यता कि उता ? को विमोचन
कृष्णराज खनाल
कवि शरद पराशर मरहट्टाको कविता संग्रह ‘यता कि उता ?’ को आइतबार यहाँ विमोचन गरिएको छ ।
सो कविता संग्रहको मदन पुरस्कार विजेता साहित्यकार डा. नीलम कार्की निहारिका, नर्थ क्यारोलाइना नेपाली साहित्य समाजकी अध्यक्ष गीता बस्नेत र कवि पत्नी कमला मरहट्ठाले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
कार्यक्रम नर्थ क्यारोलाइना नेपाली साहित्य समाजले आयोजना गरेको थियो ।
पुस्तक विमोचनपछि मन्तव्य दिँदै कार्यक्रमकी प्रमुख अतिथि निहारिकाले प्रवासी नेपाली साहित्यमा ‘यता कि उता ?’ ले आफूले समेत नदेखेको पाटो कवि मरहट्ठाले देखाइदिएकोले आफू निकै खुसी भएको बताइन् । उनले प्रवासी साहित्यकारहरूले नेपाली साहित्यको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएको पनि उल्लेख गरिन् ।
सो पुस्तकको समीक्षा गर्ने क्रममा कवि तथा गीतकार शिव पलाँस, साहित्यकार ईश्वर देवकोटा, कवयित्री नम्रता गुरागाईँ र उमा शर्माले ‘यता कि उता ?’ ले अमेरिका आएका हाम्रो पुस्ताका आप्रवासीले यता (अमेरिका) बस्ने कि उता (नेपाल) जाने भन्ने दुबिधा बोकेर बसेको कुरा कविले आफ्नो कृतिमा उतारेकोले यी कविता सशक्त छन् भने ।
कवितामा कविले अमेरिका र नेपालका विभिन्न स्थानमा रहँदा बस्दाका समयमा देखेका र भोगेका समस्यालाई उतारेका छन् । यसमा प्रवासी नेपालीको अन्तरद्वन्द्व, पहिचान, स्मृति र नोस्टाल्जियालाई काव्यिक अभिव्यक्ति दिइएको छ ।
कार्यक्रममा डा. शिवहरि मरहट्टा, डा. बालकृष्ण शर्मा, शिखर दुलाल र ददिन पाण्डेले शुभकामना मन्तव्य दिएका थिए । साहित्यकार डा. ऋषि बस्ताकोटीले सञ्चालन गरेको सो कार्यक्रमको संस्थाका वरिष्ठ उपाध्यक्ष मनोज प्रधानले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अध्यक्ष गीता बस्नेतले धन्यवाद दिएकी थिइन् ।
४५ वटा कविता संग्रहित सो कविता संग्रह मकालु ग्रुप अफ कम्पनी, डिल्लीबजार काठमाडौँबाट प्रकाशित भएको हो ।














