अमेरिकामा जुलाईमा मात्र ४६ हजार अवैध आप्रवासी पक्राउ, पछिल्लो १६ महिनामा हजार बढी नेपालीलाई डिपोर्ट आदेश
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / अमेरिकामा जुलाई महिनामा मात्र ४६ हजार अवैध आप्रवासी पक्राउ गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा यसलाई उच्च विन्दु भनिएको छ । यो बीचमा एक हजार भन्दा बढी नेपालीलाई देश निकालाको आदेश दिइएको छ ।
इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट आइसले अध्यागमन धरपकड व्यापक बनाउँदै जुलाईमा मात्र यो संख्यामा पक्राउ गरेको सीबीएस न्युज ले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।
यस्तै न्यु योर्क टाइम्सले आइसले विमानस्थलमा समेत धरपकड बढाएको भन्दै समाचार छापेको छ ।
सीबीएस न्युजमा अगस्ट तीन तारिक प्रकाशित समाचारमा आन्तरिक एजेन्सी तथ्याङ्कले देखाए अनुसार, दोस्रो ट्रम्प प्रशासनका लागि जुलाई महिनामा आइसद्वारा गरिएको हिरासतले मासिक रेकर्ड उच्च विन्दु कायम गरेको उल्लेख छ।
आइसले अमेरिकामा अवैध रूपमा प्रवेश गरेको वा भिसाको अवधि नाघेको जस्ता अध्यागमन उल्लङ्घनका कारण देश निकालाको सामना गरिरहेका व्यक्तिहरूलाई हिरासतमा लिएको जनाइएको छ ।
सीबीएसले आइसले ह्वाइट हाउसबाट दैनिक दुई हजार गिरफ्तारीहरू दर्ता गर्न दबाब सामना गरिरहेको उल्लेख गरेको छ । यस अगाडि प्रत्येक महिना १५ सय जना आइसको हिरासतमा पुग्ने गरेको रिपोर्टमा उल्लेख छ । ती मध्ये केही सीमा सुरक्षाकर्मीले पक्राउ गरेको जनाइएको छ ।
आइसले जुन महिना ४३ हजार बढी पक्राउ गरेको सार्वजनिक भएको थियो ।
राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको शुरुवात देखि नै आइसले आफ्नो गतिविधि तीव्र पारेको थियो । तर वर्षको शुरुमा मिनीयापोलिसमा आइस कारवाहीका क्रममा दुई जना अमेरिकन नागरिकको निधन भए पछि देश व्यापी आलोचना भएको थियो ।
त्यस पछि गर्मी बढे सँगै आइस अवैध आप्रवासीको धरपकडमा पुनः तङ्ग्रिएको हो ।
ट्रम्प प्रशासनले गत वर्ष धेरै डेमोक्र्याट-नेतृत्वका सहरहरूमा सञ्चालन गरेका ठुला-ठूला र व्यापक अध्यागमन अपरेसनहरू धेरै हदसम्म बन्द गरे तापनि, आइसले हालैका हप्ताहरूमा विमानस्थल र ट्राफिक स्टपहरूमा धरपकड, र देशभरि नयाँ भर्ना गरिएका एजेन्टहरूको परिचालन मार्फत गिरफ्तारीको स्तरलाई अझ शान्त रूपमा बढाउन सफल भएको सीबीएसको रिपोर्टमा उल्लेख छ।
पछिल्लो १६ महिनामा हजार बढी नेपालीलाई डिपोर्ट आदेश
ट्रम्प प्रशासनको दोस्रो कार्यकाल सुरु भएयताका १६ महिना एक हजार बढी नेपाली देश निकालमा परेका छन्। अमेरिकी अध्यागमन अदालतहरूको आधिकारिक रेकर्ड र मुद्दागत विवरणहरू संकलन गर्ने स्वतन्त्र अनुसन्धान संस्था ट्रान्ज्याक्सन रेकर्डस एक्सेल क्लियररिङहाउस (ट्रयाक) को सोमबार सार्वजनीक प्रतिवेदनमा जनवरी २०२५ देखि जुन २०२६ सम्म एक हजार ६२ नेपालीहरुलाई अध्यागमन न्यायाधीशहरूले देश छोड्ने अन्तिम कानुनी आदेश दिएका छन्।
यो सङ्ख्या अमेरिकी इतिहासमा नेपालीहरूका लागि अहिलेसम्मकै तीव्र र ठूलो वृद्धि हो।
कडा अध्यागमन नीतिका कारण अदालतहरूबाट नेपालीहरूले कानुनी राहत, माफी वा एसाइलम स्वीकृत पाउने दर घटेर इतिहासकै न्यून ७.६ प्रतिशतमा सीमित हुन पुगेको छ।
२८ वर्षको कुल इतिहासमा चार हजार बढी नेपाली देशनिकालाको सूचीमा
ट्रयाकको अद्यावधिक अनुसार सन् १९९८ देखि जुन सम्मको २८ वर्षको अवधिमा कुल चार हजार ६ सय ३९ जना नेपाली नागरिकहरूले अदालतबाट देशनिकालाको सजाय पाइसकेका छन्। विगत २८ वर्षमा जति नेपाली डिपोर्टेशनको आदेशमा परे, त्यसको झन्डै २५ प्रतिशत ट्रम्प प्रशासनको पछिल्लो १८ महिनामा मात्रै थपिएका हुन् ।
रेकर्ड अनुसार, देशनिकाला आदेश पाएका मध्ये १ हजार ९७ जनालाई आइसले सिधै पक्राउ गरी हिरासत मा राखेर मुद्दा चलाएको थियो। बाँकी दुई हजार ६ सय २५ जना भने जेल बस्नु नपरे पनि बाहिरै बसेर मुद्दा लड्दा लड्दै डिपोर्टको मारमा परेका हुन्।
अमेरिकी गृह प्रसासशन डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस) ले ट्रम्पको दोस्रो कार्यकालको १६ महिनामा ३० लाख भन्दा धेरै अवैध आप्रवासीले अमेरिका छोडेको रिपोर्ट यस अगाडि नै सार्वजनिक गरेको थियो । जसमा २२ लाख आफैले अमेरिका छोडेको उल्लेख थियो ।














