डुंगामार्फत अवैध रुपमा अमेरिका प्रवेस गर्न खोज्ने १३ चिनिया सहित २३ जना पक्राउ
मियामी / अवैध रुपमा अमेरिका प्रवेस गर्न खोजेका १३ चिनिया सहित २३ जना सिमानामा पक्राउ परेका छन् ।
अमेरिकन कस्टम्स एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी) को एयर एन्ड मरिन अपरेसन्स र अमेरिकी कोस्ट गार्डले फ्लोरिडाको एन्जलफिस क्रिक नजिकै समुद्रमा शङ्कास्पद डुंगा चेकजाँच गर्दा मानव तस्करीमा प्रयोग भएको डुंगा सहितका व्यक्तिहरू पक्राउ परेको जनाइएको छ ।
सीबीपीका अनुसार सेप्टेम्बर १५ तारिकमा अपरेसन भिजिलेन्ट सेन्ट्री अन्तर्गत गस्ती गरिरहेको विमानले फ्लोरिडा तटबाट केही दूरीमा शङ्कास्पद सतह लक्ष्य पहिचान गरेको थियो। त्यसपछि मियामी र की कार्गो मरीन युनिटका अधिकारीहरूले अमेरिकी कोस्ट गार्डसँग समन्वय गरी २७ फिट लामो कड्डी क्याबिन डुंगा नियन्त्रणमा लिएका थिए।
कारबाहीका क्रममा एक जना शङ्कास्पद मानव तस्कर र २२ जना आप्रवासी पक्राउ परेका छन्। शङ्कास्पद तस्कर क्युबाली नागरिक रहेको सिबिपीले जनाएको छ। पक्राउ परेका आप्रवासीमध्ये इक्वेडरका ८, चीनका १३ र डोमिनिकन रिपब्लिकका १ जना छन्।
पक्राउ परेकाहरूलाई थप प्रक्रियाका लागि अमेरिकी कोस्ट गार्डको कटर पाब्लो भालेन्टमा स्थानान्तरण गरिएको छ। प्रयोग गरिएको डुंगा पनि अधिकारीहरूले नियन्त्रणमा लिएका छन्।
सिबिपी दक्षिण पूर्व क्षेत्रका कार्यकारी निर्देशक एन्ड्रेस ब्लान्कोले समुद्री मार्गबाट गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने प्रयास अत्यन्त जोखिमपूर्ण रहेको बताएका छन्। उनका अनुसार यस घटनाले मानव तस्करी रोक्न समुद्री सुरक्षा निकायबिचको समन्वयलाई देखाएको छ।
कोस्ट गार्डका पाब्लो भालेन्टका कमान्डिङ अफिसर लेफ्टिनेन्ट कोरिन उलरिचले समुद्री क्षेत्रमा जीवन बचाउने तथा संघीय कानुन कार्यान्वयन गर्ने कार्यका लागि टोली तयार रहेको बताएका छन्।














