राष्ट्रसंघ महासभाबाट इरानलाई राष्ट्रपति ट्रम्पको धम्की, आफूले शान्ति कायम गरेको दाबी
न्यु योर्क / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै इरानसँगको युद्ध अन्त्य गर्न सम्झौताको सम्भावना रहेको बताउँदै असफल भए इरानलाई ‘ध्वस्त’ पार्ने चेतावनी दिएका छन्।
मंगलबार राष्ट्रसंघको महासभामा करिब ३८ मिनेट सम्बोधन गर्दै ट्रम्पले इरानसँगको युद्ध रोक्न कूटनीतिक समाधान खोज्ने वा इस्लामिक गणतन्त्रलाई नै समाप्त पार्ने विकल्प आफू सामु रहेको बताए।
उनले भने, “इरानसँग सम्झौता हुन्छ कि इस्लामिक गणतन्त्रलाई ध्वस्त पार्छु,मसँग ठूलो निर्णय गर्नुपर्नेछ।”
ट्रम्पले इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्नकै लागि अमेरिकाले युद्ध सुरु गरेको दाबी गरे। पछिल्ला महिनामा युद्ध अन्त्यका लागि भएका वार्ता सफल हुन नसकेको उल्लेख गर्दै उनले इरानी नेतृत्वले अमेरिकासँग सम्झौता गर्ने विश्वास पनि व्यक्त गरे।
उनले सम्झौता अमेरिकी मध्यावधि निर्वाचनपछि हुने दाबी गर्दै भने, “मलाई विश्वास छ, हामी सम्झौता गर्नेछौँ, निर्वाचनपछि तुरुन्तै।” ट्रम्पले इरानी नेतृत्वले मध्यावधि निर्वाचनको परिणाम पर्खिरहेको भए पनि आफू उम्मेदवार नभएको बताए।
ट्रम्पले अमेरिकासँग पर्याप्त मात्रामा हतियार र गोला बारुद रहेको दाबी गर्दै अमेरिकी सैन्य भण्डार घटेको रिपोर्टलाई अस्वीकार गरे।
उनले आफ्नो पहिलो दुई वर्षको दोस्रो कार्यकालमा अमेरिकी शक्ति प्रयोग गरेर लामो समयदेखि समाधान हुन नसकेका अन्तर्राष्ट्रिय समस्या समाधान गर्न आफू अघि बढेको बताए।
उनले विगतका अमेरिकी नेतृत्वले समस्या समाधान गर्न नसकेको दाबी गर्दै आफूले भने “कुरा मात्र नगरेर काम गरेको” बताए। ट्रम्पले इरानबाहेक गाजाको युद्ध, रुस–युक्रेन युद्ध तथा अन्य अन्तर्राष्ट्रिय द्वन्द्वमा पनि अमेरिकी भूमिका प्रस्तुत गरे।
उनले अमेरिकी शक्तिबारे बोल्दै “अरूले शान्तिको कुरा गरे, मैले शान्ति कायम गरेको छु” भन्ने दाबी गरे।
ट्रम्पले पश्चिमी गोलार्धमा अमेरिकी प्रभावबारे चर्चा गर्दै भेनेजुएलामा अमेरिकी हस्तक्षेप र त्यहाँबाट तेल खरिदसम्बन्धी विषयलाई पनि सम्बोधन गरे। उनले अमेरिकी राष्ट्रिय हितको रक्षा गर्न आवश्यक परे अमेरिकी सैन्य शक्ति प्रयोग गर्ने बताए।
ग्रिनल्यान्ड र डेनमार्कसँग भएको भनिएको नयाँ सुरक्षा सम्झौताको पनि उनले उल्लेख गरे। ट्रम्पका अनुसार अमेरिकाले ग्रिनल्यान्डमा दुईवटा ‘ठूला’ सैन्य आधार निर्माण गर्नेछ।
सम्बोधनको अर्को भागमा ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकास रोक्न नहुने बताए। उनले एआईलाई ‘सुपरइन्टेलिजेन्स’ भनेर पुनः ब्रान्ड गर्ने सम्भावना समेत उल्लेख गरे।
एआईले विश्वव्यापी जोखिम ल्याउने चेतावनी दिनेहरूप्रति आलोचनात्मक धारणा राख्दै उनले औद्योगिक क्रान्तिभन्दा पनि ठूलो प्रविधिका रूपमा एआईको विकास हुन सक्ने बताए। अमेरिकाले यसको नेतृत्व ‘सुरक्षित र जिम्मेवार’ ढंगले जारी राख्ने उनको भनाइ थियो।














