मौरीका लागि पेनडटको जुक्ती
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / यो पृथ्वी सबैको साझा हो । विकासका नामा पर्यावरणलाई भुल्न हुन्न भन्ने उदाहरण अहिले पेन्सिभानिया डिपार्टमेन्ट अफ ट्रान्सपोर्टेसन ‘पेनडट’ ले दिएको छ ।
कतै सडक चौडा गर्दा जंगल सखाप पारिन्छ त कतै पुल बनाउँदा जलचरको विनाश हुन्छ। लाग्छ यो धर्ती मान्छेका लागि मात्र हो । तर होइन धर्ती सबैको लागि हो र हामीले कुनै पनि विकासका पूर्वाधार विस्तार गर्दा हरेक जीव जन्तुको पनि बाच्न पाउने अधिकारलाई खोस्न हुन्न भन्नेमा पेनडट उदाहरणीय बनेको छ ।
हालैका वर्षमा सडक विस्तार गर्दा भेटिएका मौरीका लागि पेनडटले लगाएको जुक्ति , जसले विकास र पर्यावरणलाई सँगसँगै लैजान सकिन्छ भन्ने प्रमाणित गरिदिएको छ।
१३४.२ मिलियन डलर अर्थात १३ करोड ४२ लाख डलरको एउटा विशाल परियोजना । पुल पुनर्निर्माण आयोजनाका बीचमा साना मौरीहरूलाई बचाउन गरिएको यो प्रयास अहिले चर्चाको विषय बनेको छ।
पुलमुनिको त्यो ‘दुर्लभ’ संसार
पेन्सिल्भेनियाको नर्थ बर्क्स काउन्टीस्थित शुलकिल नदी माथिको इन्टरस्टेट ७८ पुलको हो। जुन न्यु जर्सी न्यु योर्क जाने सडक मध्येको एक हो। सन् २०२० को वसन्त ऋतुमा पेनडटले यस व्यस्त पुललाई पुनर्निर्माण र चौडा गर्ने ठूलो आयोजना सुरु गर्यो।
तर, काम सुरु हुनै लाग्दा पेन्सिल्भेनिया संरक्षण तथा प्राकृतिक स्रोत विभागले एउटा अनौठो जानकारी दियो—त्यस पुलमुनिको कोइलाको पाँगो माटो भित्र सयौँ ‘खन्ने मौरी’हरूले सुरुङ खनेर आफ्नो संसार बसाइरहेका छन्।
‘इस्टर्न चिम्नी बी’ समेत भनिने यी मौरीहरू अरू मौरी जस्ता हुँदैनन्। यिनीहरू एक्ला एक्लै जमिनमुनि सुरुङ खनेर बस्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा, यिनीहरूले मानिसलाई चिल्दैनन् र पर्यावरणका लागि निकै ठूलो योगदान पुर्याउँछन्।
यिनीहरू बोटबिरुवामा प्रजनन गराउनका र बालीनाली नष्ट गर्ने हानिकारक कीराहरूको सिकार गर्न माहिर मानिन्छन्। संख्या निकै कम भएकाले यो प्रजाति पेन्सिल्भेनियामा ‘लोपोन्मुख’ सूचीमा थियो। र यसलाई जोगाउनु मानिसको स्वास्थ्य बचाउनु थियो ।
कानुनी बाध्यता थिएन, तैपनि बचाइयो
अचम्मको कुरा त के थियो भने, यी मौरीहरू लोपोन्मुख भए पनि यिनीहरूलाई बचाउनै पर्ने कुनै कानुनी वा नियामक संरक्षण थिएन। यसको अर्थ, पेनडटले मौरीको वासस्थानमा डोजर चलाएर पुल बनाएको भए पनि उसलाई कुनै कानुनी कारबाही हुने थिएन।
तर, सरकारी इन्जिनियरहरू र वातावरणीय अधिकारीहरूले एउटा संवेदनशील निर्णय गरे—”हामी विकास पनि गर्छौँ र यी मौरीलाई पनि बचाउँछौँ।”
पेनडटको त्यो अनौठो जुक्ति र प्रविधि
