भारतका सन्दीप सिंह क्यालिफोर्नियामा पक्राउ, जर्मनीमा थियो ज्यान मार्ने उद्योगको मुद्दा
स्यानफ्रान्सिस्को, अमेरिका / अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट आइसको स्यानफ्रान्सिस्को कार्यालयले क्यालिफोर्नियाबाट भारतीय नागरिक सन्दीप सिंहलाई पक्राउ गरेको छ ।
आइसले सिंह अन्तर्राष्ट्रिय फरार अभियुक्त भएको जनाएको छ ।
जर्मनीमा ज्यान मार्ने उद्योगको मुद्दामा वान्टेड सूचीमा रहेका सिंहलाई जुन ४ मा क्यालिफोर्नियाको फेयरफिल्ड सहरबाट पक्राउ गरिएको आइसले जनाएको छ।
पक्राउ परेका ३९ वर्षीय सिंह अमेरिकामा वैध कागजात बिना नै ‘गैरकानुनी आप्रवासी’ का रूपमा बसिरहेको पनि आइसको भनाई छ ।
उनी अन्तर्राष्ट्रिय अपराध गरेर भागिरहेको सूचनाका आधारमा आइसको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
सिंह हाल आइसको हिरासतमा छन् । उनलाई अमेरिकाबाट निष्कासन गरी सम्बन्धित देश पठाउनका लागि कानुनी प्रक्रिया अगाडि बढाइसकिएको आइसले जनाएको छ ।

















