बीसीसीपीएको ‘गाला’ ४० हजार संकलन, पूर्व अध्यक्षको सम्मान
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / भुटानीज कम्युनिटी अफ सेन्ट्रल पेन्सिलभेनिया (बीसीसीपीए ) को १५ औ वार्षिक उत्सव तथा ‘गाला २०२६’ शनिवार ह्यारिसबर्गमा सम्पन्न भएको छ ।
बीसीसीपीएका अध्यक्ष युवराज कोइरालाका अनुसार गालाबाट ४० हजार अमेरिकी डलर संकलन भएको छ ।
बीसीसीपीए भूट्नीज कम्युनीटी इन ह्यारिसबर्ग (बीसीएच) को निरन्तरता हो । बीसीएचले यस अगाडी दुई पटक गाला आयोजना गरेको थियो । पहिलो पटक २०२२ मा आयोजित गालाबाट ६५ हजार अमेरिकी डलर संकलन भएको जनाइएको थियो ।
यस्तै गत वर्ग एक लाख डलर भन्दा बढी संकलन भएको थियो । अध्यक्षको कार्यकाल सम्हालेको सातौँ महिनामा गाला आयोजना गरेका बीसीसीपीएका अध्यक्ष युवराज कोइरालाले कार्यक्रम सोचे भन्दा राम्रो भएको प्रतिक्रिया दिए ।
‘म अध्यक्ष भए पछिको पहिलो ठूलो कार्यक्रम, यो वर्ष गाला आयोजना गर्ने की नगर्ने भन्नेमा बोर्डमा ठूलो छलफल भयो, संस्थाको खर्च व्यवस्थापनका लागि कार्यक्रम गर्नु पर्छ भन्नेमा हामी पुग्यौ ।’ अध्यक्ष कोइरालाले कार्यक्रम सकिए पछि समाज टाइम्स सँगको कुराकानीमा भने, ‘नयाँ बोर्डले ६ महिनामा यत्तिको कार्यक्रम गर्नु ठूलो कुरा हो, म समुदायलाई धन्यवाद दिन चाहन्छु ।’
कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरूलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।
















