नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६ मा ११ देशका ३८ चलचित्र प्रदर्शन हुने
मेरिल्याण्ड/ अमेरिकाको मेरिल्याण्डमा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (एनएआईएफएफ) को २०२६ संस्करण आगामी जुन २५ देखि २८ सम्म सञ्चालन हुने भएको छ।
नेपाल अमेरिका फिल्म सोसाइटीद्वारा आयोजित महोत्सवमा यस वर्ष नेपालसहित ११ देशका ३८ चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ।
महोत्सवले नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मीबीच कला आदान–प्रदान, सांस्कृतिक संवाद र सिर्जनात्मक सहकार्य विस्तार गर्ने उद्देश्य राखेको छ।
महोत्सवको उद्घाटन चलचित्रका रूपमा भारतकी निर्देशक त्रिवेणी राई निर्देशित सेप अफ मोमो प्रदर्शन हुनेछ। बुसान अवार्ड विजेता समेत रहेको उक्त चलचित्रले विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा चर्चा बटुलिसकेको छ।
त्यसैगरी समापन चलचित्रका रूपमा नेपालकी निर्देशक नानी साह्रा वाकर निर्देशित नेपाली चलचित्र शक्ति प्रदर्शन गरिनेछ। उद्घाटन र समापन समारोह मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटर एन्ड कल्चरल सेन्टर मा रेड कार्पेट कार्यक्रमसहित आयोजना हुनेछ।
यस वर्षको महोत्सवमा नेपाली-अमेरिकी फिल्मकर्मी अमिताभ जोशी निर्देशित वृत्तचित्र ह्याभ यू सिन माई गड? विशेष आकर्षणका रूपमा रहनेछ। ‘ग्लोबल पिस फिल्म फेस्टिवल’ साइडबार अन्तर्गत अब्राहाम्स ब्रिज र मेकिङ वेभ्स : द राइज अफ एसियन अमेरिका प्रदर्शन गरिनेछन्।
त्यस्तै ‘डीएमभी क्लोज-अप’ सेक्सनमा शाटर्ड साइलेन्स : इमिटेशन अफ अ परफेक्ट लाइफ, जायर : अ फिल्म नोइर इन्स्पायर्ड स्टोरी, ट्याटु मेडिसिन र एस.ओ.एस. लगायतका अमेरिकी क्षेत्रीय चलचित्रहरू प्रदर्शन हुनेछन्।
फिचर फिल्मतर्फ नेपालका निर्देशक जाउन योञ्जन निर्देशित क्रलिङ क्रोज (आँखा) विशेष आकर्षणका रूपमा रहनेछ। साथै भारतको लाइफ अफ अ फालस, चीनको अलवेज, इक्वेडरको मामा, स्विजरल्याण्डको नाइमा, चिलीको द फ्याबुलस गोल्ड हार्भेस्टिङ मेसिन तथा ब्राजिलको दिस इज बलरुम पनि प्रदर्शन गरिनेछन्।
छोटा चलचित्रतर्फ नेपालका अ मदर्स एम्ब्रेस, अ सोलेम प्रोमिस, अशुभ अष्टमी, ब्यान्डएड्स, चाँदनी, इटर्नल किनसिप, गर्ल फ्रम नेपाल, आइ लिसन टु द साउन्ड अफ एसेस, द कल तथा द रोड टु टिल लगायतका चलचित्र प्रदर्शन गरिनेछन्।
महोत्सवका चलचित्रहरू ग्रिनबेल्ट सिनेमा सहित विभिन्न हलहरूमा प्रदर्शन गरिनेछन्। महोत्सव अवधिभर चलचित्र र संस्कृति, महिला तथा समसामयिक विषयमा ‘प्यानल छलफल’, चलचित्र निर्माणसम्बन्धी ‘मास्टरक्लास’, फिल्मकर्मीहरूसँग अन्तरक्रिया तथा सामुदायिक कार्यक्रमहरू पनि आयोजना गरिनेछन्।
आयोजकका अनुसार ‘प्रिन्स जर्ज आर्ट्स एन्ड ह्युम्यानिटिज काउन्सिल’, ‘म्यारिल्याण्ड ह्युम्यानिटिज’ लगायत विभिन्न साझेदार संस्थाहरूको सहयोगमा आयोजना हुने महोत्सव नेपाली डायस्पोरा समुदायका लागि महत्वपूर्ण सांस्कृतिक मञ्चका रूपमा स्थापित हुँदै गएको छ।

















