२१ मिलियन मेडिकेड ठगीको योजनामा मिनेसोटामा दुई जना पक्राउ
ल्यान्यास्टर पेन्सिल्भेनिया / अमेरिकाको मिनेसोटा राज्यमा मेडिकेड ठगीको आरोपमा दुई जना पक्राउ परेका छन् ।
यूएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरेटी (डिएचएस) का अनुसार पक्राउ परेका ती व्यक्तले स्वास्थ्य सेवा ठगीका आठवटा र सम्पत्ति शुद्धीकरणका दुईवटा अभियोगहरू खेपिरहेका छन् ।
यु.एस. इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइसीई) अन्तर्गतको होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन्स (एचएसआई) ले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ गरेकाहरु सोमालियन मुलका भएको बताइएको छ । मे २१ मा, एचएसआईले शम्सो अहमद हसन र हनान मुर्सल युसुफलाई पक्राउ गरेको हो ।
स्वास्थ्य सेवा ठगी गर्ने षड्यन्त्र, स्वास्थ्य सेवा ठगीका आठवटा अभियोग, र सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) का दुईवटा अभियोगमा पक्राउ गरिएको जानकारी दिएको छ।
डिएचएसको विज्ञप्ती अनुसार हसन ‘स्मार्ट थेरापी सेन्टर एलएलसी ‘ र ‘स्टार अटिजम सेन्टर एलएलसी’ को वास्तविक मालिक (बेनिफिसियल ओनर) थिइन्।
उनी मिनेसोटा अर्ली इन्टेन्सिभ डेभलपमेन्ट एण्ड बिहेभियरल इन्टरभेन्सन कार्यक्रमको सेवा प्रदायकको रूपमा दर्ता भएकी थिइन्। साथै, उनी स्मार्ट थेरापी सेन्टर एलएलसीको कर्मचारी र मुख्य बिलर (विद्युतीय बिल पठाउने व्यक्ति) थिइन्, जसको जिम्मेवारी मेडिकेडमा दाबीहरू पेस गर्नु थियो।
यी दुवै कम्पनीमार्फत, प्रतिवादीहरूले मेडिकेडमा झुटो र नक्कली दाबीहरू पेस गरेर एक स्वास्थ्य सेवा लाभ कार्यक्रमबाट लगभग २ करोड ११ लाख डलर ठगी गर्ने योजना चलाएका थिए।
यो ठगी योजना सन् २०२० को मे महिनादेखि सन् २०२४ को डिसेम्बर महिनासम्म, चार वर्षभन्दा बढी समयसम्म चलेको थियो।
“यी मिनेसोटाका बासिन्दाहरूलाई अमेरिकी करदाताहरूको २ करोड १० लाख डलरभन्दा बढी रकम चोरेको आरोप लगाइएको छ,” कार्यवाहक सहायक सचिव लरेन बिसले भने “उनीहरूले अहिले स्वास्थ्य सेवा ठगी गर्ने षड्यन्त्र, स्वास्थ्य सेवा ठगीका आठवटा अभियोग र सम्पत्ति शुद्धीकरणका दुईवटा अभियोगहरूको सामना गरिरहेका छन्।”
“उनीहरूको मेडिकेड ठगी योजना कोभिड महामारीको समयमा सुरु भएको थियो र चार वर्षसम्म चल्यो। आइसले मिनेसोटामा भइरहेको व्यापक ठगीमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ।” सचिव मुलिनको नेतृत्वमा, हामी अमेरिकी जनतालाई ठग्ने कामको अन्त्य गर्नेछौँ।”
दुवै महिला संयुक्त राज्य अमेरिकाका नागरिक हुन्, जसमा हसनले न्याचुरलाइज्ड नागरिकता लिएकी हुन्।
यस अनुसन्धानको नेतृत्व संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले एचएसआई को सहयोगमा गरिरहेको विज्ञप्तीमा भनिएको छ । दुवै शङ्कास्पद व्यक्तिहरू कानुनी प्रक्रिया नसकिन्जेलसम्म संघीय हिरासतमा रहनेछन्।
फोटो : डिएचएस

















