ह्यारिसबर्गमा ओएचआरसी युथ फोरमले ‘युवा वक्तृत्वकला प्रतियोगिता’ गर्ने
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / हिन्दू धर्म तथा सांस्कृतिक संगठन (ओएचआरसी ) अन्तर्गतको युथ फोरमले ह्यारिसबर्गमा सामुदायिक युवा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ।
युवाहरूको आवाज, वक्तृत्वकला, सञ्चार सीप, रचनात्मकता तथा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जनाइएको छ । प्रतियोगितामा सहभागी हुन चाहने युवाहरूले आफ्नो भाषणको मस्यौदा अक्टोबर १५, २०२६ सम्ममा आयोजकलाई पठाउनुपर्नेछ।
प्राप्त भाषणहरूको विशेषज्ञहरूको टोलीले समीक्षा गर्नेछ। टोलीले आवश्यक सुझाव तथा प्रतिक्रिया प्रदान गर्नुका साथै अन्तिम प्रतियोगिताका लागि योग्य भाषणहरू छनोट गर्नेछ।
प्रतियोगिताको अन्तिम चरण शनिबार, नोभेम्बर २१, २०२६ मा श्रीलक्ष्मीनारायण हरिहर धाम परिसरमा हुने छ ।
आयोजकका अनुसार प्रतियोगितामा नेपाली भाषामा प्रस्तुत गरिने भाषणलाई प्राथमिकता दिइनेछ। यद्यपि, अंग्रेजी भाषामा प्रस्तुत गरिने भाषणलाई पनि सहभागी हुन स्वागत गरिने जनाएको छ।
प्रतियोगिताको उद्देश्य युवाहरूलाई आफ्नो विचार र प्रतिभा सार्वजनिक रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरूको सञ्चार तथा सार्वजनिक वक्तृत्व क्षमता विकास, आत्मविश्वास अभिवृद्धि, युवा नेतृत्व र सामुदायिक सहभागितालाई प्रोत्साहन गर्नु रहेको युथ फोरमले जनाएको छ।
ओएचआरसी युथ फोरमले प्रतियोगिताको अन्तिम चरणमा समुदायका सदस्यहरूलाई उपस्थित भएर युवा सहभागीहरूको हौसला बढाउन तथा उनीहरूको प्रतिभा र सिर्जनात्मकतालाई प्रोत्साहन गर्न आग्रह गरेको छ।
भाषणको मस्यौदा contact@ohrc.us मा पठाउन सकिने आयोजकले जनाएको छ।














