अमेरिकाको भर्मन्टमा श्रीमती हत्या प्रयासको आरोपमा बाल खड्का पक्राउ
भर्मन्ट, अमेरिका / अमेरिकाको भर्मन्ट राज्यस्थित बर्लिङ्टनमा आफ्नी श्रीमतीको हत्या प्रयास गरेको आरोपमा ४४ वर्षीय बाल खड्का पक्राउ गरेका छन्।
प्रहरीले तीन बालबालिकाको सामुन्ने खड्काले श्रीमतीलाई टर्चलाइटले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएको आरोप लगाएको छ ।
बर्लिङ्टन प्रहरीका अनुसार अक्टोबर १०, २०२६ शनिबार बिहान करिब ५ बजेर ४८ मिनेट जाँदा साउथ च्याम्पलेन स्ट्रिटस्थित २३४ नम्बरको अपार्टमेन्टमा झगडा भइरहेको र एम्बुलेन्स आवश्यक परेको भन्दै प्रहरीलाई पटक–पटक आपत्कालीन फोन आएको थियो।
घटनास्थलमा पुगेका प्रहरीले ओछ्यानमा अचेत अवस्थामा रहेकी र टाउकोमा गम्भीर चोट लागेकी महिलालाई फेला पारेका थिए। उनलाई बर्लिङ्टन अग्नि नियन्त्रण विभागको सहयोगमा युनिभर्सिटी अफ भर्मन्ट मेडिकल सेन्टर पुर्याइएको थियो। उपलब्ध प्रहरी विवरणअनुसार आइतबार बिहानसम्म उनको अवस्था गम्भीर रहेको थियो।
प्रहरी अनुसन्धानका क्रममा खड्काले आफ्नी श्रीमतीमाथि ठूलो टर्चलाइटले प्रहार गरेको आरोप लगाइएको छ। उक्त घटना हुँदा तीन बालबालिका पनि उपस्थित रहेको प्रहरीले जनाएको छ।
खड्कामाथि सेकेन्ड डिग्री एटेम्प्टेड मर्डर को अभियोग लगाइएको छ। अदालतको आदेशअनुसार उनलाई धरौटीबिना हिरासतमा राखिएको छ।
उनलाई अक्टोबर १३, मंगलबार बिहान ८:३० बजे अदालतमा उपस्थित गराउने तालिका रहेको प्रहरीले जनाएको छ।
घटनाबारे बर्लिङ्टन प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

















