विश्वकप फुटबलमा क्यानडाको ऐतिहासिक सफलता, पहिलो पटक अन्तिम १६ मा प्रवेश
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / फिफा विश्वकप फुटबलमा क्यानडाले ऐतिहासिक सफलता हात पार्दै पहिलो पटक अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
लस एन्जलस स्टेडियममा आइतबार भएको अन्तिम ३२ को पहिलो खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई १-० गोलले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो । क्यानडाको जितमा इन्जुरी समयको ९२औँ मिनेटमा स्टेफन एउस्टाकियोले गरेको गोल नै निर्णायक बनेको थियो ।
खेलभर दुवै टोलीले निकै सतर्क रणनीति अपनाएका थिए। बल नियन्त्रणका लागि प्रयास गरे पनि आक्रमणलाई प्रभावकारी रूपमा अन्तिम रूप दिन नसक्दा स्पष्ट गोल गर्ने अवसर निकै कम बनेको थियो । मिडफिल्डमा बलको लडाइँ धेरै समयसम्म चल्यो भने दुवै टोलीका रक्षकहरूले विपक्षीलाई सहज अवसर सिर्जना गर्न दिएनन्। त्यसैले अधिकांश समय खेल गोल रहित बराबरीमा रहेको थियो ।
क्यानडाले दोस्रो हाफमा केही परिवर्तन गर्दै आक्रमणको गति बढाउने प्रयास गरेको थियो । प्रशिक्षकले वैकल्पिक खेलाडीलाई मैदानमा उतार्दै जित निकाल्ने संकेत दिएका थिए। खेलको समय सकिनै लाग्दा क्यानडाले लगातार दबाब सिर्जना गर्यो। त्यसै क्रममा इन्जुरी समयको ९२औँ मिनेटमा स्टेफन एउस्टाकियोले उत्कृष्ट प्रहार गर्दै टोलीलाई अग्रता दिलाए। उनको गोलसँगै मैदानमा रहेका क्यानडाली समर्थक खुसीले उफ्रिएका थिए । साथै, खेलाडीहरूले ऐतिहासिक उपलब्धिको उत्सव मनाएका थिए।
यो जितसँगै क्यानडाले विश्वकप इतिहासमा पहिलो पटक अन्तिम १६ मा स्थान बनाएको हो। यसअघि विश्वकपमा सहभागिता जनाए पनि क्यानडाले कहिल्यै नकआउट चरण पुग्न सकेको थिएन। अब क्यानडाले क्वाटर फाइनल प्रवेशका लागि नेदरल्याण्डस् र मोरक्कोबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
तस्विर सौजन्य – फिफा

















