डेलावेयरको विल्मिङटन अस्पतालमा गोलाबारी, दुई जना घाइते
विल्मिङटन, डेलावेयर / अमेरिकाको डेलावेयर राज्य स्थित विल्मिङटन अस्पतालमा गोली चल्दा दुई जना घाइते भएका छन् ।
स्थानीय सञ्चार माध्यमका अनुसार मंगलवार दिउँसो घटना भएको हो । घाइते भएका दुई जना अस्पतालकै कर्मचारी रहेको जनाइएको छ ।
घटना पछि अस्पताल लकडाउन गरि बिरामीलाई अन्यत्र सारिएको जनाइएको छ ।
सुरक्षा अधिकारीहरूका प्रारम्भिक अनुसन्धान अनुसार यो घटना अस्पतालभित्रकै कार्यस्थलको रिसइबी सँग सम्बन्धित रहेको जनाइएको छ।एबीसी न्युजका अनुसार यो घटना मंगलबार दिउँसो करिब ३:३० बजे अस्पतालको बेसमेन्टमा भएको हो। अस्पतालकै एक अस्थायी कर्मचारीले आफ्ना दुई सहकर्मीहरूमाथि गोली प्रहार गरेको खुलेको छ। आक्रमणकारीको पहिचान भइसकेको र सुरक्षा निकायले उनको खोजीका लागि तीव्र अभियान चलाइरहेको छ।
घाइतेमध्ये एक जनाको घाँटीमा र अर्का एक जनाको शरीरको माथिल्लो भागमा गोली लागेको जनाइएको छ।
अस्पतालका कर्मचारीहरूलाई पठाइएको आन्तरिक सन्देशमा पनि बेसमेन्टमा गोली चलेको पुष्टि गरिएको छ। घाइतेहरूको हालको स्वास्थ्य अवस्थाबारे आधिकारिक रूपमा थप विवरण सार्वजनिक गरिएको छैन।

















