‘अमेरिकी सरकारी निकाय नियाल्दै नेपाली भाषी भूटानी युवा’
वासिङ्गटन डिसी। हिन्दु धर्म तथा सांस्कृतिक संगठन (ओएचआरसी) अन्तर्गतको युथ फोरमको आयोजनामा बिहीबार अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा एक विशेष शैक्षिक भ्रमण भइरहेको छ ।
नेपाली भाषी भूटानी समुदायका बालबालिका तथा युवाहरूलाई अमेरिकी सरकारी निकायहरूको कार्य प्रणाली र सञ्चालन प्रक्रियाबारे प्रत्यक्ष जानकारी दिने उद्देश्यले यो भ्रमण आयोजना गरिएको जनाइएको छ ।
ओएचआरसीका मिडिया संयोजक सीएम निरौलाका अनुसार भ्रमण बिहीबार दिनभर हुने छ । भ्रमणमा पदाधिकारी र विद्यार्थी गरी कुल ४५ जनाको सहभागिता छ ।
भ्रमणका लागि खुला आह्वान गरिएको र फारम भर्ने इच्छुक सहभागीहरूलाई यस यात्रामा समेटिएको निरौलाले जानकारी दिए।

शैक्षिक भ्रमणका क्रममा टोलीले अमेरिकाका प्रमुख प्रशासनिक तथा शक्ति केन्द्रहरूको अवलोकन गराइएको निरौलाले बताए ।
सहभागीहरूले राष्ट्रपति निवास ह्वाइट हाउस, युएस कांग्रेस ,सर्वोच्च अदालत र पेन्टागन लगायतका महत्त्वपूर्ण ऐतिहासिक तथा सरकारी क्षेत्रहरूको भ्रमण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका थिए।
राफल चिट्ठामार्फत भ्रमणको अवसर
यस भ्रमणको पृष्ठभूमि गत मे महिनाको अन्तिम सातासँग जोडिएको छ। पेन्सिल्भेनियाको ह्यारिसबर्गस्थित श्रीलक्ष्मी नारायण हरिहरधाममा ओएचआरसीकै आयोजनामा ‘भविष्य पुराण’ धार्मिक अनुष्ठान सञ्चालन भएको थियो।
अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाद्वारा कथा वाचन गरिएको उक्त आध्यात्मिक कार्यक्रमका क्रममा ‘राफल चिट्ठा’ खुलाइएको थियो। सोही राफल चिट्ठाको योजना र घोषणा अनुरूप नै अहिले यो राजधानी भ्रमण साकार भएको हो।

“नेपाली भाषी भूटानी समुदायका नयाँ पुस्ता र बालबालिकाहरूलाई अमेरिकी सरकारी निकायहरू कसरी सञ्चालन हुन्छन् भन्ने कुराको व्यावहारिक ज्ञान र चेतना दिन हामीले युवाहरूलाई यहाँ ल्याएका हौँ,” मिडिया संयोजक निरौलाले बताए।
ओएचआरसीले नयाँ पुस्ताका युवाहरूलाई आफ्नो धर्म, संस्कृति र समाजसँग जोड्दै उनीहरूको चौतर्फी विकासका लागि समय-समयमा यस्ता विभिन्न रचनात्मक र सचेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै आएको छ।















