‘एलिस गुओ’ को गुप्त रुप र `बिरानो´ बन्दै गएका आफन्त !
सुरेश सुवेदी
फिलिपिन्समा पूर्वमेयर एलिस गुओ (चिनियाँ नागरिक लिन पिङआन) को रहस्यमय जासुसी कथाले यतिबेला विश्वलाई झस्काएको छ। एउटा विदेशी नागरिकले नक्कली पहिचानका भरमा अर्कै देशको राजनीति र सत्ता कब्जा गर्न सक्छ भन्ने कुरा यो घटनाले प्रमाणित गरेकाे छ । नेपाल जस्तो कमजोर सुरक्षा व्यवस्था र खुल्ला सिमाना भएको देशका लागि यो झन् ठूलो चुनाैति हो।
एलिस गुओकाे प्रतिछायाँ नेपालमा पनि नहाेला भन्न सकिदैन । यही बेला हाम्रो देशमा एउटा गम्भीर विरोधाभास देखिएको छ। एकातिर नक्कली कागजपत्र बनाएर विदेशीहरू नेपाल भित्रिने र शक्तिशाली बन्ने खतरा छ, भने अर्कोतिर वास्तविक नेपाली `रगत र तागत´ भएका गैर आवासीय नेपाली (एनआरएनए) हरू भने आफ्नै मातृभूमिमा बिस्तारै ‘बिरानो’ बन्दै गइरहेका छन्।
विदेशीलाई रातो कार्पेट, आफ्नालाई राताे कार्ड ?
नेपालमा पैसा र राजनीतिक पहुँच हुने हो भने विदेशीले पनि नक्कली नागरिकता र पासपोर्ट सजिलै पाउने गरेका दर्जनौँ उदाहरण छन्। तर, यही माटोमा जन्मे-हुर्केर परिस्थितिवश विदेशिएका लाखौँ नेपालीहरू जब आफ्नो ज्ञान, सीप र पुँजी लिएर देश फर्कन खोज्छन्, उनीहरूले ‘विदेशी’ जस्तै व्यवहार भोग्नुपर्छ।
संविधानले गैर आवासीय नेपाली नागरिकता त दियो, तर त्यसले पूर्ण अधिकार दिएन। नेपालमा सम्पत्ति किन्न, लगानी फिर्ता लैजान र प्रशासनिक काम गर्न एनआरएनहरूले पाइला-पाइलामा कानुनी झमेला बेहोर्नुपर्छ। परिणामस्वरूप, उनीहरू देशप्रति निराश हुँदै गइरहेका छन्।
पुस्तान्तरणको खाडल: हराउँदैछ नेपालीपन
विदेशमा पसिना बगाएर एनआरएनको पहिलो पुस्ताले पठाएको रेमिट्यान्सले नेपालको अर्थतन्त्र धानेको छ। देशलाई दुःख पर्दा सबैभन्दा पहिले सहयोगको हात फैलाउने पनि यिनै हुन्।तर, अब विदेशमै जन्मिएका दोस्रो र तेस्रो पुस्ताका नेपाली युवाहरू हुर्कँदैछन्। उनीहरूका लागि नेपाल केवल ‘हजुरबुबाको देश’ वा एउटा ‘घुम्ने ठाउँ’ मात्र बन्दैछ। जब उनीहरूले आफ्ना आमाबुबालाई नागरिकता र सम्पत्तिको हकका लागि नेपालका सरकारी अड्डामा हण्डर खाएको देख्छन्, तब उनीहरूको मनमा नेपालप्रतिको मोह र आत्मीयता भङ्ग हुन थाल्छ।
बौद्धिक र आर्थिक पलायनको घाटा
देशभित्रका डाक्टर, इन्जिनियर, वैज्ञानिक र उद्यमीहरू अवसरको खोजीमा लगातार बाहिरिइरहेका छन्। यसरी बाहिरिएको ‘नेपाली तागत’ लाई देश विकासमा जोड्ने कुनै स्पष्ट नीति राज्यसँग छैन। नीतिगत अस्थिरता र प्रशासनिक भ्रष्टाचारका कारण एनआरएनहरू नेपालमा अर्बौँ लगानी गर्न डराइरहेका छन् र आफ्नो पुँजी अन्य देशमै सुरक्षित गरिरहेका छन्।
निष्कर्ष
एलिस गुओको घटनाबाट नेपालले सिक्नुपर्ने पाठ के हो भने– “विदेशी घुसपैठलाई कडा रूपमा रोक, तर आफ्नै रगतलाई चाहिँ ढोका बन्द नगर।”यदि नेपालले आफ्नो ‘नेपाली तागत’ लाई बिरानो हुनबाट जोगाउने हो भने एनआरएनहरूका लागि लगानीमैत्री वातावरण बनाउनुपर्छ र कानुनी रूपमै ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने भावनालाई बलियो बनाउनुपर्छ।
अन्यथा, भविष्यमा नेपाल यस्तो बन्नेछ, जहाँ विदेशी एजेन्टहरूले राज गर्नेछन् अनि नेपाली रगत भने विदेशी भूमिमा आफ्नो पहिचानका लागि तड्किनेछ ।













