नेपाललाई दुख्दा संसारभरका नेपालीभाषी भूटानी एकजुट, बाढीपीडितका लागि सवा लाख डलर संकलन
आफैँ विस्थापनको पीडा भोगेको समुदायले नेपालको दुःखमा जोड्यो मानवताको हात
कोलम्बस,ओहायो/ नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि संसारभर छरिएर रहेका नेपाली भाषी भूटानी समुदाय एकजुट भएका छन्।
विभिन्न सामाजिक, धार्मिक, सांस्कृतिक तथा सामुदायिक संस्थाको संयुक्त पहलमा सञ्चालित ‘नेपाल फ्लड रिलिफ फन्डरेजर २०२६’ मार्फत १ लाख १४ हजार ८७७ अमेरिकी डलर संकलन भएको छ।
‘एउटै समुदाय, एउटै आवाज, एउटै साझा प्रयास’ भन्ने भावनासहित सञ्चालन गरिएको अभियानमा अमेरिकाका विभिन्न राज्यसँगै विश्वका अन्य देशमा रहेका नेपाली भाषी भूटानी समुदायका प्रतिनिधि तथा संस्थाहरू सहभागी भएका थिए।
अभियानबाट संकलित रकम नेपालका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोझै पठाइने जनाइएको छ ।
गोफन्डमीमार्फत सञ्चालन गरिएको उक्त अभियान भूटानीज कम्युनिटी अफ सेन्ट्रल ओहायो (बीसीसीओ) ले व्यवस्थापन गरेको थियो।
ग्लोबल भूटनीज हिन्दु अर्गनाइजेशनका संस्थापक तथा अध्यक्ष कमल धिमालले भूटानी–नेपाली समुदायले आफ्नै विस्थापनको इतिहास र पीडा बोकेका कारण नेपालमा विपत्ति पर्दा त्यसलाई आफ्नै पीडासँग जोडेर हेरेको बताए।
धिमालका अनुसार वर्षौँसम्म शरणार्थी जीवन बिताएर संसारका विभिन्न देशमा पुनर्स्थापित भएका भूटानी–नेपाली समुदायका लागि नेपालमा आएको बाढी केवल अर्को देशमा भएको प्राकृतिक विपत्ति थिएन। घरबार गुमाएका परिवार, आफन्त गुमाएका मानिस र जीवनभरको कमाइ बाढीले बगाएको खबरले आफूहरूले विगतमा भोगेको विस्थापनको पीडा सम्झाएको उनले बताए।
‘हामीले घर गुमाउनुको पीडा बुझेका छौँ, त्यसैले अरूको घर बग्दा हामी मौन बस्न सकेनौँ,’ धिमालले भने।
उनले संकलित रकमलाई कुनै एक संस्था वा व्यक्तिको उपलब्धिभन्दा पनि संसारभर छरिएर रहेका भूटानी–नेपाली समुदायको साझा मानवीय प्रयासका रूपमा लिनुपर्ने बताए। विपत्तिका बेला मानवीय सहयोगका लागि सीमा, देश र दूरीले समुदायलाई रोक्न नसक्ने उनको भनाइ थियो।
अभियानमा सहभागीहरूले आर्थिक सहयोग गर्नुका साथै राहत अभियानको सन्देश फैलाउने, परिवार तथा साथीहरूलाई जोड्ने र स्वयंसेवी रूपमा काम गर्ने गरेका थिए। आयोजकहरूले सहयोग गर्ने सम्पूर्ण दाता, सहभागी संस्था, प्रतिनिधि, स्वयंसेवक, समर्थक तथा शुभचिन्तकप्रति आभार व्यक्त गरेका छन्।
अभियानमा भूटानीज कम्युनिटी अफ सेन्ट्रल ओहायो, ग्लोबल भूटनीज लिटरेरी अर्गनाइजेशन, जीबीएचओ–ओम सेन्टर दिव्यधाम, श्री वैष्णव परिषद् अमेरिका, साहित्य परिषद् भूटान, पीस इनिसिएटिभ भूटान, अन्तर्राष्ट्रिय निम्बार्क आध्यात्मिक परिषद् अमेरिका, हिमालयन फाउन्डेसन यूएसए र भूटानीज कम्युनिटी अफ रोआनोके जोडिएका थिए ।
यस्तै भूटानीज कम्युनिटी अफ सिनसिनाटी, भूटानीज कम्युनिटी एसोसिएसन अफ पिट्सबर्ग, हिन्दु रिसोर्स सेन्टर–सिनसिनाटी, भूटानीज अमेरिकन हिन्दु सोसाइटी–केन्टकी, हिन्दु विश्वकर्मा कम्युनिटी अफ यूएसए, गुरुङ सोसाइटी अफ सेन्ट्रल ओहायो, श्रीकृष्ण मन्दिर पिट्सबर्ग, युनाइटेड चर्चेस अफ सेन्ट्रल ओहायो, ग्लोबल पिपल एलायन्स, ग्लोबल भूटनीज कम्युनिटी कोलोराडो, भूटानीज अमेरिकन सकर एसोसिएसन, भूटानीज कम्युनिटी अफ क्यालिफोर्निया, भूटानीज कम्युनिटी इन द नेदरल्यान्ड्सलगायत संस्थाका प्रतिनिधि सहभागी थिए।
नेपाली भाषी भूटानी समुदायका लागि यो अभियान आर्थिक सहयोगभन्दा पनि विस्थापनको पीडा भोगेको समुदायले अर्को विपत्तिमा परेका परिवारप्रति देखाएको मानवीय ऐक्यबद्धताको उदाहरण बनेको आयोजकहरूको भनाइ छ।
‘नेपालका बाढीपीडित परिवारलाई अभियानमार्फत दिइएको सन्देश पनि स्पष्ट छ।’ धिमालले भने ‘दूरीले भौगोलिक रूपमा टाढा बनाए पनि दुःखको समयमा संसारभरका भूटानी–नेपाली समुदाय नेपालसँगै छन्।’















