहरुमा कारोना भाइरसको कारण विदेशमा उपचारका लागि विदेश जाने जस्ता गम्भीर प्रकृतिका अतिआवश्यक बोहकका सेवा स्थगित गरिएको जनाएको छ ।
विभागले एक सूचना जारी गर्दै भनेको छ, ‘विभागका कर्मचारीहरुमा व्यापक रुपमा फैलिएको कोरोना भाइरसको कारण विदेशमा उपचार गर्न जाने जस्ता गम्भिर प्रकृतिका अत्यावश्यक सेवा बाहेक यस विभागबाट प्रदान गरिने राहदानी सेवा सम्बन्धी सेवा अर्को सूचना जारी नभएसम्मको लागि सीमित गरिएको छ । यस पूर्व विभागले दिएको बुकिङ्ग तथा टोकन हाललाई स्थगन गरिएको छ ।’
विभागले विदेशमा उपचारका लागि जाने र अति आवश्यक काम परेको अवस्थामा (emergency@nepalpassport.gov.np) मा अनलाईन फारम, यथेष्ट प्रमाण र कारणसहित अनुरोध दिन आग्रह गरेको छ । विभागले सीमित सेवाग्राहीलाई प्राथमिकताको आधारमा स्वीकृत भएका निवेदन बारे दुई कार्य दिन भित्र इमेलबाटै जानकारी गराउने पनि बताएको छ ।
राहदानी विभागको अत्यन्त जरुरी सूचना
कोभिड १९ सम्बन्धी नेपाल सरकारको मिति २०७८।९।३० को निर्णय तथा विभागका कर्मचारीहरुमा व्यापक रुपमा फैलिएको कोरोना भाइरसको कारण विदेशमा उपचार गर्न जाने जस्ता गम्भिर प्रकृतिका अत्यावश्यक सेवा बाहेक यस विभागबाट प्रदान गरिने राहदानी सेवा सम्बन्धी सेवा अर्को सूचना जारी नभएसम्मको लागि सीमित गरिएको छ ।
यस पूर्व विभागले दिएको बुकिङ्ग तथा टोकन हाललाई स्थगन गरिएको छ । अवस्था सामान्य भएपछि पहिले पाएको बुकिङ्गको प्राथमिकताको आधारमा सेवा सुचारु गरिने छ । विदेशमा उपचारको लागि जाने तथा अत्यन्त जरुरी परेका अवस्थामा यस इमेलमा (emergency@nepalpassport.gov.np) अनलाइन भरेको फाराम, यथेष्ट प्रमाण र कारण सहित अनुरोध गर्न सकिने छ ।
सीमित सेवाग्राहीलाई प्राथमिकताको आधारमा स्वीकृत भएका निवेदन बारे विभागले दुई कार्य दिन भित्र इमेलबाटै जानकारी गराउने छ । निवेदन स्वीकृत भएका सेवाग्राहीले इमेल प्रिन्ट गरेर तोकिएको मिति र समयमा विभागमा सम्पर्क गर्न आउन अनुरोध गरिन्छ ।
जिल्ला प्रशासन कार्यालयहरुबाट लाइभ इनरोलमेन्ट भई आएका आवेदनअनुसार राहदानीको उत्पादन गर्ने र जिल्लामा पठाउने कार्य जारी नै रहनेछ । कोभिड १९ को तेश्रो लहरका कारण गर्नुपरेको सेवाप्रवाहको यो वैकल्पिक प्रवन्धबाट पर्न जाने असुविधाप्रति विभाग क्षमापार्थी छ ।
राहदानीको लागि निवेदन कसरी दिने ?
यसको लागि अनिवार्यरुपमा अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । छिटो बुकिग गर्नेको पालो पहिले आउँछ ।तल उल्लेखित लिंक खोलेपछि आवेदनको प्रकार र राहदानीको प्रकार छान्नु पर्छ । पुरानो मेशिन रिडेबल राहदानी हुनेहरुले नबीकरण (Renewal) र पहिलो पटक राहदानी बनाउने वा हस्तलिखित हुनेहरुले नयाँ (New) भन्ने Option छानेर फाराम भर्नु होला ।
नेपालमा फाराम बुझाउनेहरुको हकमा ठाउँ छनौट गर्दा राहदानी विभाग (DOP) वा जिल्ला वा तोकिएका इलाका प्रशासन छान्न सकिने र जिल्ला वा इलाका प्रशासन कार्यालयमा निवेदन दिंदा आफूले नागरिकता लिएको वा बसाइसराइ गरेको जिल्लामा मात्र निवेदन दिन सकिने छ । एक वर्ष वा सोभन्दा बढी पुरानो राहदानीको म्याद हुनेको हकमा विद्युतीय राहदानी जारी हुने छैन ।
विद्युतीय राहदानीको लागि फारम भर्न यो लिंक खोल्नुहोला ।
https://emrtds.nepalpassport.gov.np
नयाँ राहदानी लिदाँ जान्नु पर्ने थप प्रश्नउत्तरहरु:
हाल कुनकुन जिल्लामा विद्युतीय राहदानीको लागि लाइभइन्रोलमेन्ट गर्न सकिन्छ ?
काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरु, उपत्यका बाहिर
कास्की, चितवन, मकवानपुर, कपिलबस्तु, रुपन्देही, सुर्खेत, परासी, बुटवल, झापा, मोरङ्ग, धनुषा, पर्सा, सर्लाही, सुनसरी, उदयपुर, नुवाकोट, सप्तरी, धादिङ, कैलाली, तनहुँ, कञ्चनपुर, गुल्मी, रसुवा, काभ्रे, गोर्खा आदि जिल्लाहरुमा विद्युतीय राहदानीको लागि निवेदन लिन अर्थात लाइभ इन्रोलमेन्ट गर्न बुकिङ्ग खुली सकेको छ । काभ्रे र तनहुँमा जडान कार्य सकिएको छ । एक दुइ दिनमा बुकिङ्ग खुल्ने छ । अन्य जिल्लाहरूमा पनि दैनिक रुपमा स्टेशनहरु स्थापना हुँदै छन् ।
विभागमा विद्युतीय राहदानी बनाउन कति समय लाग्छ ?
सामान्य अवस्थामा लाइभ इन्रोलमेन्ट गरेको मितिले दुई कार्य दिन लाग्छ तर अनलाइनबाट समय बुक गरेकै हुनु पर्दछ । हाल विभागमा अत्यधिक चाप हुनाले र कोभिडको कारणले समेत पछाडिको बुकिङलाई अगाडि ल्याउन सकिने छैन । त्यसैले विदेश जाने समयलाई पूर्व आकलन गरेर यथासमयमा नै इन्रोलमेन्टको लागि समय बुक गर्नु होला ।
नागरिकता, राष्ट्रिय परिचयपत्र, पुरानो राहदानीसँग विवरण रुजु नभएमा, थप अनुसन्धान गर्नु पर्ने भएमा, ICAO को मापदण्डअनुसार तस्विर आदि नभएर प्रणालीले स्वीकार नगरेमा राहदानी बनाउन थप समय लाग्ने हुन्छ ।
त्यसैले राहदानी हातमा नपरेसम्म टिकट बुक गर्ने वा भ्रमण तय गर्ने कार्य नगर्नु होला । संकलन गर्न तयारी भएको एसएमएस आए पछि आफूले लाइभ इन्रोलमेन्ट गर्न बुकिङ्ग जुन समयमा गरेको हो सोही समयमा मात्र लिन आउनु होला ।
विद्युतीय र मेशिन रिडेबल राहदानीको दस्तुर के कति छ ?
विद्युतीय र मेशिन रिडेबल राहदानीहरुको दस्तुर एउटै छ । तर ६६ पृष्ठको साधारण राहदानीको दस्तुर भने फरक छ । विभागमा पहिले १ दिने २ दिने र ३ दिने सेवा भएकोमा हाल संशोधित राहदानी नियमावली अनुसार दुई कार्य दिन भित्र जारी हुने गरी एउटै दु्रत सेवा कायम गरिएको छ । दुई दिनमा लाग्ने गरेको साबिककै १२ हजार दस्तुर तोकिएको छ । जिल्ला प्रशासन कार्यालयहरुमा निवेदन दिंदा ३४ पृष्ठको राहदानीको लागि साविककै पाँच हजार र ६६ पृष्ठको लागि दश हजार राजस्व लाग्छ । विभागमा ६६ पृष्ठको राहदानीको लागि निवेदन दिंदा बीस हजार राजस्व लाग्छ । विदेशस्थित कुटनीतिक नियोगहरुमा छुट्टै दस्तुर तोकिएको छ । हराएको, च्यातिएको र १० बर्ष भन्दा कम उमेरका बच्चाको हकमा फरक फरक दस्तुर लाग्छ
जिल्लाहरूमा लाइभ इन्रोलमेन्ट गरी सकेपछि विद्युतीय राहदानी पाउन कति समय लाग्छ ?
काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरूमा करिब १ हप्ता भित्र नै राहदानी उपलब्ध हुने छ । काठमाडौं बाहिर महेन्द्र राजमार्ग र आसपासका जिल्ला र हवाई सुविधा भएका जिल्लामा करिब १५ दिन भित्र राहदानी उपलब्ध हुनेछ । जिल्ला प्रशासन कार्यालयहरुमा राहदानी प्राप्त भइसकेपछि लिन आउनको लागि मोबाइलमा एसएमएस आउने छ ।
विद्युतीय राहदानी के हो ?
हालको राहदानीमा भएका कुराहरुको अतिरिक्त विद्युतीय राहदानी (e-Passport) मा विद्युतीय चिप र एन्टेना समेत जडान गरिएको हुन्छ । चिपमा औठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरणहरु हुन्छन् । यी विवरणहरु राखेर चिप लक गरीसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन । यो हालसम्म संसारमा विभिन्न मुलुकहरुमा जारी भएको अत्याधुनिक राहदानी मध्येमा पर्दछ । ICAO PKD मार्फत सुचनाहरु रुजु हुने हुँदा विभिन्न मुलुकका अध्यागमन कार्यालयहरुमा निकै सहज र छिटो हुन्छ । विद्युतीय गेटहरु भएका ठाउँमा स्वत: खुल्ने व्यवस्था समेत गरिएको हुन्छ ।
के राष्ट्रियपरिचयपत्र वा नम्बर आवश्यक पर्छ ?
१६ बर्ष माथिका र नेपालमा निवेदन दिनेहरुको लागि राष्ट्रियपरिचयपत्र आवश्यक पर्छ । विदेशबाट निवेदन दिने र १६ बर्ष भन्दा कम उमेरका आवेदकहरुको हकमा अनिवार्य छैन । भौतिक कार्ड आउन समय लागे पनि नम्बर तुरुन्त पाउन सकिन्छ र सो नम्बर मात्र भए राहदानी बनाउन सकिन्छ । भौतिक कार्ड नै भएमा अझ सजिलो हुन्छ ।
रिजेक्सन वा निवेदन स्वीकृत नभएको मेसेज आएमा के गर्ने ?
विभागको हकमा मुख्य प्रतिक्षा हलमा रहेको रिजेक्सन काउन्टरमा सम्पर्क गर्नु होला । रिजेक्सनको कारण थाहा भएमा तोके अनुसारको कार्य गरेर पुनः लाइभ इन्रोलमेन्ट गर्नु पर्ने हुनसक्छ । सुरक्षाको कारणले एक पटक पेश भइसकेको फर्म पुनः संशोधन सक्दैन । अतः फर्ममा विबरण भर्दा होशियारीसाथ भर्नु होला ।
दूर्त सेवाको लागि राष्ट्रिय परिचयपत्रको अलावा आधिकारिकता बुझेको पत्र आवश्यक पर्छ कि पर्दैन ?
केही सेवाग्राहीहरुको राष्ट्रिय परिचयपत्रको विवरण नभिडेको कारण राहदानी बन्न नसकेको हुनाले जिल्लाबाट नागरिकता वा नाबालक परिचयपत्रको आधिकारिकता खुलेको पत्र साथै लिएर आउन उपयक्त हुन्छ । राष्ट्रिय परिचयपत्र पेश गरे पनि विवरण नभिडेमा विभागले आधिकारिकता खुलेको पत्र माग गर्न सक्नेछ । नाबालक परिचयपत्रको हकमा यो अनिवार्य गरिएको छ ।
म्याद भएको मेशिन रिडेबल राहदानी भएकाहरुको हकमा के हुन्छ ?
हालको मेशिन रिडेबल राहदानीको म्याद भएसम्म विद्युतीय राहदानी बनाउनु पर्दैन । त्यसैले काम गर्छ ।
म्याद सकिएका मेशिन रिडेबल राहदानी नवीकरण गर्नु पर्छ कि पर्दैन ?
राहदानी नवीकरण भन्दा पनि नयाँ नै बनाउने हो । बनाएर घरमा राख्नको लागि राहदानी बनाउनु पर्दैन । जहिले आवश्यक पऱ्यो त्यही बेला बनाउन सकिन्छ । यो चालकअनुमति पत्र जस्तै नवीकरण गर्न पर्दैन र कुनै थप दस्तुर पनि लाग्दैन । ICAO ले यो मितिदेखि मेशिन रिडेबल राहदानी चल्दैन भनेर हालसम्म भनेको छैन ।
विद्युतीय राहदानी लिन समय नपाएमा मेशिन रिडेबल राहदानी लिन सकिन्छ कि?
नेपालबाट निबेदन दिनेहरूको हकमा मेशिन रिडेबल राहदानी लिन सकिदैन ।