विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको शानदार जित, तीन खेलाडीलाई रेड कार्ड
गोविन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / सह आयोजक मेक्सिकोले विश्वकप फुटबल प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
खचाखच दर्शकले भरिएको अज्टेका रङ्गशालामा सम्पन्न विश्वकपको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको हो ।
रोमाञ्चक बनेको खेलमा तीन खेलाडीले रेड कार्ड पाएका थिए । दक्षिण अफ्रिकाका याया सिथोले र थेम्बा ज्वाने मैदानबाट बाहिरिए भने खेलको अन्त्यतिर मेक्सिकोका सेजार मोन्टेस पनि रेड कार्ड पाएर बाहिरिए। ब्राजिली रेफ्री विल्टन साम्पायोले लगातार रेड कार्ड देखाएपछि खेल थप चर्चाको विषय बन्यो।

मेक्सिकोले खेलको नवौँ मिनेटमै अग्रता लिएको थियो। दक्षिण अफ्रिकाका मिडफिल्डर याया सिथोलेबाट बल खोसिएपछि जुलियन किनोनेसले शक्तिशाली प्रहार गर्दै गोल गरे। बल गोलकिपर रोनवेन विलियम्सको खुट्टाबीचबाट जाली चुमेको थियो।
पहिलो हाफको अन्त्यतिर किनोनेसले अर्को गोल गर्ने अवसर पाए पनि उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो।
दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै दक्षिण अफ्रिका १० खेलाडीमा सीमित भयो। याया सिथोलेले गोल गर्ने स्पष्ट अवसरमा रहेका ब्रायन गुटिएरेजलाई लडाएपछि उनलाई सिधै रेड कार्ड देखाइएको थियो।

मेक्सिकोले खेलमा पूर्ण नियन्त्रण जमाएको थियो । ३५ वर्षीय स्ट्राइकर राउल जिमेनेजले रोबर्टो अल्भाराडोको क्रसमा शक्तिशाली हेडरमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। विश्वकपमा उनको यो पहिलो गोल थियो, जसपछि उनी भावुक बनेका देखिएका थिए।
खेलको अन्त्यतिर दक्षिण अफ्रिकाका वैकल्पिक खेलाडी थेम्बा ज्वानेले रोबर्टो अल्भाराडोलाई थप्पड हानेपछि अर्को रेड कार्ड पाए। त्यससँगै दक्षिण अफ्रिका नौ खेलाडीमा सीमित भएको थियो ।
यद्यपि खेल सकिन केही समय बाँकी रहँदा मेक्सिकोका सेजार मोन्टेसले खुलिसो मुदाउमाथि फाउल गरेपछि उनलाई पनि रेड कार्ड दिइएको थियो ।

यस खेलमा १७ वर्षीय मेक्सिकी मिडफिल्डर गिल्बर्टो मोराले पनि इतिहास रचे। उनी विश्वकपमा खेल्ने दोस्रो सबैभन्दा कान्छा खेलाडी बने। यो कीर्तिमानमा उनीभन्दा अगाडि केवल पेले छन् । पेलेले सन् १९५८ को विश्वकपमा १७ वर्षकै उमेरमा सहभागिता जनाएका थिए।
विश्वकप आयोजना गर्ने मेक्सिकोको यो तेस्रो अनुभव हो। यसअघि सन् १९७० र १९८६ मा पनि उद्घाटन खेल यही प्रसिद्ध अज्टेका रङ्गशालामा खेलाइएको थियो।
खेलअघि प्रतियोगिताको भब्य उद्घाटन समारोह आयोजना गरिएको थियो । जहाँ साकिरा लगायत कलाकारहरूले प्रस्तुति दिएका थिए। त्यसपछि सुरु भएको खेलमा विश्व वरीयताको १४औँ स्थानमा रहेको मेक्सिकोले आफूभन्दा ४६ स्थान तल रहेको दक्षिण अफ्रिकामाथि सुरुदेखि नै दबाब बनाएको थियो।

गम्भीर टाउको चोटका कारण सन् २०२० मा जीवन मरणको संघर्ष भोगेका राउल जिमेनेजका लागि यो गोल विशेष रह्यो। उनले आफ्नो करिअरको पहिलो विश्वकप गोल गरेपछि भावुक हुँदै टोलीसँग खुसी साटेका थिए।
यस जितसँगै मेक्सिकोले घरेलु समर्थकमाझ विश्वकप अभियानको उत्कृष्ट सुरुआतसंगै अंक तालिकामा महत्वपुर्ण ३ अंक जोडेको छ ।
तस्विर सौजन्य- फिफा

















