पुरानो र नयाँको बहस भन्दा देशको विकास महत्त्वपूर्ण
सञ्जय थापा
नेपालमा आजकाल एउटा नयाँ भाष्य निर्माण गरिएको छ “पुराना सबै असफल भए, अब नयाँले सबै गर्छ, दोषीलाई कारबाही गर्छ, देशलाई नयाँ शिराबाट विकास गर्छ र जनताका सबै आवश्यकता पूरा गर्छ।” यस्तो कुरा प्रायः हरेक दिन विभिन्न माध्यमबाट सुनिन्छ।
भरखरै म ७५ दिन नेपाल बसेर फर्किएको हुँ। यो अवधिमा मैले २९ वटा जिल्ला घुम्ने अवसर पाएँ। मुस्ताङको मुक्तिनाथदेखि घान्द्रुक हुँदै इलामको श्रीअन्तु सम्म पुग्दा मैले कतै पनि कच्ची बाटोमा यात्रा गर्नुपरेन।
मुक्तिनाथ जाँदा पोखराबाट पाँच दिन पैदल हिँडेर जोमसोम पुगेको, अनि त्यहाँबाट हिँड्न नसकेर बिहान घोडा चढेर मुक्तिनाथ पुगेको सम्झना अझै ताजै छ। आज त्यही ठाउँसम्म सहज सडक पुगेको काठमाडौँबाट एक्कै दिनमा पुगेर भोली पल्ट घरै आइपुग्ने अवस्था देख्दा समयले कति ठूलो परिवर्तन ल्याएको रहेछ भन्ने महसुस भयो।
यात्राका क्रममा मैले पूर्व–पश्चिम जोड्ने चार वटा प्रमुख राजमार्ग निर्माण भएको देखेँ। पुरानो पूर्व–पश्चिम राजमार्गलाई पनि छ लेनमा विस्तार गर्ने काम तीव्र गतिमा भइरहेको छ, जसका धेरै खण्ड निर्माण सम्पन्न भइसकेका छन्। मध्य पहाडी लोक मार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी राजमार्गको निर्माणले देशको स्वरूप नै परिवर्तन हुँदै गएको अनुभूति हुन्छ।
पूर्व–पश्चिम रेलमार्गको काम पनि अघि बढिरहेको देखियो। काठमाडौँबाट बाहिरिने सुरुङमार्गमा यात्रा गर्दा त हामीजस्ता कहिलेकाहीँ नेपाल पुग्ने प्रवासीलाई “हामीले छोडेर आएको नेपाल यही हो त?” भन्ने अनुभूति भयो। विदेशकै कुनै आधुनिक हाइवेमा यात्रा गरिरहेको जस्तो लाग्यो।
यस्तो परिवर्तन देखेपछि एउटा प्रश्न स्वाभाविक रूपमा उठ्छ—के देशमा वास्तवमै सबै कुरा समाप्त भइसकेको छ? के विगत २५–३० वर्षमा कुनै विकास नै भएको थिएन?
हो, देशमा भ्रष्टाचार थियो, अनियमितता थियो, सुशासनका कमजोरी थिए। त्यसको मार जनताले भोगेकै हुन्। तर के आज ती सबै समस्या पूर्ण रूपमा अन्त्य भइसकेका छन्? हामीले त भरखरै नेपालमै बसेर अवस्था देखेर आएका हौँ। आज पनि भ्रष्टाचारका घटना बाहिर आइरहेका छन्। हिजो बिचौलियासँग सम्बन्ध रहेको प्रमाणित भएका केही व्यक्ति आज पनि सत्तामा छन्।
अर्कोतर्फ, हिजो केवल आशङ्काकै आधारमा सम्बन्ध जोडिएका भन्दै पुराना दलका केही व्यक्तिमाथि अनुसन्धान भइरहेको छ। त्यसैले कानुन सबैका लागि समान हुनुपर्छ, कुनै दल वा व्यक्तिका लागि फरक होइन। हिजो सहकारी ठगीको आरोपमा जेल जीवन बिताइ रहेका आज पूर्ण रुपमा चोखिँदै छन् हिजो कारबाही गर्ने कानुन र अदालत दोषी कि अहिले चोख्याउने त्यो पनि प्रश्न नै रह्यो !
गल्ती गर्ने जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्छ। त्यो हिजोको सरकार होस् वा आजको, पुरानो दल होस् वा नयाँ। तर केही व्यक्तिको कमजोरी वा अपराधलाई आधार बनाएर सम्पूर्ण पार्टी, त्यसको विचार, सिद्धान्त र योगदानलाई नै भ्रष्टाचारको पर्याय बनाइदिनु न्यायसंगत हुँदैन।
नेपालका राजनीतिक दलहरूको मूल उद्देश्य देश निर्माण, समतामूलक समाजको स्थापना, “समृद्ध नेपाल, सुखी नेपाली” को अभियानलाई अघि बढाउनु नै थियो र छ। त्यो लक्ष्य पूरा गर्न सबै सफल भए भन्ने होइन, तर सबैले केही गरेकै छैनन् भन्नु पनि तथ्यसँग मेल खाँदैन।
नयाँ शक्तिप्रति जनताले ठूलो आशा राखेका छन्। त्यो आशा पूरा होस् भन्ने हाम्रो पनि शुभकामना छ। तर केवल “नयाँ” भएकै कारण सबै सही हुन्छ र “पुरानो” भएकै कारण सबै गलत हुन्छ भन्ने सोच लोकतान्त्रिक समाजका लागि स्वस्थ दृष्टिकोण होइन। अन्ततः जनतालाई चाहिएको कुनै पार्टी विशेष होइन, राम्रो शासन हो; कुनै नारा होइन, परिणाम हो; कुनै भाष्य होइन, विकास र समृद्धि हो।
त्यसैले नयाँ नेतृत्वले वास्तवमै राम्रो काम गरोस्, सुशासन कायम गरोस्, भ्रष्टाचार नियन्त्रण गरोस्, जनताको आवश्यकता पूरा गरोस् र देशलाई समृद्धिको बाटोमा अघि बढाओस्। यदि त्यसो गर्न सक्यो भने जनताले अर्को विकल्प खोज्नुपर्ने अवस्था नै आउने छैन। आखिर जनताको चाहना एउटै हो—विकास, समृद्धि, सुशासन र सम्मानजनक जीवन।
(अमेरिकाको न्यू योर्क निवासी थापा नेकपा एमालेका केन्द्रिय सदस्य हुन् ।)

















