सामाजिक सुरक्षा भुक्तानी लिने लाखौँ अमेरिकीलाई नयाँ डेबिट कार्ड जारी हुने
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / अमेरिकाको सोसल सेक्युरिटी एडमिनिस्ट्रेसन ‘एसएसए’ ले सामाजिक सुरक्षा भुक्तानी प्राप्त गर्ने लाभग्राहीका लागि प्रयोग हुँदै आएको ‘डाइरेक्ट एक्सप्रेस प्रिपेड’ डेबिट कार्ड सेवामा महत्त्वपूर्ण परिवर्तन गरेको छ।
‘एसएसए’ ले अबदेखि उक्त सेवा फिफ्थ थर्ड बैङ्कमार्फत सञ्चालन हुने जनाएको हो । यसअघि यो सेवा कोमेरिका बैङ्कले सञ्चालन गर्दै आएको थियो।
अमेरिकी वित्तीय तथा लगानीसम्बन्धी समाचार संस्था ‘द मोट्ली फूल’का अनुसार करिब ३६ लाख सामाजिक सुरक्षा लाभग्राहीले आफ्नो मासिक सामाजिक सुरक्षा रकम डाइरेक्ट एक्सप्रेस प्रिपेड डेबिट कार्डमार्फत प्राप्त गर्दै आएका थिए ।
सामाजिक सुरक्षा प्रशासनले गत मे महिनामा नै नयाँ वित्तीय सेवा प्रदायक चयन गरिएको जानकारी दिएको थियो। त्यसअनुसार फिफ्थ थर्ड बैङ्कले गत महिनादेखि नयाँ डाइरेक्ट एक्सप्रेस कार्डका लागि आवेदन तथा नाम दर्ता प्रक्रिया सम्हाल्न थालेको छ।
हाल कोमेरिका बैङ्कबाट जारी गरिएको डाइरेक्ट एक्सप्रेस कार्ड प्रयोग गरिरहेका लाभग्राहीले भने तत्काल कुनै परिवर्तन गर्नुपर्ने छैन। सामाजिक सुरक्षा प्रशासनका अनुसार विद्यमान कार्ड धनीहरूको खाता नयाँ बैङ्कमा स्थानान्तरण गर्ने प्रक्रिया यस वर्षको अन्त्य वा आगामी वर्षको सुरुवातदेखि सुरु हुनेछ।
प्रशासनले लाभग्राहीलाई अग्रिम सूचना दिएपछि मात्र खाता स्थानान्तरण गरिने जनाएको छ। नयाँ कार्ड प्राप्त नहुँदासम्म वा पुरानो कार्डको म्याद समाप्त नभएसम्म लाभग्राहीले कोमेरिका बैङ्कबाट जारी गरिएको कार्ड नै प्रयोग गर्न सक्नेछन्।
‘एसएसए’ ले लाभग्राहीलाई आफ्नो ठेगाना, फोन नम्बर तथा अन्य सम्पर्क विवरण अद्यावधिक राख्न विशेष आग्रह गरेको छ। यसो गर्दा कार्ड परिवर्तन तथा खाता स्थानान्तरणसम्बन्धी सबै सूचना समयमै प्राप्त गर्न सहज हुने प्रशासनको भनाइ छ।
‘द मोट्ली फूल’ का अनुसार कोमेरिका बैङ्कको ‘डाइरेक्ट एक्सप्रेस कार्ड’ प्रयोग गरिरहेका लाभग्राहीलाई फिफ्थ थर्ड बैङ्कबाट जारी गरिने नयाँ कार्ड यस समर भित्रै क्रमशः पठाइने अपेक्षा गरिएको छ। नयाँ कार्ड प्राप्त भएपछि प्रशासनले दिएको निर्देशनअनुसार त्यसको प्रयोग सुरु गर्न सकिने बताइएको छ ।

















