ह्यारिसबर्गमा डिस्का होम्बु डोजोका जुनियर खेलाडीहरूको ग्रेडिङ सम्पन्न
ह्यारिसबर्ग, पेन्सिलभेनिया / ड्रुक इन्टरनेसनल सितोरियो कराते एसोसिएसन (डिस्का) अन्तर्गत ह्यारिसबर्गस्थित डिस्का होम्बु डोजोका जुनियर कराते खेलाडीहरूको ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ।
परम्परागत सितोरियो करातेको प्रशिक्षणसँगै प्राविधिक विकास, अनुशासन तथा करातेका मौलिक मूल्य–मान्यतालाई प्राथमिकतामा राख्दै डिस्का होम्बु डोजोले विभिन्न उमेर समूहका विद्यार्थीलाई नियमित प्रशिक्षण दिँदै आएको छ।
सेन्सेई याम बिष्ट, टेक नेपाल र निसान बिष्टको प्रशिक्षण तथा मार्गदर्शनमा सम्पन्न जुनियर ग्रेडिङमा विद्यार्थीहरूले आफ्नो तहअनुसार आधारभूत कराते प्रविधि, काता, कुमिते तथा अन्य आवश्यक सीपहरू प्रस्तुत गरेका थिए।
विद्यार्थीहरूको प्राविधिक क्षमता, शारीरिक तयारी, अनुशासन तथा नियमित अभ्यासको मूल्याङ्कनपछि निर्धारित मापदण्ड पूरा गर्ने विद्यार्थीहरूलाई आगामी बेल्ट तहमा पदोन्नति गरिएको थियो।

डिस्का प्रमुख प्रशिक्षक रन राईले ग्रेडिङलाई विद्यार्थीहरूको प्राविधिक प्रगतिको मूल्याङ्कनसँगै उनीहरूको अनुशासन, आत्मविश्वास र निरन्तर अभ्यासको संस्कार विकास गर्ने महत्त्वपूर्ण चरणका रूपमा लिइने बताए।
उनले बेल्टको तह बढ्नु मात्रै उपलब्धि नभई त्यससँगै विद्यार्थीको जिम्मेवारी, अनुशासन र करातेप्रतिको प्रतिबद्धता पनि बढ्दै जाने बताए।

राईले जुनियर खेलाडीहरूले प्रशिक्षणका क्रममा गरेको मेहनत र ग्रेडिङमा देखाएको प्रदर्शनप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा पनि नियमित अभ्यास र अनुशासनलाई निरन्तरता दिन आग्रह गरे। उनले अभिभावकहरूको सहयोग र प्रोत्साहनले बालबालिकालाई कराते प्रशिक्षणमा निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्ने बताए।
ग्रेडिङ विद्यार्थीका लागि केवल बेल्ट परिवर्तन गर्ने प्रक्रिया नभई उनीहरूले प्रशिक्षणका क्रममा हासिल गरेको सिकाइ, मेहनत, अनुशासन र प्राविधिक प्रगतिको मूल्याङ्कन गर्ने चरणका रूपमा लिइएको छ। यसले विद्यार्थीलाई आफ्नो वर्तमान स्तर बुझ्न र आगामी प्रशिक्षणका लागि थप लक्ष्य निर्धारण गर्न प्रेरित गर्ने डोजोले जनाएको छ।
पदोन्नति प्राप्त गर्ने सबै जुनियर खेलाडीलाई प्रशिक्षक तथा डिस्का परिवारले बधाई दिँदै आगामी प्रशिक्षणमा अझ लगनशील, अनुशासित र निरन्तर भएर अघि बढ्न शुभकामना व्यक्त गरेको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने अभिभावक, प्रशिक्षक, सल्लाहकार तथा शुभेच्छुकहरूप्रति डिस्का होम्बु डोजो ह्यारिसबर्गले आभार व्यक्त गरेको छ।


