मौरी बचाउने यो अभियानमा स्थानीय कीटविज्ञानी माइक स्लेटरले मुख्य जुक्ति निकाले। उनले विश्वभरका मौरी अनुसन्धानकर्ताहरूसँग परामर्श गरेर एउटा वैज्ञानिक योजना तयार पारे।
ती महिना ‘नो-गो जोन’: निर्माण कार्य सुरु हुनासाथ पेनडटले मौरी बस्ने मुख्य क्षेत्रलाई सुन्तला रङ्गको निर्माण बारले घेरेर निर्माण व्यवसायीका लागि ३ महिनासम्म पूर्ण प्रतिबन्ध लगाइदियो।
यस्तै प्लास्टिक फोमको बाकस: पुलमुनि प्लास्टिकको फोमबाट बनेका १८ वटा विशेष गुँड बाकसहरू राखिएका थिए। अचम्म के भयो भने, पुलमुनि खन्ने ठाउँ नपाएपछि मौरीहरू स्वतः ती फोमका बाकसहरू भित्र बसाइँ सरे।
ग्यारेजदेखि पाभिलियनसम्मको यात्रा: मौरीहरू बाकसमा सेट भएपछि वैज्ञानिक स्लेटरले ती १८ वटा बाकसलाई सुरक्षित रूपमा बर्क्स काउन्टीस्थित आफ्नो घरको ग्यारेजमा ल्याए। ग्यारेजमा केही समय आराम गराएपछि, उनीहरूलाई रोबेसन टाउनसिपको एउटा ठूलो पाभिलियनमा सारियो, जहाँ उनीहरूले खुल्ला रूपमा माटो खनेर आफ्नो सङ्ख्या बढाउन पाए।
न काम रोकियो, न त अतिरिक्त खर्च भयो
यस योजनाको सबैभन्दा सुन्दर पक्ष के रह्यो भने, मौरी बचाउने चक्करमा यति ठूलो सडक आयोजना एक दिन पनि रोकिएन। ठेकेदारहरूले मौरी निक्लने समयसम्म पुलका अन्य भागहरूमा काम जारी राखे।
सन् २०२५ को अन्त्यतिर यो पुल, र्याम्प, रिटेनिङ पर्खाल र आधुनिक लाइट जडानसहितको विशाल आयोजना पूर्ण रूपमा सम्पन्न भयो। यसका लागि कुनै अतिरिक्त करोडौँको बजेट पनि चाहिएन, पुलकै बजेट भित्रबाट निकै न्यून खर्चमा यो काम फत्ते गरियो।
अब फेरि घर फर्कने पालो
पुल निर्माणको काम पूर्ण रूपमा सकिएपछि पेनडट सन् २०२६ को आफ्नो प्रतिवेदनमा यसलाई विशेष स्थान दिएको छ।
स्थानीय कीटविज्ञानीहरूका अनुसार अब यी मौरीहरूलाई पुनः उनीहरूकै पुरानो घर अर्थात् भर्खरै बनेको नयाँ आइ-७८ पुलमुनि सुरक्षित रूपमा फर्काइनेछ।
‘हामी स्थानीय परिस्थिति प्रणालीलाई अक्षुण्ण राख्न सानो भूमिका खेल्न पाउँदा निकै हर्षित छौँ,” पेनडट डिस्ट्रिक्ट एक्जिक्युटिभ क्रिस कुफ्रोले भनेका छन्, ‘यी मौरीहरूले यहाँ जे गर्न आएका हुन्, त्यही काम जारी राख्नेछन्, जुन बिरुवाहरूको प्रजजन गराउनु र हानिकारक कीराहरूको सिकार गर्नु हो।’
पेनटडको यो ‘जुक्ति’ ले प्रमाणित गरिदिएको छ कि यदि इच्छाशक्ति र सही प्रविधिको प्रयोग गर्ने हो भने सानाभन्दा साना जीवको रक्षा गर्दै ठुला-ठूला विकासका आयोजनाहरू सहजै अगाडि बढाउन सकिन्छ।
अर्को तर्फ सरकारी निकायले काम नरोकी र अतिरिक्त आर्थिक भार नथपेरै पनि दुर्लभ जीवहरूको संरक्षण कसरी गर्न सकिन्छ भन्ने यो एउटा उत्कृष्ट उदाहरण हो ।
फोटो : पेनडट














