कांग्रेस १५ औँ महाधिवेशन: एउटै क्लस्टरमा अमेरिकाबाट दुई ‘राम’ को भिडन्त
काठमाडौँ / नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति ओसियाना–अमेरिका क्षेत्र कोटाबाट केन्द्रीय सदस्यको एक पदका लागि अमेरिकाबाट नै दुई जनाको उम्मेदवारी परेको छ ।
नेपाली कांग्रेसले यस पटक देखि नेपाली जनसम्पर्क समितिबाट दुई महिला सहित सात जना केन्द्रीय सदस्य निर्वाचित हुन पाउने व्यवस्था गरेको छ ।
पुरुष तर्फको पाँच मध्ये ओसियाना- अमेरिका क्षेत्रबाट एक जना केन्द्रीय सदस्य निर्वाचित हुने छ । यो क्षेत्रमा अमेरिका, क्यानडा, अस्ट्रेलिया रहेका छन् ।
एक पदका लागि ६ जनाको उम्मेदवारी परेकोमा दुई जना राम कुमार मिश्र र रामजिबी पन्थ अमेरिकाबाट छन्। संयोग अमेरिकामा पनि यी दुई छिमेकी राज्यमा बस्छन् । नेपालमा नुवाकोटका मिश्र भर्जिनिया बस्छन् भने लामो समय जर्मनी बसेका तनहुँका पन्थ अहिले मेरिल्याण्डका बासिन्दा हुन् ।
मिश्रको प्रस्तावक टुक प्रसाद रेग्मी र समर्थक दिनदयाल भण्डारी छन् । यी दुवै अमेरिकाबाट महाधिवेशन प्रतिनिधि बनेका हुन् । भण्डारी न्यु योर्क च्याप्टर सभापति समेत हुन् ।
पन्थका प्रस्तावक उत्तम मिश्र र समर्थक अशोक पौडेल छन् ।
प्रवासको यस क्लस्टरबाट केन्द्रीय सदस्यका लागि यी दुई ‘राम’ बाहेक अन्य ४ जनाले पनि उम्मेदवारी दिएका छन् । त्यसो त अष्ट्रेलियबाट पनि एक पदमा तीन जनाले उम्मेदवारी दिएका छन् । जसमा कृष्ण गिरी (जगनाथ), कन्चन पोखरेल र अमृत वोस्ती छन् । यस्तै क्यानडाबाट विद्याभुषण कार्की पनि उम्मेदवार छन् ।
यसैबीच, नेपाली जनसम्पर्क समिति मध्यबाट महिला केन्द्रीय सदस्य पदका लागि पनि ६ जनाले उम्मेदवारी दिएका छन्।
उम्मेदवारी दिनेमा अमेरिकाबाट रबिना थापा, बेल्जियमबाट सीता सापकोटा (घिमिरे), मकाउबाट निर्मला थापा मगर, बेलायत डा. संगिता कार्की, क्यानडाबाट चन्द्रा अधिकारी र नन्दि कुमारी न्यौपाने रहेका छन्।
शुरुमा महिला तर्फ एक पदको मात्र व्यवस्था गरिएकोमा सोमबार मात्र दुई पद बनाइएको थियो ।

















