बाटो खुलाउँदा वडाध्यक्षको प्रशंसा
गजुरी,धादिङ / खेतमा पसिना बगाएर फलाएको बाली घरसम्म भित्र्याउने बेला जब अचानक बाटो थुनिन्छ, तब किसानको छातीमा बज्रपात परे सरह हुन्छ। धादिङको गजुरी गाउँपालिका वडा नं. ६ स्थित पिपलडाँडामा हालै यस्तै एउटा सास्ती भोग्नुपर्यो स्थानीय कृषकहरूले।
वर्षौँदेखि बाटोको छेउमा ठिङ्ग उभिएको विशाल पुरानो बरको रुख अचानक ढलेर सडक पूर्ण रूपमा थुनिएपछि पिपलडाँडाका दर्जनौँ किसान परिवारको दैनिकी एकाएक प्रभावित बन्यो।
किसानको निराशा र सकस
खेतीपातीको मौसममा बाटो बन्द हुनु भनेको कृषकका लागि जीवन रेखा नै काटिनु सरह हो। धान, पराल, मल तथा मकै ओसारपसार गर्ने मुख्य बाटो नै विशाल रुख र जराले छेकिएपछि स्थानीय किसानहरू आत्तिएका थिए।
स्थानीय कृषक कृष्णबहादुर भुजेलका लागि यो घटना ठूलो चिन्ताको विषय बन्यो। दिनरात नभनी मेहेनत गरेर उब्जाएको बीसौँ मुरी धान खेतमै कुहिने हो कि अथवा घरसम्म कसरी पुर्याउने भन्ने पिरलोले उनलाई पिरोल्यो। यता, स्थानीय अर्जुन सुवेदीले पनि बीसौँ जना किसानको मकै बोक्ने र ओसारपसार गर्ने जिम्मा लिएका थिए। तर, डोजर र गाडी त परै जाओस्, मानिस हिँड्नसमेत धौ-धौ पर्ने गरी सडक ढलेको रुखले थुनिए पछि सबैको मकै तथा अन्नबाली बीच बाटोमै रोकिने अवस्था सिर्जना भएको थियो।
धान, पराल, प्राङ्गारिक मल र मकैजस्ता कृषि उपज समयमै ओसारपसार गर्न नसक्दा ठूलो आर्थिक क्षति हुने निश्चित जस्तै देखिन्थ्यो।
वडाध्यक्षको सक्रियता र जनप्रतिनिधिको भूमिका
स्थानीयको यो सकस र पीडाको खबर पाउनासाथ गजुरी वडा नं. ६ का वडाध्यक्ष कर्णबहादुर तामाङले देखाएको तदारुकता र अग्रसरताले भने समस्यालाई धेरै समय लम्बिन दिएन।
जनप्रतिनिधिको वास्तविक कोसिसले नै विपत् र समस्याको समाधान भएको छ । वडाध्यक्ष तामाङले तत्कालै डोजर, आधुनिक मेसिन तथा प्राविधिक टोलीको व्यवस्था गरी रुख पन्छाउने कामको नेतृत्व लिए। विशाल रुखका हाँगाबिँगा काट्ने, सडक ढाकेको भारी काठ हटाउने र जरासमेत पन्छाएर ग्रामीण सडकलाई पुनः पूर्ववत् रूपमा सञ्चालन गर्न उनी आफैँ खटिए।
केही समयकै निरन्तर प्रयासपछि थुनिएको बाटो पूर्ण रूपमा खुलेको छ र सवारी साधन तथा किसानका गाडीहरू पुनः निर्बाध रूपमा सञ्चालनमा आएका छन्।
सन्तोषको सास र चौतर्फी प्रशंसा
बाटो पन्छाएर सहज आवतजावत सुरु भएसँगै पिपलडाँडाका कृषकहरूले राहतको महसुस गर्दै सन्तोषको सास फेरेका छन्। कृष्णबहादुर भुजेलको धान र अर्जुन सुवेदीको मकै ओसार्ने काम पुनः सुरु भएको छ।
“बाटो थुनिँदा उत्पादित बाली कसरी घर पुर्याउने भन्ने निकै चिन्ता थियो, तर वडाध्यक्षज्यूले समयमै मेसिन र डोजर पठाएर बाटो खुलाइदिनुभयो,” स्थानीय किसानहरूले खुसी व्यक्त गर्दै भने।
जनताको पीरमर्कालाई आफ्नै सम्झेर तत्काल समाधानमा जुट्ने वडाध्यक्ष कर्णबहादुर तामाङको कार्यशैली र तदारुकताको यतिबेला पिपलडाँडाका स्थानीय तथा सम्पूर्ण वडावासीले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्। समस्या पर्दा जनप्रतिनिधि साथमै छन् भन्ने भरोसा यस घटनाले पुनः पुष्टि गरेको स्थानीयको भनाइ छ।















