जुट खेतीप्रति कृषकको आकर्षण घट्दै
झापा, २८ भदौ । गौरीगञ्ज-५ का ग्रहणलाल गणेशले एक विघा पाटा (जुट) खेती लगाएका छन् । उनको एक विघामा २५ मन बढी पाटा फलाए । अहिले पाटाको मूल्य प्रतिमन ३२ सयसम्म मूल्य रहेको उनी बताउँछन् । तर, पाटा लगाएदेखि सुकाएसम्म निकै झन्झटिलो हुने गरेको उनको भनाइ छ ।
ग्रहणलालका अनुसार विगतमा दक्षिणी क्षेत्रका अधिकांश खेतीमा पाटा लगाइन्थ्यो । तर, पछिल्लो समय नगदे बाली पाटा खेती देखिनै छाडेको उनी बताउँछन् । ‘धान खेतीजस्तो सजिलो छैन पाटा खेती । धेरै झन्झट छ । खर्च पनि धेरै लाग्छ । तर, मूल्य छैन । यसपटक चाहिँ ३२ सयसम्म पुगेको छ रे !,’ उनी भन्छन्, ‘अहिले त पाटा लगाउन काम गर्ने मान्छे नै पाइँदैन । बरू विदेश गएर कमाउँछन् । पाटा खेती लगाउने मान्छे नै पाइँदैन ।’ झापाको दक्षिणी क्षेत्रमा हुने पाटा खेती आदिवासी समुदायको संस्कृतिसँग जोडिएको छ ।
विगतमा आदिवासीले पाटाबाट झोला बनाउने, पशुचौपाय बाध्नका लागि डोरी बनाउनेसम्मको गर्दै आएका थिए । तर, पछिल्लो समय पाटाको खेती घटेको गौरीगञ्जका किसान रूपलाल राजवंशी बताउँछन् । ‘खेती गर्न त समस्या नै समस्या छ । अहिले त पाटा खेती खासै देखि नै छाड्यो,’ उनी भन्छन्, ‘किसानको समस्याको त के कुरा गर्ने भनेको बेला पाटा खेतीमा हाल्न मल त पाइँदैन ।’
पाटा खेती वैशाख, जेठतिर लगाइन्छ । यसको उत्पादन १५ भदौपछि हुने राजवंशी बताउँछन् । तर, पछिल्लो समय पाटा खेती घटेको गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ बताउँछन् । विगतमा धान खेती बराबर पाटा खेती हुने गरेको उनी बताउँछन् । तर, पछिल्लो समय धान खेतीको तुलनामा ५ प्रतिशत पनि पाटाको खेती हुन छाडेको उनको भनाइ छ । ‘पहिला त धानखेती बराबर पाटा खेती हुन्थ्यो । अहिले त कहीँकहीँ मात्र खेती देखिन्छ,’ उनले भने, ‘अब त पाटा खेती त लोप हुने अवस्थामा पुग्यो । यसपटक ३२ सय रुपैयाँ मनमा विक्री हुँदैछ । तर, विगतमा १५ सय रुपैयाँ प्रतिमनसम्म आउँछ । जबकि एक मन फलाउन कृषकलाई दुई हजार खर्च हुन्छ ।’
राज्यले पाटा खेतीलाई बेवास्ता गर्दा कृषकलाई समस्या परेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । ‘पाटा खेतीमा राज्यको नजर नै परेन । पाटा उत्पादन गर्ने किसान मारमा छन्, ’ उनी भन्छन्, ‘राज्यले पाटा उत्पादनमा अनुदानको कार्यक्रम नचलाए खेती गर्नसक्ने अवस्था नै रहँदैन ।’
कृषि ज्ञानकेन्द्र झापाको तथ्यांकअनुसार पनि प्रत्येक वर्ष पाटा खेती गर्नेको क्रम घटिरहेको छ । आर्थिक वर्ष ०७६/०७७ मा ५९२ हेक्टर क्षेत्रफलमा पाटा खेती भएको थियो । यो क्षेत्रफल घटेर आर्थिक वर्ष ०७७/०७८ मा ५५० हेक्टरमा आएको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख नीलकमल सिंहले जानकरी दिए । उनका अनुसार पाटा खेती घट्दो क्रममा छ । यसको विकासका लागि हालसम्म ज्ञान केन्द्रमा अनुदानको कार्यक्रम नरहेको उनले बताए । ‘अरू बालीको तुलनामा प्रशोधनका लागि निकै कठिन छ । पाटा कुहाउने परम्परागत शैली छ । पाटा कुहाउने प्रक्रियामा आधुनिकता नभित्रिँदा निकै झन्झट छ,’ उनी भन्छन्, ‘बजारमा प्लाष्टिकको झोला, दाम्ला आउन थाले । पाटाले मार्केट पाउन छाड्यो त्यही कारण खेती गर्ने पनि घटे ।’
न्युज कारखाना