६ गोल भएको खेलमा एपीएफ र एनआरटीले अंक बाँडे
काठमाडौं/ लिगकै सर्वाधिक ६ गोल निस्किएको खेलमा विभागीय एपीएफ क्लब र न्युरोड टिम एनआरटीले अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो खेलमा एपीएफ र एनआरटीले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
लिगकै सर्वाधिक गोल निस्किएको खेलमा एपीएफका लागि आशिष लामा, दिपेश धिमाल र नवीन लामाले एक एक गोल गरे । एनआरटीको लागि दर्शन गुरुङले दुई गोल गर्दा मेसौके ओलोमोउले एक गोल गरे ।
सुरुआती अग्रता बनाएको एनआरटी दोस्रो पटकसमेत अग्रता बनाउँदा जितबाट बन्चित भयो । ७ अंक जोडेको एनआरटी छैठौं स्थानमा छ । पाँच अंक बनाएको एपीएफ ११औं स्थानमा यथावत छ ।
लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ । जारी लिगमा मनाङ मर्स्याङ्दी क्लब शीर्षस्थानमा छ ।