दीपाश्री निरौलाको साथ ‘अमेरिकामा रमझम साँझ’
न्यूयोर्क । चिसिदै गएको अमेरिकी मौषममा डिसेम्वरको एक रातलाई नेपाली अमेरिकन कलाकार संघले तताउने भएको छ ।
क्रिशमसको भोलिपल्ट अर्थात डिसेम्वर २६ तारिकको रातलाई संघले ‘रमझम साँझ’ भनेको छ । ज्याक्सन हाइटको उड्साइड स्थित क्वीनस् प्यालेसमा साँझ ७ देखि विहान दुई बजे सम्म नेपाली कलाकारले प्रस्तुति दिने छन् ।
साँझका मुख्य आकर्षक अभिनेत्री दिपाश्री निरौला रहने छिन् । अहिले हटकेक बनेका भ्वाईस अफ नेपाल सिजन – ३ विजेता किरण गजमेरले पनि प्रस्तुति दिने छन् ।
यस्तै रबिन शर्मा,शंकर बिसी,गीता राई,भगवान भण्डारी,शान्ती भण्डारी र रेश्मा सुनुवारले पनि त्यो साँझ तताउने प्रयास गर्ने छन् ।
अन्जना गुरुङ्ग,लक्ष्मण पौडेल,ऊदय भट्टराई, शुरेश दर्पण पोख्रेलले प्रस्तुति दिनेछन् । बिक्की पुलामी मगरले सन्चालन गर्ने कार्यक्रममा डिजेको जिम्मेवारी डिजे राजालाई दिइएने छ ।
उपाध्यक्ष एवं चर्चित लोकगायक विमल डाँगिका अनुसार संघको ‘कोष’ का लागि सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो । संघमा अहिले नयाँ नेतृत्व आएको छ । ‘चाडबाडको मौषम पनि छ, साथिभाइको जमघट पनि हुने संस्थाको खातामा केही जम्मा पनि हुने भन्ने अपेक्षा छ ।’ डाँगिले भने । उनका अनुसार रमझम साँझका लागि ५० र एक सय डलर गरि दुई थरी टिकट मूल्य राखिएको छ । दीपाश्री डिसेब्वर २२ तारिक न्यूयोर्क आइपुग्ने छिन् ।