फुड स्ट्याम्प दुरुपयोग गर्ने पाँच जना पक्राउ, आइसले देशव्यापी अभियान चलाउने
वासिङ्टन / अमेरिकी नागरिकका लागि लक्षित खाद्य सहयोग कार्यक्रम (फुड स्ट्याम्प) दुरुपयोग गरेको आरोपमा इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) ले पाँच जना आप्रवासीलाई पक्राउ गरेको छ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरीटी (डीएचएस) ले उनीहरूविरुद्धको कारबाहीलाई देशव्यापी रूपमा विस्तार गर्ने जनाएको छ।
डीएचएसले अक्टोबर २० मा सार्वजनिक गरेको विवरणअनुसार पक्राउ पर्नेमा क्युबाका एक जना र हाइटीका चार जना छन्।
उनीहरूले अमेरिकी नागरिकलाई लक्षित खाद्य सहायता कार्यक्रम सप्लिमेन्टल न्युट्रिसन असिस्टेन्स प्रोग्राम (एसएनएपी) को दुरुपयोग गरेको विभागको आरोप छ। तर, उनीहरूले कति रकमको सहायता लिएका थिए वा कथित ठगी कसरी गरेका थिए भन्ने विस्तृत विवरण विज्ञप्तिमा खुलाइएको छैन।
डीएचएसका सचिव मार्कवेन मुलिनले अमेरिकामा बस्ने कानुनी अधिकार नभएका व्यक्तिले अमेरिकी करदाताको रकमबाट सञ्चालित कल्याणकारी कार्यक्रमको दुरुपयोग गर्न नहुने बताएका छन्। उनले पक्राउ परेका व्यक्तिहरू ठूलो स्तरमा सञ्चालन गरिने कारबाहीको सुरुवात मात्र भएको दाबी गरेका छन्।
पक्राउ पर्नेमा क्युबाकी एलिजाबेथ पोभेआ रोड्रिगेज छिन्। डीएचएसका अनुसार उनको आपराधिक अभिलेखमा सार्वजनिक शान्ति भङ्गसम्बन्धी कसुरमा दोषी ठहर भएको विवरण छ। उनीमाथि कुटपिट र घरेलु हिंसासम्बन्धी घटनामा पक्राउ परेको अभिलेखसमेत रहेको विभागले जनाएको छ।
हाइटीका रुबस्टोनी जुनियर थियोडोरलाई चोरी, प्रहरी अधिकारीको काममा अवरोध र अनधिकृत प्रवेशसम्बन्धी घटनामा पक्राउ परेको अभिलेख रहेको जनाइएको छ। त्यस्तै, हाइटीकै विल्बर्ट जिन ब्याप्टिस्ट, लुइस जिन र जेन्स्ली चार्ल्सलाई पनि आइसले पक्राउ गरेको डीएचएसले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। पछिल्ला तीन जनाको हकमा भने विज्ञप्तिमा आपराधिक इतिहासको थप विवरण दिइएको छैन।
डीएचएसले पाँचै जना अमेरिकामा गैरकानुनी रूपमा प्रवेश गरेका र त्यसपछि अमेरिकी नागरिकका लागि छुट्याइएको खाद्य सहायता कार्यक्रमबाट लाभ लिएको आरोप लगाएको छ। यद्यपि, विज्ञप्तिमा उनीहरूले एसएनएपीबाट सहायता प्राप्त गरेको प्रमाण, रकम, ठगीसम्बन्धी औपचारिक अभियोग वा अदालतको फैसलाबारे विस्तृत जानकारी दिइएको छैन।
अमेरिकी सरकारले एसएनएपी कार्यक्रममार्फत योग्य न्यून आय भएका व्यक्ति तथा परिवारलाई खाद्यान्न खरिद गर्न सहयोग उपलब्ध गराउँछ। कार्यक्रममा गैरनागरिकको योग्यता उनीहरूको अध्यागमन स्थिति र लागू हुने संघीय नियमअनुसार निर्धारण हुन्छ। त्यसैले सबै गैरअमेरिकी नागरिकलाई यो सहायता लिन अयोग्य मान्न मिल्दैन।
ट्रम्प प्रशासनले खाद्य सहायता कार्यक्रमको दुरुपयोग नियन्त्रण गर्न आइसमार्फत व्यापक कारबाही अघि बढाउने जनाएको छ। डीएचएसले यसलाई निरन्तर सञ्चालन हुने अभियानको सुरुवात भनेको छ।
















