एन्फा पूर्व अध्यक्ष शेर्पाद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी
काठमाडौं / अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष एवं खेल क्षेत्रका चर्चित व्यक्तित्व कर्मा छिरिङ शेर्पाले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौँ क्षेत्र नं.४ चारबाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका शेर्पाले आदिवासी क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
विद्यार्थी जीवनदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय शेर्पाले पार्टीको विभिन्न तहमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्दै आएका छन् ।
नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्यसमेत रहेका शेर्पाले नेपाली कांग्रेसको इतिहास, संघर्ष र आदर्शलाई आत्मसात् गर्दै जनजाति, युवा पुस्ता र खेलकुद क्षेत्रको सम्मानजनक सहभागिता, अवसर र नेतृत्वलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनी २०१७ सालमा राजा महेन्द्रले कु गरेपछि पुनर्स्थापित नेपाल तरुण दलको कार्यालय सचिव तथा केन्द्रीय सदस्य पनि हुन् । दुई दशक लामो समयदेखि नेपाली फुटबलको विकासमा लागि परेका शेर्पा एन्फाका निवर्तमान अध्यक्ष र ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पाका अध्यक्षसमेत हुन् ।
जनजाति प्रतिनिधित्वदेखि खेलकुद सुधारसम्म शेर्पाको राजनीतिक यात्रा
आदिवासी जनजाति समुदायको राजनीतिक प्रतिनिधित्व र खेल क्षेत्रको संस्थागत विकासलाई आफ्नो सार्वजनिक भूमिकासँग जोड्दै आएका शेर्पा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय नेताका रूपमा चिनिन्छन् ।
बीपी कोइरालाको सिद्धान्तबाट प्रभावित भएर कांग्रेसमा सक्रिय भएको र पार्टीलाई बीपीको सिद्धान्तअनुसार अघि बढाउने एजेन्डासहित शेर्पाले आफूले उम्मेदवारी दिएको बताए ।
शेर्पाको उम्मेदवारीको महत्त्वपूर्ण पक्ष खेलकुदसँगै आदिवासी जनजातिको प्रतिनिधित्व पनि हो । जसले पार्टीको नीति निर्माण तहमा जनजाति समुदायको सहभागितालाई राजनीतिक पहिचानको एउटा आधारका रुपमा देखाउँछ ।
साथै शेर्पाको राजनीतिक परिचयको अर्को महत्त्वपूर्ण आधार भने खेल क्षेत्र, विशेषगरी फुटबल हो । एन्फाको नेतृत्वमा रहँदा उनले नेपाली फुटबललाई काठमाडौं केन्द्रित संरचनाबाट बाहिर लैजाने र जिल्ला तथा प्रदेश तहमा प्रशिक्षण तथा प्रतियोगिताका अवसर विस्तार गर्ने योजनालाई प्राथमिकता दिएका थिए ।
२०७५ मा एन्फा अध्यक्ष निर्वाचित भएपछि उनले ४५ जिल्लामा प्रशिक्षण केन्द्र तथा फुटबल गतिविधि विस्तारका लागि उल्लेख्य काम गरे । शेर्पाको योजनामा ग्रास रुट फुटबल विशेष प्राथमिकतामा थियो । फुटबल विकासलाई दिगो बनाउन क्लबलाई आर्थिक रूपमा सक्षम बनाउने विषय उनको अर्को सबल पक्ष हो ।
खेल क्षेत्रको संस्थागत सुधारमा पारदर्शिता र नियममा आधारित सञ्चालनलाई उनले जोड दिँदै आएका छन् । खेलकुदलाई केवल मनोरञ्जनको क्षेत्रका रूपमा नभई युवा सशक्तीकरण, रोजगारी सिर्जना र आर्थिक विकासको माध्यमका रूपमा विकास गरिनुपर्ने शेर्पाको बुझाइ छ ।
कांग्रेसको केन्द्रीय राजनीतिमा शेर्पाको उपस्थितिलाई जनजाति प्रतिनिधित्व र खेलकुद क्षेत्रका मुद्दाबिचको सेतुका रूपमा हेरिएको छ । एकातिर उनले कांग्रेसभित्र आदिवासी जनजातिबाट केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा गरेका छन् भने अर्कोतिर खेल क्षेत्रबाट प्राप्त अनुभवमार्फत युवा, प्रतिभा विकास, पूर्वाधार, संस्थागत पारदर्शिता र विकेन्द्रीकरणका मुद्दा उठाउँदै आएका छन् ।

















