एमालेलाई जनताको विश्वास हाेइन कुम्भ मेला चाहिएको छ : मन्त्री श्रेष्ठ
तनहुँमा आज आयाेजित कार्यक्रममा उनले एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गरेर जनताको मतलाई कदर नगरेको पनि बताए । ‘घमण्डी र पाखण्डी नेताले दुई पटकसम्म संसद विघटन गरे । अघिल्लो निर्वाचनमा देशभरका जनताले करिब दुई तिहाइ मत दिएर कम्युनिष्ट पार्टीलाई सरकार चलाउ भनेर मत दिईरहदा घमण्डी र पाखण्डी नेताहरूले दुई दुई पटकसम्म संसद विघटन गरेर जनताको मतलाई अपमान गरे । नेकपा एमालेलाई अब गाउँगाउँमा पुगेर भोट माग्ने कुनै अधिकार छैन् । यसकारण एमालेलाई जनताको विश्वास चाहिएको छैन् । चाहिएको छ त कुम्भ मेला,’ उनको प्रस्टोक्ति थियो । उनले हालै चितवनको सौराहामा सम्पन्न नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेनलाई कुम्भ मेलाको संज्ञा दिएका हुन् ।
शुक्लागण्डकी नगरपालिका–३ को वडा कार्यालय भवन उद्घाटन गर्न आएका मन्त्री श्रेष्ठले एमालेले राष्ट्रिय महाधिवेशनमा प्रजातान्त्रिक अभ्यास अवलम्बन गर्न नसकेको टिप्पणी पनि गरे । ‘चितवन महाधिवेशन कोटको खल्तीबाट नाम सरररररर पढेर सकियो । कमरेड भीम रावल, घनश्याम भूसाललगायतले यस्तो काम हुँदैन हामी चुनाव लड्छौ भन्दा धम्क्याउने, तर्साउने, चुनाव लड्न पाईदैन् भने । कहाँको प्रजान्त्रिक अभ्यास हो यो ? जनताको बिचमा जान सक्नुपर्छ,’ उनले भने ।
वडा कार्यालयको भवन निर्माण पूरा भएकाे डेढ वर्ष भइसकेकाे छ । कार्यालयले यहीबाट सेवा प्रवाह गर्न थालेकाे पनि झण्डै डेढ बर्ष भइसकेकाे छ । मन्त्री वडा कार्यालयमा आउने भएपछि दुलेगौंडा हर्कपुर मोटरमार्ग मर्मत गरिएको छ ।