नेपालमा बाढीको प्रभाव न्यूयोर्कमा पनि नाबिस २०२६ को समय सारियो
न्यूयोर्क / नेपालमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण नेपाली अमेरिकन बिजनेस एन्ड इन्भेस्टमेन्ट समिट (नाबिस) २०२६ को मिति सारिएको छ। यसअघि सेप्टेम्बर २५–२७ का लागि तय गरिएको तीनदिने समिट अब नोभेम्बर २०–२२, २०२६ मा आयोजना हुने भएको छ।
आयोजक ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्स (जीएनवाईएनसीसी) का अनुसार कार्यक्रम यसअघि तय गरिएको म्यारियट न्यूयोर्क जेएफके एयरपोर्ट, न्यूयोर्क मै हुनेछ।
चेम्बरले नेपालमा आएको विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाएको छ।
पछिल्ला केही दिनयता अमेरिका तथा विश्वभर रहेका नेपाली समुदायको ध्यान राहत, उद्धार तथा प्रभावित परिवारलाई सहयोग गर्ने कार्यमा केन्द्रित भएको जनाउँदै चेम्बरले नेतृत्व, वाणिज्य दूतावास तथा प्रमुख सरोकारवालासँगको छलफलपछि समिटको मिति सार्ने निर्णय गरिएको जनाएको छ।
ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रदीप श्रेष्ठले कठिन परिस्थितिप्रति आवश्यक जिम्मेवारी निभाउन समय मिल्ने भएकाले कार्यक्रमको मिति सारिएको जनाकारी दिए ।
“अहिले हाम्रो समुदायको ध्यान स्वाभाविक रूपमा नेपाल र यस विपद्बाट प्रभावित परिवार तथा समुदायतर्फ केन्द्रित छ। नाबिसलाई नोभेम्बरमा सार्दा हामीलाई यस कठिन परिस्थितिप्रति आवश्यक जिम्मेवारी निभाउन समय मिल्नेछ।” श्रेष्ठले भने, “हामीले सुरु गरेको कामलाई निरन्तरता दिँदै नोभेम्बरमा अझ व्यापक सहभागिता, ध्यान र उद्देश्यका साथ सबैलाई एकत्रित गर्न सक्नेछौं।”
कार्यक्रमको संरचना यथावत, मिति मात्र परिवर्तन
चेम्बरका अनुसार नाबिस २०२६ को तीनदिने कार्यक्रम संरचना र यसअघि सेप्टेम्बर २५–२७ का लागि तय गरिएको कार्यक्रम तालिका यथावत रहनेछ। केवल कार्यक्रमको मिति नोभेम्बर २०–२२ मा सारिएको हो।
समिटअन्तर्गतको स्टार्टअप शोकेस, व्यापार तथा लगानीसम्बन्धी छलफल, प्यानल सत्र, नेटवर्किङ, व्यावसायिक भेटघाट तथा अन्य निर्धारित कार्यक्रमहरू पूर्वयोजनाअनुसार नै सञ्चालन हुनेछन्।
नाबिस २०२६ मा उद्यमी, लगानीकर्ता, व्यवसायी, नीतिनिर्माता, वित्तीय संस्था, पेसाकर्मी, सरकारी प्रतिनिधि, स्टार्टअप तथा नेपाली डायस्पोराका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
समिटको उद्देश्य नेपाल र संयुक्त राज्य अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता तथा आर्थिक सहकार्यलाई थप सुदृढ बनाउनु रहेको चेम्बरले जनाएको छ।
मिति परिवर्तनबाट प्राप्त अतिरिक्त समयलाई साझेदारी, व्यावसायिक सम्बन्ध, लगानीका अवसर तथा नेपाल–अमेरिका आर्थिक सहकार्यलाई अझ प्रभावकारी बनाउन प्रयोग गरिने चेम्बरले जनाएको छ।
यसअघि गरिएका सबै दर्ता मान्य
नाबिस २०२६ का लागि यसअघि गरिएका सबै दर्ता नोभेम्बर २०–२२, २०२६ का लागि स्वतः मान्य रहनेछन्। दर्ता गरिसकेका सहभागीहरूले पुनः दर्ता गर्नुपर्ने छैन।
नयाँ मितिमा सहभागी हुन नसक्ने व्यक्तिहरूले nynepalichamber@gmail.com मा सम्पर्क गरी दर्ता शुल्क फिर्ताका लागि अनुरोध गर्न सक्नेछन्।
सेप्टेम्बरको मितिलाई आधार बनाएर सहभागी, वक्ता, साझेदार, प्रायोजक तथा अतिथिहरूले यात्रा तथा अन्य व्यवस्थापन गरिसकेको हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै चेम्बरले मिति परिवर्तनका कारण पर्न सक्ने असुविधाप्रति क्षमायाचना गरेको छ।
ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सले नाबिस २०२६ र यसको मूल उद्देश्य “कनेक्टिङ क्यापिटल, आइडियाज एन्ड अपरच्युनिटिज” प्रति आफ्नो प्रतिबद्धता यथावत रहेको जनाएको छ।














