ओहायोका चिकित्सकको स्वरमा प्रेमको कथा : ‘तिमी नबोल्दा’
सहयात्री ढकाल
कोलम्बस ओहायो / बिरामीको उपचारमा व्यस्त रहने चिकित्सक डा. निपेन कटेलको अर्को परिचय पनि छ—सङ्गीतप्रतिको गहिरो लगाव। यही लगावलाई निरन्तरता दिँदै उनले प्रेम, आत्मीयता र मनभित्र गुम्सिएका अव्यक्त भावनालाई स्वर दिएका छन्।
नको नयाँ पप गीत ‘तिमी नबोल्दा’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।
डा. कटेलकै शब्द, सङ्गीत र स्वर रहेको गीतको सङ्गीत संयोजन तथा निर्माण सुवास सेन्चुरीले गरेका हुन्। गीत कोलम्बसस्थित एसएम स्टुडियोमा रेकर्ड गरिएको हो।
लक्ष्मण अधिकारीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा डा. कटेल र नवकलाकार वर्षा घिमिरेको अभिनय छ। राम अधिकारीले छायाङ्कन तथा सम्पादन गरेको भिडियोका दृश्यहरू कोलम्बस र आसपासका रमणीय स्थानमा खिचिएका छन्।
कोलम्बस नजिकै ब्ल्याकलिकमा बसोबास गर्ने डा. कटेल न्यु अल्बानीस्थित माउन्ट कार्मेल क्लिनिकमा प्राइमरी केयर चिकित्सकका रूपमा कार्यरत छन्।

चिकित्सा पेसासँगै सङ्गीतलाई निरन्तरता दिँदै आएका उनले यसअघि ‘माया देऊ मलाई’ र ‘मेरो हात समाऊ’ सार्वजनिक गरिसकेका छन्।

सन् २०१६ देखि गायनमा सक्रिय डा. कटेलले आगामी दिनमा पनि नयाँ साङ्गीतिक सिर्जना श्रोता–दर्शकमाझ ल्याउने बताएका छन्। “गीत–सङ्गीतप्रतिको मेरो रुचि पुरानै हो। अब यस यात्रालाई निरन्तरता दिँदै नयाँ सिर्जनाहरू श्रोता–दर्शकमाझ ल्याउनेछु,” उनले भने।















