पेन्सिल्भेनिया ल्यानक्यास्टर मस्जिदबाहिर चक्कु प्रहार गर्ने अफगानीलाई १६ वर्षसम्म जेल
ल्यानकास्टर, पेन्सिल्भेनिया / अमेरिकाको पेन्सिल्भेनियास्थित ल्यानकास्टर सहरमा इस्लामिक कम्युनिटी सेन्टरबाहिर एक व्यक्तिमाथि चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा दोष स्वीकार गरेका अफगानी नागरिक ३३ वर्षीय मोहम्मद आरिफ अब्दुल रसिदलाई आठदेखि १६ वर्षसम्मको जेल सजाय सुनाइएको छ।
अक्टोबर २१ मा दोष स्वीकार गरेपछि अब्दुल रसिदलाई अदालतका न्यायाधीश जेफ्री कोनराडले राज्यको जेलमा पठाउने सजाय सुनाएका हुन्।
उनीमाथि हत्या प्रयास, गम्भीर आक्रमण र अर्को व्यक्तिको सुरक्षालाई लापरबाहीपूर्वक जोखिममा पारेको अभियोग थियो। उनी सोही दिनबाट सुरु हुने भनिएको जुरी ट्रायलमा सहभागी हुनुपर्ने थियो, तर त्यसअघि नै दोष स्वीकार गरेका थिए।
“यो एउटा दुष्ट कार्य थियो,” सजाय सुनाउँदै न्यायाधीश कोनराडले भने।
घटना सन् २०२५ को मार्चमा ल्यानकास्टर सहरको नर्थ क्विन स्ट्रिटस्थित इस्लामिक कम्युनिटी सेन्टरबाहिर भएको थियो।
अभियोजन पक्षका प्रथम सहायक जिल्ला न्यायाधिवक्ता ट्राभिस एन्डरसनका अनुसार, ईद उल फित्रको नमाज तथा धार्मिक कार्यक्रम सकिएलगत्तै अब्दुल रसिद पीडितको पछाडिबाट दौडिएर आए र चक्कुले पाँच पटक प्रहार गरे।
प्रहारबाट पीडितको ढाडको माथिल्लो भाग र खुट्टामा गहिरा घाउ तथा छेडिएका चोट लागेका थिए। उनलाई तत्काल ट्रमा उपचार कक्षमा लगेर उपचार गर्नुपरेको थियो।
घटनाका बेला त्यहाँ उपस्थित केही व्यक्तिले हस्तक्षेप गरी अब्दुल रसिदको हातबाट चक्कु खोसेर उनलाई नियन्त्रणमा लिएका थिए। उनलाई निशस्त्र पार्ने क्रममा एक व्यक्तिको हातमा गहिरो चोट लाग्नुका साथै औँलाहरूमा समेत काटिएको थियो। ती व्यक्तिले पनि उपचार गराउनुपरेको थियो।
अदालतमा पीडितले आफ्नो लिखित बयान पढ्दै आक्रमणपछि आफू निरन्तर डर र मानसिक आघातमा बाँचिरहेको बताए।
पीडितले अफगानिस्तानमा अमेरिकी सेनालाई लडाइँका क्रममा दोभासेको रूपमा सहयोग गरेको आफ्नो भूमिकाका कारण आफूलाई निशाना बनाइएको विश्वास व्यक्त गरे। उनका अनुसार, चक्कु प्रहार गर्नुअघि अब्दुल रसिदले आफूलाई ‘अमेरिकी जासुस’ भन्दै मार्ने धम्की दिएका थिए।
तर घटनापछि प्रहरीले पक्राउ गर्दा अब्दुल रसिदले शरणार्थी समुदायभित्र पीडितको व्यावसायिक गतिविधिसम्बन्धी विवादका कारण आक्रमण गरेको दाबी गरेका थिए।
पीडितले भने उक्त स्पष्टीकरणलाई आफ्नो वास्तविक उद्देश्य लुकाउने प्रयासका रूपमा व्याख्या गरे। उनले आक्रमण घृणा र अतिवादी सोचबाट प्रेरित भएको आरोप लगाए।
“उनको वास्तविक उद्देश्य जे भए पनि, त्यसले मलाई पाँच पटक चक्कु प्रहार गर्नुलाई कहिल्यै उचित ठहर गर्न सक्दैन,” पीडितले अदालतमा भने।
अभियोजन पक्षका एन्डरसनले आक्रमण कसले सुरु गरेको भन्ने विषयमा कुनै शङ्का नरहेको बताए। उनका अनुसार, भिडियो प्रमाणले आक्रमण बिना कुनै उक्साहट भएको स्पष्ट देखाउँछ।
पश्तो भाषाका दोभासेमार्फत अदालतमा बोलेका अब्दुल रसिदले आफूमा अब पीडितप्रति कुनै वैमनस्य नरहेको बताए। उनले पीडितलाई आफ्नो ‘भाइ’ भनेर सम्बोधन गरेका थिए।
सजायको हिस्साका रूपमा अब्दुल रसिदलाई ल्यानकास्टर इस्लामिक कम्युनिटी सेन्टरमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ। साथै, उनले २ हजार ३०० अमेरिकी डलरभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्नेछ।
















