ट्रम्प प्रशासनको उपलब्धि : ३३ लाखभन्दा बढी डिपोर्ट, दुई लाख ५० हजाकरो भिसा रद्द
वासिङ्टन / अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरीटी (डीएचएस) ले राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा आप्रवासन नीतिअन्तर्गत ३३ लाखभन्दा बढी आप्रवासीलाई डिपोर्ट गरिएको र दुई लाख ५० हजार भिसा रद्द गरिएको जनाएको छ।
विभागले सार्वजनिक गरेको ‘रिमाइग्रेसन रिपोर्ट’ मा आप्रवासन नियन्त्रणसम्बन्धी विभिन्न तथ्यांकलाई प्रशासनका उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ।
डीएचएसले अक्टोबर २ मा सार्वजनिक गरेको विवरणअनुसार ३३ लाखभन्दा बढी निष्कासनमा डिपोर्टेसनसँगै स्वेच्छिक रूपमा अमेरिका छाडेका व्यक्तिसमेत समावेश छन्।
रिपोर्टमा अमेरिकामा कम्तीमा आधा शताब्दीपछि पहिलोपटक नेट नेगेटिभ माइग्रेसन भएको दाबी गरिएको छ। अर्थात् अमेरिकामा भित्रिनेभन्दा बाहिरिने आप्रवासीको संख्या बढी भएको विभागको भनाइ छ।
डीएचएसको रिपोर्टमा शरण आवेदन अस्वीकृति दर ९४ प्रतिशत पुगेको उल्लेख छ। त्यस्तै, आप्रवासन कानुन कार्यान्वयनमा राज्य तथा स्थानीय निकायसँग सहकार्य गर्ने २ हजार ६ सयभन्दा बढी २८७(जी) सम्झौता भएको जनाइएको छ।
रिपोर्टअनुसार ३९ देशका नागरिकका लागि यात्रा प्रतिबन्धसम्बन्धी व्यवस्था पनि लागू गरिएको छ। साथै, अमेरिकी नागरिकता प्राप्त गर्ने अर्थात् नेचुरलाइजेसनको संख्या ७५ प्रतिशत घटेको डीएचएसले जनाएको छ।
डीएचएसले यी तथ्यांकलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा हासिल भएका अभूतपूर्व उपलब्धिका रूपमा प्रस्तुत गर्दै अमेरिकी नागरिकको हित र रोजगारी संरक्षण गर्ने उद्देश्यले आप्रवासन नियन्त्रणका प्रयास अझ विस्तार गरिने जनाएको छ।
डीएचएसले सार्वजनिक गरेको ग्राफिकमा “अमेरिकामा आधा शताब्दीपछि पहिलोपटक शुद्ध आप्रवासन ऋणात्मक” भएको दाबी गर्दै ट्रम्प प्रशासनले आप्रवासन नियन्त्रणसम्बन्धी आफ्नो प्रयास जारी राख्ने जनाएको छ।

















