सडक निर्माणमा स्थानीय जनप्रतिनिधिकै अवरोध
रसुवा, २९ भदौ
बहुचर्चित राष्ट्रिय गौरवको आयोजना गल्छी-त्रिशूली-रसुवागढी सडकखण्डको बेत्रावती-नयाँपुल खण्डको सडक निर्माणमा जनप्रतिनिधिले अवरोध गरेका छन् ।
मुआब्जाको कारण देखाउँदै उत्तरगया गाउँपालिका- ५ का वडा अध्यक्ष ईश्वर थापा तथा उनका परिवारले अवरोध गरेको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुवेँसी-रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए । रसुवाको बेत्रावती बाई जक्सनदेखि नयाँ पुलसम्मको जग्गा प्राप्त गर्नका लागि प्रक्रिया अघि बढिसकेको अवस्थामा त्रिशूली थ्री ए जलविद्युत् आयोजनासँगको विवाद रहेको भनी अवरोध गरिरहेकाले हालसम्म पनि पूर्ण हुन नसकेको उनले बताए ।
हालसम्म २० जनाभन्दा बढी जग्गाधनीले मुआब्जा लिइसकेका छन् । आयोजनाका अनुसार आगामी एक साताभित्र करिब ३० जना जग्गाधनीले मुआब्जाबापतको रकम लिइसक्ने योजना छ । आयोजनाबाट मुआब्जा रकम वितरणमा कुनै समस्या नरहेको समेत आयोजना प्रमुख भण्डारीले बताए । नापी तथा मालपोत कार्यालयबाट दाखिला भई आएमा जग्गाधनीको खातामा मुआब्जाबापतको रकम तत्काल जम्मा गरिदिने गरेको उनले बताए ।