लोकप्रिय ब्याण्ड कन्दरा अगस्ट १५ मा न्यू योर्कमा गुन्जिने
न्यू योर्क । आफ्नो उत्तर अमेरिका टुरअन्तर्गत नेपाली साङ्गीतिक क्षेत्रको चर्चित ब्याण्ड कन्दराले यसै महिना अगस्ट १५ मा पहिलो पटक न्यू योर्कमा प्रस्तुति दिने भएको छ।। चाँदनी क्रियशन्स न्यू योर्क र इसेन्स स्माइलको संयुक्त आयोजनामा न्यू योर्कस्थित मेलरोज बलरुममा ‘कन्दरा लाइभ इन न्यू योर्क’ आयोजना हुने भएको हो।
आयोजकले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिएका हुन्। इसेन्स स्माइलकी प्रोप्राइटर तथा आयोजक डा. सुलोचना गुरुङले तीन दशकभन्दा बढी समयदेखि नेपाली संगीतलाई समृद्ध बनाउँदै आएको कन्दरालाई पहिलो पटक न्यू योर्कमा प्रस्तुत गर्न पाउँदा गर्व लागेको बताइन्।
चाँदनी क्रियशन्सकी प्रोप्राइटर तथा अर्की आयोजक चाँदनी लामाले कन्दराको न्यू योर्कमा पहिलो प्रस्तुति भएकाले यो नेपाली संगीतप्रेमीका लागि विशेष अवसर हुने विश्वास व्यक्त गरिन्।
दुई युवा महिला उद्यमीले आयोजना गर्न लागेको यस कन्सर्टलाई सबैको साथ र सहयोग प्राप्त हुने विश्वास आयोजकको छ। कन्सर्टबाट संकलित रकमको केही हिस्सा नेपालमा परोपकारी कार्यका लागि खर्च गरिने पनि आयोजकले जानकारी दिएका छन्।
सन् १९९२ मा स्थापना भएको कन्दरा नेपाली संगीतको चर्चित ब्याण्डमध्ये एक हो। ‘हिउँ त हैन’, ‘हङकङ पोखरा’, ‘लेककी हे माया’, ‘तगारोमा रुमाल राखी’ लगायतका दर्जनौँ लोकप्रिय गीतमार्फत कन्दराले नेपाली संगीतमा विशिष्ट पहिचान बनाएको छ।
आयोजक डा. गुरुङका अनुसार यस पटकको प्रस्तुति ‘रिदम अफ चेन्ज’ भन्ने अवधारणामा आधारित हुनेछ। नेपाली गीत–संगीत मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक, सांस्कृतिक तथा आर्थिक रूपान्तरणको संवाहक पनि बन्न सक्छ भन्ने सन्देशसहित कन्दराले विभिन्न देशमा यही अवधारणाअनुसार प्रस्तुति दिँदै आएको छ।
युवा पुस्तादेखि वयस्कसम्म उत्तिकै लोकप्रिय कन्दराले बेलायत, अष्ट्रेलियालगायत विभिन्न मुलुकमा सफल साङ्गीतिक प्रस्तुति दिइसकेको छ। ब्याण्डका प्रमुख गायक विवेक श्रेष्ठ हुन्। टुरका क्रममा ब्याण्ड म्यानेजर र टुर म्यानेजरसहित आठ सदस्यीय टोली न्यू योर्क आउनेछ।
आयोजकका अनुसार कन्दराले आफ्ना प्रस्तुति मार्फत नेपाली मौलिक गीत–संगीतबारे नयाँ पुस्तालाई जानकारी गराउँदै उनीहरूलाई नेपाली संगीतसँग जोड्ने प्रयास गर्दै आएको छ।
कार्यक्रमको सुरुआत गायक सुमित श्रेष्ठको प्रस्तुतिबाट हुनेछ भने राति ११ बजेदेखि कन्दराको मुख्य प्रस्तुति सुरु हुनेछ। दर्शकका लागि साँझ ८:३० बजेदेखि हलको प्रवेशद्वार खुला गरिनेछ।
कन्सर्टका टिकट अनलाइन तथा फिजिकल दुवै माध्यमबाट उपलब्ध छन्। साधारण टिकटको मूल्य ७५ अमेरिकी डलर र भिआइपी टिकटको मूल्य १५० अमेरिकी डलर निर्धारण गरिएको आयोजकले जनाएको छ।
आयोजक डा. सुलोचना गुरुङ यसअघि नेपथ्यको कन्सर्ट आयोजना गरिसकेकी छन्। त्यसैगरी चाँदनी लामाले मंगोलियन हार्टका राजु लामा तथा मन्त्र ब्याण्डका कन्सर्ट सफलतापूर्वक आयोजना गरिसकेकी छन्।
कन्दराको उत्तर अमेरिका भ्रमण टिलिभ्स इन्क र विशिष्ठा इन्टरनेशनलले आयोजना गरेको हो।














