ओहायोमा अनलाइन विज्ञापनको भर परी यौन सम्पर्कको डिल गर्दा अर्बपति खेल मालिक प्रहरीको फन्दामा
इस्ट प्यालेस्टाइन, ओहायो/ ओहायो राज्यमा अनलाइन विज्ञापनको भर परी यौन सम्पर्कको डिल गर्दा एक जना अर्बपति खेल मालिक प्रहरीको फन्दामा परेका छन् ।
ओहायोमा अनलाइनमा यौन सम्पर्कको सम्झौता गर्नु वा पैसाको प्रलोभन देखाएर यौन सम्पर्क गर्नु गैरकानुनी हो। अमेरिकामा यस्ता गतिविधिमा संलग्न हुनेहरूलाई पक्राउ गर्न प्रहरीले कडा गुप्तचर जाल बिछ्याउने गर्दछ।
गत हप्ता प्रहरीको सोही जालमा एक जना खेल मालिक परेका छन्। स्थानीय सञ्चार माध्यमका अनुसार २३ अगस्ट आइतबार बिहान ९:३५ बजे ओहायोको कोलम्बियाना काउन्टी अन्तर्गत पर्ने ‘इस्ट प्यालेस्टाइन’ को ‘ह्विट हिल मोबाइल होम कम्युनिटी’ बाट एक प्रख्यात अर्बपति व्यवसायीलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्ति अमेरिकाको प्रसिद्ध राष्ट्रिय फुटबल लिग (एनएफएल ) टोली ‘सन फ्रान्सिस्को ४९इयर्स’ का मालिक तथा मुख्य कार्यकारी अधिकृत जेड योर्क हुन्।
४६ वर्षीय योर्क सन् २००८ देखि सो टोलीको प्रमुख रहँदै आएका छन् र उनी मूल रूपमा ओहायोकै योङ्गस्टाउन सहरका बासिन्दा हुन्। उनको नेतृत्वमा उनको टोली तीन पटक ‘सुपर बाउल’ को फाइनल खेलसम्म पुगिसकेको छ।
प्रहरीको फन्दामा कसरी परे?
‘माहोनिङ भ्याली ह्युमन ट्राफिकिङ टास्क फोर्स’ का गुप्तचर प्रहरीहरूले वेश्यावृत्तिका लागि चिनिने एउटा वेबसाइटमा ग्राहकहरू समात्न नक्कली विज्ञापन राखेका थिए।
जेड योर्कले सोही विज्ञापनलाई वास्तविक ठानी आफ्नो मोबाइल फोन प्रयोग गरेर एक महिलासँग १ घण्टाको यौन सेवाका लागि १४० डलर तिर्ने सम्झौता गरे।
जब उनी पैसा बोकेर कुराकानी गर्न प्रयोग गरिएको मोबाइल फोनसहित तय गरिएको ठाउँमा आइपुगे, त्यहाँ लुकेर बसेका इस्ट प्यालेस्टाइन प्रहरीका अधिकारीहरूले उनलाई तुरुन्तै हिरासतमा लिए।
के भयो कानुनी सजाय?
अदालतको रेकर्ड अनुसार, सुरुमा उनलाई वेश्यावृत्तिमा संलग्न हुन खोजेको र अपराधका लागि साधन (मोबाइल) प्रयोग गरेको दुष्कर्मको आरोप लगाइएको थियो। तर सोमबार अदालतमा सरकारी वकिलसँग भएको सम्झौता अन्तर्गत उनले ‘नो कन्टेस्ट’ (आरोपको प्रतिवाद नगर्ने तर सजाय भोग्ने) बाटो रोजे।
अदालतले उनको वेश्यावृत्तिको आरोपलाई घटाएर ‘शान्ति भङ्ग गरेको’ सामान्य आरोपमा बदल्यो। यसबापत उनले कुल १,१५० डलर जरिवाना तिर्नुपर्यो, जसमा शान्ति भङ्ग गरेकोमा १५० डलर र मोबाइल फोन प्रयोग गरेकोमा १,००० डलर रहेको छ।
उनलाई दुवै आरोपमा एक-एक दिनको जेल सजाय पनि सुनाइएको थियो, जुन उनले पक्राउ पर्दा हिरासतमा बिताइसकेको हुनाले कट्टा गरियो।
यसै बीच प्रहरीले बुधवार जेड योर्क पक्राउ गरेको भिडियो सार्वजनिक गरेको छ ।
अमेरिकी कानुनको ‘सार्वजनिक अभिलेख ऐन’ अनुसार अमेरिकामा मुद्दा चलुन्जेल अनुसन्धानका प्रमाणहरू प्रहरीले गोप्य राख्न सक्छ, तर मुद्दाको अन्तिम फैसला भएपछि ती प्रमाणहरू कानुनी रूपमा सार्वजनिक रेकर्ड बन्दछन्।
जेड योर्कका वकिलहरूले यो भिडियो र अदालतका कागजातहरू सार्वजनिक हुन नदिन अदालतमा विशेष निवेदन दिएका तर ओहायो अदालतका न्यायाधीशले उक्त निवेदनलाई अस्वीकार गरिदिएको जनाइएको छ।
न्यायाधीशले निवेदन अस्वीकार गरे लगत्तै अमेरिकाका ठुला सञ्चार माध्यमहरूले सूचनाको हक सम्बन्धी कानुन प्रयोग गर्दै इस्ट प्यालेस्टाइन प्रहरीसँग आधिकारिक रूपमा भिडियो माग गरेका थिए ।














