पेन्सिलभेनियामा ५५ वर्षपछि मेडिकेड लिने व्यक्तिको सम्पत्तिमा राज्यको दाबी हुन सक्ने
टिका ढुङ्गाना
ह्यारिसबर्ग, पेन्सिलभेनिया /पेन्सिलभेनियामा ५५ वर्ष वा सोभन्दा माथिका व्यक्तिले दीर्घकालीन हेरचाहका लागि मेडिकेड अर्थात् सरकारी स्वास्थ्य सहायता कार्यक्रमबाट सेवा लिएको अवस्थामा, उनीहरूको मृत्यु भएपछि राज्यले केही खर्च उनीहरूको सम्पत्तिबाट असुल गर्न सक्ने व्यवस्था रहेको छ। यसलाई मेडिकेड सम्पत्ति असुली भनिन्छ।
तर यसको अर्थ ५५ वर्षपछि मेडिकेडबाट लिइएका सबै स्वास्थ्य सेवाको खर्च राज्यले मृत्यु भएपछि असुल गर्छ भन्ने होइन। मुख्यतः मेडिकेडले भुक्तानी गरेको योग्य दीर्घकालीन हेरचाहसम्बन्धी सेवाको खर्च मात्र यस्तो असुलीको दायरामा पर्न सक्छ।
पेन्सिलभेनिया मानव सेवा विभागका अनुसार, घरमै बसेर प्राप्त गरिने दीर्घकालीन हेरचाह सेवा पनि यसमा पर्न सक्छ। यसअन्तर्गत घरमै व्यक्तिगत हेरचाह, दैनिक काममा सहयोग तथा आवश्यक अन्य सेवा उपलब्ध गराउने कार्यक्रमहरू समावेश हुन सक्छन्।
त्यसैगरी, मेडिकेडले भुक्तानी गरेको नर्सिङ होमको हेरचाह, त्यस्ता सेवासँग सम्बन्धित अस्पताल उपचार तथा औषधिको खर्च पनि निश्चित अवस्थामा असुलीको दायरामा पर्न सक्छ। समुदायमा आधारित स्वास्थ्य हेरचाह कार्यक्रममा सहभागी व्यक्तिले प्राप्त गरेका मेडिकेडबाट भुक्तानी गरिएका दीर्घकालीन हेरचाह सेवामा पनि यो व्यवस्था लागू हुन सक्छ।
उदाहरणबाट बुझौँ
मानौँ, कुनै व्यक्ति ५६ वर्षका छन् र आफ्नै घरमा बसेर मेडिकेडको घरमै हेरचाहसम्बन्धी सेवा लिइरहेका छन्। मेडिकेडले त्यस्ता योग्य सेवाका लागि प्रत्येक वर्ष ५० हजार डलर भुक्तानी गर्छ भने पाँच वर्षमा राज्यले २ लाख ५० हजार डलर भुक्तानी गरेको हुन सक्छ।
त्यस्तो अवस्थामा व्यक्तिको मृत्यु भएपछि मेडिकेडले योग्य सेवाका लागि गरेको भुक्तानी रकम सम्पत्ति असुलीअन्तर्गत राज्यको सम्भावित दाबीमा पर्न सक्छ।
यहाँ महत्त्वपूर्ण कुरा के हो भने घरमा सेवा दिने कामदारले व्यक्तिगत रूपमा कति तलब पाए भन्ने मात्र आधार हुँदैन। मेडिकेडले योग्य सेवाका लागि कति रकम भुक्तानी गरेको थियो भन्ने कुरा मुख्य आधार हुन्छ।
तर यो व्यवस्था सबै अवस्थामा समान रूपमा लागू हुँदैन। जीवित पति वा पत्नी, अशक्त सन्तान, विशेष आर्थिक कठिनाइको अवस्था तथा मृतकको कुन-कुन सम्पत्ति कानुनी रूपमा सम्पत्तिको हिस्सा मानिन्छ भन्ने विषयमा विभिन्न नियम र छुटहरू रहेका छन्।
अर्को महत्त्वपूर्ण कुरा के हो भने यस्तो असुली सामान्यतया मृतक व्यक्तिको सम्पत्तिबाट गरिन्छ, छोराछोरीले आफ्नो व्यक्तिगत सम्पत्तिबाट तिर्नुपर्ने व्यक्तिगत ऋणका रूपमा होइन। यद्यपि, कुन सम्पत्तिबाट राज्यले असुली गर्न सक्छ भन्ने कुरा व्यक्तिको पारिवारिक तथा सम्पत्तिसम्बन्धी अवस्थाअनुसार फरक हुन सक्छ।
त्यसैले पेन्सिलभेनियामा ५५ वर्ष वा सोभन्दा माथिका व्यक्तिले मेडिकेडमार्फत दीर्घकालीन हेरचाह वा घरमै हेरचाहसम्बन्धी सेवा लिइरहेका छन् भने, आफ्नो घर तथा अन्य सम्पत्तिमा भविष्यमा पर्न सक्ने प्रभावबारे समयमै जानकारी लिनु महत्त्वपूर्ण हुन्छ।
विशेषगरी आफ्नै घर भएका व्यक्तिहरूले दीर्घकालीन हेरचाहसम्बन्धी सरकारी सहायता लिनुअघि वा लिइरहेको अवस्थामा सम्पत्ति असुलीसम्बन्धी नियम, छुट तथा विशेष परिस्थितिबारे सम्बन्धित सरकारी कार्यालय वा योग्य कानुनी सल्लाहकारसँग जानकारी लिनु उचित हुन्छ।
(ढुङ्गाना बुद्धखरी फाउन्डेशन संस्थापक हुन)

















